रेडक्रसद्धारा निर्मित कल्लेरी मावि र सामुदायिक भवन उद्घाटन

1455 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ,७ फागुन – धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ मैदानमा रहेको कल्लेरी माध्यमिक बिद्यालयको सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न भई बिद्यायललाई हस्तान्तरण गरिएको छ ।

मंगलबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच नवनिर्मित भवन बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । व्यवस्थापन समितिका अध्यक्ष षडानन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने कोरियन रेडक्रस सोसाइटीका महामन्त्री योन हि सु को पनि उपस्थिति रहेको थियो ।कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत बिद्यालयको नयाँ भवन निर्माण गरिएको हो ।
पक्कि भवन संगै रेडक्रसले बिद्यालयका लागि चाहिने फर्निचर,बर्षातको पानी संकलन प्रविधि,शौचालय निर्माणमा समेत सहयोग पु¥याएको छ । कुल ८५ लाख २४ हजार १३ रुपैयाँ ६६ पैसाको लागतमा निर्माण सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति सीताराम कोइरालाले बताउनु भयो । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल,गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ,उपाध्यक्ष राधा तिमिल्सिना, नेपाल रेडक्रस सोसाईटी केन्द्रिय समितिका कार्यकारी निर्देशक उमेश ढकाल, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख नवराज खतिवडा लगायतको आतिथ्य रहेको थियो ।

बिद्यालय भवन संगै गल्छी गाउँपालिका वडा नम्बर ३ पोखरीचौरमा निर्माण गरिएको कल्लेरी सामुदायिक भवनको पनि मंगलबार उद्घाटन गरिएको छ । कोरियन रेडक्रसका महामन्त्री योन हि सुले सामुदायिक भवनको उद्घाटन गर्नु भएको हो । सामुदायिक भवनको उद्घाटन पश्चात भवनको स्वामित्व गल्छी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कपिल प्रसाद रेग्मीलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो । दुई कोठा,सभाहल, शौचालय सहितको सामुदायिक भवनको निर्माण कार्य कुल ३१ लाख ३८ हजार ९ सय ३९ रुपैयाँ ९९ पैसाको लागतमा सम्पन्न भएको कार्यक्रममा वताईएको छ । कोरियन रेडक्रसले नेपाल रेडक्रस मार्फत गल्छी गाउँपालिकाको वडा नम्बर १,२ र ३ साविकको कल्लेरी गाविसमा ५ वटा बिद्यालय भवन निर्माण र फर्निचर सहयोग गरेको छ । जस्मा जाल्पादेवी,धर्मद्धार, रक्तबच्छला र शिवालय आधारभूत बिद्यालय रहेका छन । यस अघि कल्लेरी स्वास्थ्य चौकीको कर्मचारी आवास भवन सहित स्वास्थ्य चौकी भवनको निर्माण गरी हस्तान्तरण गरिसकिएको पनि धादिङ रेडक्रसले जनाएको छ ।