साङ्लाको जुस ! तपाईंपिउन सक्नु हुन्छ ?

1150 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हाम्रो घर किचनमा प्राय भेटिने साङ्लो केटाकेटीलाई डर देखाउन प्रयोग गरिन्छ । फोहोर हुने ठाउँमा पाइने भनेर दिङदिङ मान्ने गरिन्छ । तर, छिमेकी राष्ट्र चीनले भने साङ्लाको व्यवसायिक उत्पादन गरी आयआर्जनको स्रोत बनाएको छ । त्यो पनि पेय पदार्थ जुस बनाउनका लागि ।

चीनको शिचांग शहरमा एक औषधि उत्पादक कम्पनीले प्रत्यक वर्ष पाँच सय करोड साङ्ला उत्पादन गर्ने गरेको छ । त्यसका लागि यसले साङ्ला पालन नै गर्ने गरेको छ । शिचांग शहरको एउटा ठूलो क्षेत्रफलमा भवन निर्माण गरी साङ्ला पाल्ने गरिएको साउथ चाइना मोर्निङ पोष्टले जनाएको नेपाल समय डट कमले खबर लेखेको छ ।

दराजको पातलो घर्रा बनाएर साङ्ला पालन गरिएको छ । जहाँ साङ्लाको खाना र पानीको पनि व्यवस्था गरिएको छ । अध्याँरो र गर्मी वातावरण मिलाएर साङ्ला राखिएको छ । यो ठाउँमा साङ्लाको प्रजननका लागी पनि उचित व्यवस्था मिलाइएको छ । साङ्लाको वृद्धिविकासलाई ध्यानमा राख्दै उनीहरुलाई घामको किरणबाट टाढा राखिएको छ ।

आर्टिफिशियल इन्टीलिजेन्स सिस्टमबाट साङ्ला पालन गरिएका साङ्लाको तापमान, खानपिनको व्यवस्था गरिएको छ । जसले धेरै साङ्ला उत्पादन गर्न सहयोग पुर्‍याउँछ ।

साङ्ला पिँधेर जुस बनाइन्छ 

केही एशियाली देशहरुमा साङ्लालाई तेलमा तारेर खाने गरिएको पनि पाइन्छ । तर, चीनमा व्यवसायिक रुपमा उत्पादन गरिएका साङ्लालाई बयस्क बनाएपछि एकै ठाउँमा भेला पारेर पिसिन्छ । र, पेय पदार्थ जुस तयार पारिन्छ । यो जुसलाई परम्परागत औषधिका रुपमा बिक्री गर्ने गरिएको छ ।

यो जुसले पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धि रोग, वान्ता रोक्न प्रयोग गरिने चिनियाँ चिकित्सकहरुको दाबी छ । वृद्धवृद्धाको स्वास्थ्यलाई मजबुद बनाउन साङ्लाको जुस प्रभावकारी भएकाले पनि यसको लोकप्रियता दिनप्रतिदिन बढ्दैछ ।

पालिएका साङ्ला खुल्ला ठाउँमा आए खतरा

व्यवसायिक प्रयोजनका लागि पालिने साङ्ला खुल्ला ठाउँमा आए मानिस स्वास्थ्यका लागि घातक हुने विज्ञहरु बताउँछन् । चीनमा औषधीका लागी साङ्लाको पालन गर्ने काम सरकारी योजना रहेको र यसले मानिसको स्वास्थ्यका लागि धेरै प्रभावकारी काम गर्छ भन्ने प्रचार गलत रहेको उनीहरुको धारणा छ ।

बन्द ठाँउमा ठूलो परिमाणमा साङ्ला पाल्नु र साङ्लाको पैदावार वढाउनु खतरनाक हुने भन्दै चिनियाँ एकेडेमी अफ साइन्सका प्राध्यापक झू केयोडाँन्गले कारणवस थुनिएका सांङ्ला बाहिर निस्के त्यसले ठूलो विनास निम्त्याउने चुनौती रहेको बताए ।

बीबीसीको सहयोगमा