धादिङमा भाइरल ज्वरो र रूघाखोकीका बिरामी बढे

894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । चिसो मौसम सुरू भएलगत्तै धादिङका अस्पताल र स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरो तथा रूघाखोकीका बिरामीको चाप पनि बढेको छ ।

गर्मी मौसम सकिएर चिसो मौसम सुरू भएकोले गर्दा मौसमी ज्वरोे तथा रूघाखोकीका बिरामीहरु बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ जिल्ला अस्पतालमा दैनिक १५० देखि २०० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको अस्पतालको अभिलेखले देखाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने गरेकोमा दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जानकारी दिएको छ ।

चिसो मौसम सुरू भएको कारण भाइरल ज्वरो तथा रूघाखोकीका बिरामी बढेको जिल्ला अस्पताल धादिङका चिकित्सक शिव राना बताउँछन् । यसैगरी, पानीको कारण छालासम्बन्धी समस्याका बिरामीसमेत अस्पतालमा आउने गरेको रानाले बताए । दैनिक अस्पतालमा आउने बिरामीमा १५ देखि २० प्रतिशत बालबालिका छन् ।

बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । अस्पतालका अनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार–पाँच जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेको र वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

पानी, प्रदूषित बातावरण र परिवर्तन भएको मौसमका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । यस रोगबाट बच्न सन्तुलित भोजन तथा पानी उमालेर मात्र पिउने र गेडागुडीका रसहरु खानुका साथै बाहिर हिँड्दा मास्कको प्रयोग गर्नुपर्ने डाक्टर रामहरि रेग्मीले सल्लाह दिएका छन् ।

गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्यचौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घन्टा खटिन जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ ।

जिल्ला अस्पतालमा मात्रै होइन, धादिङका प्रत्येक गाउँपालिका तथा नगरपालिकाभित्र रहेका स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यकेन्द्र, निजी अस्पताल, क्लिनिक र औषधि पसलहरुमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।