सामाजिक सञ्जाललाई पनि निर्वाचन आचारसंहिता

782 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

20170417074109_Clipboard38अहिले फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिले चुनावको प्रचारप्रसार गर्न थालेका छन् । कुनै राजनीतिक दलको समर्थक वा कार्यकर्ताले अर्को पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गालीगलौज गर्दै आफ्नो दलको गुणगान गाउन थालेका पोष्टहरू समेत देख्न सकिन्छ ।

वास्तवमा अहिले निर्वाचन आचारसंहिता लागू भइसकेका कारण यस्तो प्रचार वा सम्प्रेषण गर्न पाइँदैन ।  कुनै पनि उम्मेदवार वा सोसँग सम्बन्धित व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन कुराहरू सामाजिक सञ्जालमा पोष्ट गर्न नपाइने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

ट्वीटर, भाइबर वा एसएमएसमार्फत चुनावसम्बन्धी प्रचारप्रसार हुनेगरी प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन आचारसंहिताको दफा १४ को (ञ)मा उल्लेख छ । यस्ता कुराहरू यी सञ्जालमार्फत मौन अवधिभर पनि गर्न नपाउने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख छ । यसरी प्रचारप्रसार गर्नेलाई निर्वाचन आयोग ऐनअनुसार कारबाही हुने व्यवस्था गरिएको छ । आचारसंहिताको दफा १४ को (ञ)मा यस्तो लेखिएको छ, ‘उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबुक, ट्वीटर, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्ने ।’

आचारसंहिता लागू भइसकेको अवस्थामा सामाजिक सञ्जाल चलाउने आम नागरिकलाई उक्त बुँदामा सजग गराइएको छ । आचारसंहिता सरकार, राजनीतिक दल, सङ्घसंस्था, कर्मचारी, सुरक्षाकर्मी र गैरसरकारी संस्थालाई मात्रै नभई फेसबुक र ट्वीटर, भाइबरलगायत सामाजिक सञ्जाल चलाउनेहरू व्यक्तिलाई पनि लागू हुने यो बुँदाले स्पष्ट हुन्छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचारसंहिताविपरीत हुने भएकाले यसतर्फ पनि सजग हुनु आवश्यक छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई रोक्न आदेश दिनेछ र उसको आदेशलाई उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले १ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने प्रावधान छ ।

निर्वाचन आचारसंहिता लागू भएसँगै कुनै पनि व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरू फेसबुक, ट्वीटर तथा कुनै पनि सामाजिक सञ्जालमा पोष्ट गर्न पाउँदैन । यदि आचारसंहिताविपरीत त्यस्तो कार्य गरेमा उक्त व्यक्तिलाई १ लाखसम्म जरीवाना हुनेछ आर्थिक अभियान दैनिकमा खबर छ ।

सञ्चारमाध्यमको आचारसंहिता
(क)    निर्वाचनसम्बन्धी शिक्षामूलक समाचार र सूचनालाई उच्च प्राथमिकता दिनुपर्ने,
(ख)    सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रूपमा सम्प्रेषण गर्ने,
(ग)    पेशागत आचरण एवम् मान्यताविपरीत हुने काम कारबाही गर्न नहुने,
(घ)    विभिन्न जातजाति सम्प्रदाय, लिङ्ग, धर्म, भाषा–भाषी र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल नपर्ने गरी सूचना वा समाचार प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने,
(ङ)    राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनुपर्ने,
(च)    उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न वा गराउन नहुने,
(छ)    उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी र सशुल्क विज्ञापन भएको जनाउने गरीे निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, तर मौन अवधिमा त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने,
(ज)    उम्मेदवार वा राजनीतिक दलको निर्वाचनसम्बन्धी प्रकाशन, प्रसारण वा सम्प्रेषण गरेको प्रत्येक सूचना वा विज्ञापनको मिति र समयको अभिलेख अद्यावधिक राख्नुपर्ने,
(झ)    निर्वाचन तथा मतदाता शिक्षालगायतका सामग्री स्थानीयस्तरमा प्रयोग भइरहेका सबै भाषालाई समेट्नेगरी समानुपातिक आधारमा प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने,
(ञ)    उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबूक, ट्वीटर, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्ने ।