सिद्धलेक गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
245 पटक पढिएको
धादिङ, ६ कात्तिक २०८१ । धादिङको सिद्धलेक गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८० /०८१ को समीक्षा कार्यक्रम कात्तिक ६ गते मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा गत आर्थिक वर्ष पालिकाले शाखागत रुपमा र वडा स्तरमा भएका उपलब्धि, देखिएका समस्या र अबका दिनमा थप प्रभावकारी रुपमा कसरी काम अघि बढाउन सकिन्छ भन्ने विषयमा समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा पालिकाका बिषयगत शाखा र वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०८० /०८१ मा भएका कार्यहरूको उपलब्धी र चुनौतीहरुका बिषयमा बिबरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिका जनताको नजिकको सरकार भएको भन्दै जनताको विकास लक्षित गरि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । समग्र सिद्धलेकको समृद्धि आफूहरूको अठोट रहेको भन्दै यसैमा केन्द्रित भएर सबैले काम गर्नुपर्ने उहाँले बताउनुभएको थियो । आफूहरू जनताको कामगर्ने म्यानडेट लिएर आएको हुँदा आफ्नो कार्यकाल भरी देखिएका समस्या पहिचान गरि समग्र सिद्धलेकको विकासको लागि सधैं लागि रहने र यसमा कर्मचारीहरूको समेत सहकार्य रहनुपर्ने अध्यक्षले बताउनुभयो ।
समीक्षा कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराम अधिकारीले समीक्षाले धेरै विषयमा स्पष्ट पार्नुका साथै भोलीका दिनमा थप प्रभावकारी रुपमा काम गर्न कसरी अगाडी बढ्नुपर्छ भन्ने मार्गनिर्देश गरेको बताउनुभयो । भएको स्रोत साधनको समूचित उपयोग गरि समग्र पालिकाको विकासमा योजनाहरु केन्द्रित गर्दै लैजानुपर्ने अधिकारीले बताउनुभयो । समीक्षा कार्यक्रम समृद्धि पालिका निर्माणका लागि कोशेढुङ्गा सावित हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।