धादिङको ओम ग्यासले पायो (एनएस) नेपाल गुणस्तर चिन्ह

2049 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ खयरघारीमा रहेको  ओम ग्यासले नेपाल गुणस्तर चिन्ह(एनएस)पाएको छ।नेपाल गुणस्तर तथा नापतौल विभागले बुधवार यो उद्योगलार्इ एनएस दिएको हो। यससँगै देशभर रहेका ५५ वटा उद्योगमध्ये एनएस चिन्ह पाउने उद्योगको संख्या १० पुगेको छ।

उद्योगका संचालक हरि पाठकले उपभोक्तासम्म सुरक्षित र भरपर्दो रुपमा ग्यास आपूर्ति गरिरहेको बताउँदै ग्यास उत्पादनमा समेत सबै मापदण्ड पूरा गरेकोले एनएस पाएको बताए।‘हामीले उद्योग स्थापना गरेदेखिनै मापदण्डभित्र रहेर ग्यास बोटलिङ गरिरहेका छौं।तौल र सुरक्षामा हामीले सुरुवातदेखिनै ध्यान दिएका थियौं’उनले भने,अहिले हामीले एनएस पाएर थप उत्साहित भएका छौं।‘

पाठकले ग्यास उद्योगले सुरक्षालार्इ उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यही भएर केही वर्षअघि स्वचालित मेशिनरी जोडेको बताए।‘मानवबाट केही इरर आउँछ भनेर हामीले स्वचालित मेशिन ल्याएर जोडेका हौं।हामीले दुर्इ करोड लगानी थपेर स्वचालित रुपमा ग्यास बोटलिङ गर्छौ’उनले भने,भान्छासम्म पुग्ने संवदनशील वस्तुमा सम्झौंता गर्नहुँदैन भन्ने हाम्रो मान्यता हो।‘यो ग्यास उद्योगसँग १ लाख ९१ हजार ग्यास सिलिण्डर छ।धादिङ जिल्लाको राजमार्ग क्षेत्र जोगिमारा देखि खानीखोला सम्म १३ वटा ग्याँस उद्योग सञ्चालनमा रहेको छ । यसअघि विभागले धादिङका श्री कृष्ण र साईबाबा ग्यासलाई विभागले एनएस चिन्ह प्रदान गरेको थियो।विभागले ग्यास उद्योगका हकमा न्युनतम जग्गा, उद्योगमा प्रयोग भएका मेसिनको अवस्था, सिलण्डरको तौलमा एकरुपता, लिकेज हुन नदिन नियमित हाइड्रोलिक परीक्षण, भल्भहरुमा सेफ्टी ट्याग लगायतका विषयमा तोकिएको मापदण्ड पुरा गरेको देखिएमा नेपाल स्ट्याण्डर्ड चिन्ह प्रदान गर्छ।

त्यस्तै यसबाहेक ग्यास सिलिण्डर परीक्षण गरिएको मिति खुलाउनुपर्ने, सिलिण्डर नकुचिएको तथा रङ नउडेको, सरसफाइ, उद्योगमा कार्यरत मजदुरको सुरक्षाको व्यवस्था, अप्रिय घटना हुन नदिन अपनाउनु पर्ने सावधानी, तत्काल उद्दार गर्नुपर्ने अवस्था आए त्यसप्रतिको तयारी जस्ता कुरा पुरा गरेको हुनुपर्ने बताइएको छ।

यी मापदण्ड पुरा नगरेका उद्योगलाई जरिवाना तथा लाइसेन्स खारेज गर्नेसम्मको कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

 ओम ग्यास उद्योगले आवश्यक मापदण्ड लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरेकाले एनएस चिन्ह दिइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।