रित्तो सिलिण्डर नहुँदा ग्यास रिफिल हुन पाएन

2961 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – बजारमा गएका एलपी ग्यास सिलिण्डर खाली भएर कम्पनीमा नफर्किंदा धादिङमा ग्यास उद्योगहरु रिफिल गर्न नपाएर समस्यामा परेका छन्।

उपभोक्ताले आवश्यक भन्दा बढि सिलिण्डर जगेडा राखिंदिँदा उद्योगमा रित्तो सिलिन्डर अभाव हुन थालेको हो । जसका कारण कम्पनीका लागि एलपी ग्यास बोक्ने बुलेट ट्यांकरहरु धादिङका ग्यास उद्योग परिसरमा त्यसै थन्किएका छन्। लकडाउनको समयमा पनि ग्यासको आयात नियमित भए पनि ग्यास कम्पनीसँग पर्याप्त सिलिन्डर भने छैन।

ग्यास नपाइने हल्लाका कारण र कम्पनीले सिलिन्डरमा आधा ग्यास दिएपछि उपभोक्ताले अनावश्यक जगेडा राखिदिँदा यस्तो समस्या आइपरेको श्रीराम ग्यास उद्योग थांक्रेका व्यवस्थापक मिलन कार्कीले बताउनुभयो । काठमाडौंलाई मुख्य बजार बनाएर जिल्लामा अहिले १३ वटा ग्यास उद्योग सञ्चालनमा छन्। बजारमा गएका धेरैजसो सिलिण्डर उद्योगमा फिता हुन सकेका छैनन्। जसका कारण ग्यास ढुवानी गर्ने ६८ वटा ग्यास बुलेट धादिङमै थन्किएका हुन्। कम्पनीको सिलिन्डर बजारबाट फिर्ता नआउँदा कोटाअनुसार ग्यास बजारमा पठाउन नेपाल आयल निगमले भने डिपोहरुलाई निरन्तर दबाब दिइरहेको छ। यसले आफूहरु दोहोरो मारमा परेको ग्यास कम्पनीका सञ्चालकहरु बताउने गर्छन्।

थाक्रे ७ जुुँगेखोलाको श्री ग्यास उद्योगले काठमाडौं र धादिङमा एक लाख एक हजार चार सय ६४ सिलिन्डर बजार पठाएको छ। ६ वटा बुलेट भण्डारण क्षमता भएको उक्त कम्पनीको मासिक २ सय ४८ टन आयात गर्न पाउने अनुमति हो। दैनिक ३५ सय देखि ४ हजार सिलिण्डर बजार पठाउने यस कम्पनीमा आएका २३ वटा ढुवानी बुलेट एक सातादेखि उद्योग परिसरमै थन्किएका छन्। श्रीग्यासमा मात्रै २३, काठमाडौं मेट्रोमा १३ सहित धादिङ पृथ्वीराजमार्गसँग जोडिएका १३ वटा बोटलिङ सेन्टरहरुमा आइतबार साँझसम्म ६८ वटा बुलेट होल्डमा बसेका जिल्ला प्रशासन कार्यालय धादिङले बताएको छ। पृथ्वीराजमार्गसँग जोडिएका धादिङमा सञ्चालित ग्यास उद्योगका राजधानीस्थित डिलरहरुले लकडाउनपछि अघिल्लो महिनाभन्दा वढी ग्यास ढुवानी गरिरहेको उद्योगका सञ्चालकहरु बताउँछन्।

धादिङमा रहेका ग्यास उद्योगबाट सबैभन्दा धेरै राजधानी र बाँकी सिलिण्डर धादिङका साथै छिमेकी जिल्ला, चितवन, नुवाकोट, गोरखा र रसुवामा वितरण हुने गरेको छ। धादिङका १३ वटा ग्यास रिफिल गर्ने उद्योगहरुले करिब १० लाख सिलिण्डर बजार पठाएको जनाएका छन्। सामान्य अवस्थामा दैनिक २० हजार सिलिण्डर उनीहरुले बजार पठाउने गरेका छन्।