धादिङबेसीमा खुल्यो पहिलो ट्राभल्स एण्ड टुर्स सेवा

1185 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-काठमाडौको ठमेलमा प्रधान कार्यालय रहेको माउन्टेन डिलाइट्स टुर एण्ड ट्राभल्सले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आफ्नो शाखा विस्तार गरेर जिल्लाको पहिलो ट्राभल्स एण्ड टुर्स सेवा संचालनमा ल्याएको छ ।

सेवामूलक उद्योगका रुपमा रहेको ट्राभल्स एजेन्सीले धादिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यात्राका लागि सहयोग पुग्ने बताईएको छ । माउण्टेन डिलाईट्सले हिमाल आरोहण तथा नेपाल भारत, भुटान, तिव्वतका उच्च पहाडी भेगमा ट्रेकिङ जान चाहने आन्तरिक तथा विदेशी पर्यटकलाई सेवा दिंदै आईरहेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङमा जन्मिएका सफल युवा पर्यटन व्यवसायी कमलप्रसाद सापकोटाको सक्रियतामा जिल्लामै पहिलो ट्राभल्स सदरमुकाम धादिङबेसीको सुगमटोलमा संचालनमा आएको हो । ट्राभल्सले नेपाल घुम्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरी सेवा दिने व्यवस्था गरेको प्रवन्ध निर्देशक सापकोटाले वताउनु भयो ।

सदरमुकाम धादिङबेसीमा स्थापना गरिएको ट्राभल्सले जिल्ला भित्रका साथै जिल्ला वाहिर काठमाण्डौं पोखरां, मुस्ताङ, मुक्तिनाथ, सौराहा,लुम्बिनी, कालिञ्चोक,रारा लगायतका पर्यटकीय स्थानहरुमा घुम्न जान चाहने पर्यटकहरुको लागि टुर प्याकेज, होटल बुकिङ,हवाइ टिकट, जिप,पर्यटक बस भाडामा उपलब्ध गराउने सापकोटाले जानकारी दिनु भयो । यसै गरी मनकामना र चन्द्रागिरी केवलकारको टिकट पनि धादिङबेसीबाटै काट्न सकिने उहाँले वताउनु भयो ।

कम्पनीका प्रवन्ध निर्देशक सापकोटा सफल पर्यटन व्यवसायी मात्रै होइन सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ  टुकी समाज नेपालका अध्यक्ष समेत हुनुहुन्छ । टुकी समाजले धादिङ जिल्लाका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आईरहेको छ ।सापकोटा पर्यटन संग सम्वन्धित विभिन्न संस्थाहरुमा जिम्मेवार पदमा सक्रिय हुनुहुन्छ । यस अघि उहाँ गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोप नेपालको अध्यक्ष समेत भईसक्नु भएको छ ।