काठमाडौंमा बिहानैदेखि वर्षा सुरु, आज देशका केही भू–भागमा  वर्षाको सम्भावना

57 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं १७ असोज २०८१ ।  संघीय राजधानी काठमाण्डौंमा विहीबार विहानै देखि बर्षा शुरु भएको छ । आज देशका केही भू–भागमा  वर्षाको सम्भावना रहेको र केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।