फागुन १८ देखि निर्वाचन आचारसंहिता लगाउने तयारी

806 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nirbachan-ayog.jpgकाठमाडौं— निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन अाचारसंहिता लागू गर्ने तयारी गरेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

सचिव मैनालीले निर्वाचनका लागि आवश्यक सामग्री जुटाउने, जनशक्ति व्यवस्थापन गर्ने र अन्य तयारी भइरहेको बताए।

यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावना कम रहेको जानकारी गराउँदै उहाँले यही फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने बताए।

‘मुलुकमा उपलब्ध नभएका सामग्री जस्तै मतपेटिका, कागज, नउड्ने मसी, सिल, छेकावार आदि विगतमा झैँ विदेशबाट आयातका लागि तयारी भइरहेको छ’, उनले भने।

निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र हुने र त्यसका लागि करिब ९० हजार मतपेटिका आवश्यक पर्ने उनले जानकारी दिए। ‘हाल आयोगसँग ७० हजार मतपेटिका मौज्दात छन् बाँकी अपुग मतपेटिका ल्याउने विभिन्न विकल्पका बारेमा छलफल भइरहेको छ। एक-दुई दिनमा टुङ्गो लाग्छ’, उनले भने।

नामावली सङ्कलन तथा मिलाउने कार्य अन्तिम चरणमा रहेको बताउँदै सचिव मैनालीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन भने आवश्यक सर्त रहेको बताए। आयोगले उक्त प्रतिवेदन सरकारलाई तत्काल उपलब्ध गराउन आग्रह गरेको र सरकारले यही साताभित्र उपलब्ध गराउने आश्वासन दिएको उनले बताए।

यसबाहेक आयोगले मतदाता शिक्षा दिने तयारी गरिरहेको र यसमा आमसञ्चार माध्यम तथा राजनीतिक दलबाट पनि सहयोगका लागि आह्वान गरेको छ।

निर्वाचन गर्न कानुनको समस्या नपर्ने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने पाँचमध्ये चार कानुन प्रमाणीकरण भइसकेको उनले बताए। बाँकी रहेको राजनीतिक दलसम्बन्धी कानुन नआएका खण्डमा आयोगले उपलब्ध निर्वाचन आयोग ऐनको प्रावधानअनुसार संविधान र सङ्घीय कानुनका सन्दर्भमा बाधा अड्काउ फुकाउ आदेश जारी गर्नसक्ने अधिकार रहेको उनले बताए।

राजनीतिक दल तथा उम्मेदवारको सङ्ख्याअनुसार मतपत्र फरकफरक हुने र त्यसको तयारी भइरहेको बताउँदै उनले तराई र काठमाडौँ उपत्यकाका लागि ठूलो आकारको मतपत्र आवश्यक पर्ने उनले बताए। अन्य क्षेत्रमा भने उम्मेदवारको सङ्ख्याअनुसारको मतपत्र हुनेछ।

यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावना कम रहेको जानकारी गराउँदै उहाँले यही फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने बताए। रासस