धादिङबेसी खुल्ला मञ्चमा २८ सय ६१ औँ सोनाम ल्होसार भव्यताका साथ सम्पन्न
108 पटक पढिएको

धादिङबेसी,१७ माघ २०८१ । सदरमुकाम धादिङबेसी र आसपासका तामाङ समुदायले २८ सय ६१ औँ सोनाम ल्होसार धादिङबेसी खुल्ला मञ्चमा भव्यताका साथ मनाएका छन् ।
नेपाल तामाङ घेदुङ धादिङको आयोजनामा तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाएका हुन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि गरुढ वर्ग पूरा भएर सर्प वर्ग प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
पूर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा खुल्ला मञ्चमा आयोजित सोनाम ल्होसार कार्यक्रममा पूर्व मन्त्री परशुराम तामाङ, डम्बर तामाङका साथै नीलकण्ठ नगर प्रमुख भिमप्रसाद ढुंगाना, गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामा ,रुवीभ्याली गाउँपालिका अध्यक्ष राम सिह तामाङका साथै विभिन्न नेकपा एमालेका उपाध्यक्ष अर्जुन गोर्खाली, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, राप्रपा धादिङका अध्यक्ष ध्रुव प्रसाद खनालका साथै , तामाङ जातीका संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधहरुले सम्वोधन गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार हरुको वेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो । तामाङ समुदायका साथै अन्य समुदायका मानिसहरुको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रममा तामाङ संस्कृति झल्कने झाँकी, म्हेन्दोमाया, घोडचढी लगायतका नृत्यहरुका साथै परम्परागत लोक संस्कृति जोगाउने सांस्कृतिक झलकहरु सहित सदरमुकाम धादिङबेसीमा ¥याली निकालिएको थियो ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।