तिब्बतीयनसँग भेटियो धादिङबाट जारी नेपाली नागरिकता,अनुसन्धानका लागि ४ जना पक्राउ

497 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,८ असोज २०८१ । झुटो विवरण पेश गरी नागरिकता बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा  काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका-६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन् ।

जुवासम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता  सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुपसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ ल्याईएको छ ।

पक्राउ परेका व्यक्ति र उनिहरुको साथमा भेटिएको शंकास्पद नागरिकताको बिषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान पछि यथार्थ बाहिर आउने धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले धादिङ न्यूजलाई बताउनु भयो ।