काठमाडौं ,४ कात्तिक २०८१ । व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने पार्टी निर्णय बिरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले ३ जना केन्द्रिय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा आईतबार साँझ बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।
पूर्व उपाध्यक्ष रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।एमालेको यो निर्णय प्रति पार्टी कार्यकर्ताहरुले व्यानपक असन्तुष्ठि जनाएका छन् ।
आफ्ना कार्यकर्ताहरूको सुखदु:ख र रगत पसिनाको मेहनतबाट जोडेको बल्खुको पार्टी कार्यालय शिलान्यास अलपत्र छोडेर व्यापारीबाट दान लिएर पार्टी कार्यालय बनाउने एमालेको निर्णयले पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ।