माओवादी तामाङ मोर्चामा खैलाबैला

906 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं- जातीय मुद्दा उठाएर युद्ध लडेको एकीकृत माओवादीलाई आगामी निर्वाचनमा जातीय मोर्चाहरू नै घाँडो हुने देखिएको छ। पार्टीले आफ्नो समुदायको बाहुल्य रहेको क्षेत्रमा अधिकांश बाहुनक्षत्री उम्मेदवार उठाउन लागेको भन्दै तामाङ राष्ट्रिय मुक्ति मोर्चाले पार्टी अध्यक्षसामु औंला उठाएरै त्यसको संकेत गरेको छ।
मुलधार न्युज डट कमका अनुसार पार्टी मुख्यालयमा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर शुक्रबार ज्ञापनपत्र बुझाउँदै मोर्चा सम्बद्ध तामाङ नेताहरुले ताम्सालिङका आठ जिल्लाबाट कम्तीमा १५ सिट प्रत्यक्षमा कोटा दिलाउन माग गरे। काभ्रेबाट सूर्यबहादुर दोङ र नुवाकोटबाट हितबहादुर तामाङबाहेक अन्य नेता प्रत्यक्षतर्फ उम्मेदवार हुने सम्भावना क्षीण देखिएको भन्दै आफ्नो समुदायलाई अपमानित गरिए ‘नराम्रो परिणाम आउने’ चेतावनीसमेत उनीहरुले पार्टी अध्यक्षलाई दिए।
मकवानपुर जिल्ला संयोजक विजय तामाङले आफ्नो समुदायले कम्तीमा पनि १५ सिट पाउनुपर्ने भन्दै अध्यक्ष दाहालको ध्यानाकर्षण गराएको बताए। ‘ताम्सालिङबाट कम्तीमा पनि प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ २५ सिट कोटा छुट्ट्याउन माग गरेका छौं,’ तामाङले  भने, ‘ताम्सालिङमा बाहुन/क्षत्रीमात्रै उठाउने हो भने तामाङ समुदाय किन चाहियो त भनेर पार्टीलाई भनेका छौं, अध्यक्ष सकारात्मक देखिनुभएको छ।’
उनका अनुसार मोर्चाका कार्यबाहक अध्यक्ष दोङसहित तामाङ समुदायका शीर्षनेता दाहाललाई भेट्न पुगेका थिए। मोर्चाले रामेछाप, सिन्धुली, चितवन, नुवाकोट, रसुवामा तामाङलाई १/१ सिट कोटा छुट्ट्याउनुपर्ने, सिन्धुपाल्चोक र मकवानपुरमा २/२ सिट तथा काभ्रेपलान्चोकमा तीन सिट प्रत्यक्ष उम्मेदवारी तामाङ समुदायबाट हुनुपर्ने माग गरेका छन्। तामाङ समुदायलाई सिट नदिए बागी उम्मेदवारी दिन बाध्य हुने चेतावनी पनि मोर्चाका नेताहरुले दाहाललाई दिएका छन्।
सिन्धुली ३ बाट सिफारिस सुरजबहादुर स्याङ्तानले तामाङ समुदायको मागलाई अपमान गरी नेतृत्व अघि बढे प्रत्युत्पादक हुने बताए। ‘६० प्रतिशतभन्दा बढी तामाङ समुदायको बाहुल्य रहेको क्षेत्रमा तामाङलाई उम्मेदवारी बनाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ उनले  भने, ‘प्रत्यक्षमा नै १५ सिट माग गरेका छौं, ताम्सालिङमा तामाङ उम्मेदवार नभई अरु समुदायबाट उठाउने काम भयो भने त्यो स्विकार्य छैन।’

सिन्धुली ३ मा केन्द्रीय सदस्य हरिबोल गजुरेल वा सुरज स्वयं कसले टिकट पाउने भन्ने निर्क्योल हुन नसकेको उनले बताए। उक्त क्षेत्रमा दुवै नेताको उत्तिकै दाबी भएकाले जिल्ला कमिटी तनावमा छ।

ठाउँठाउँमा विवाद

जिल्ला कमिटी दोलखाले १ नम्बरबाट विशाल खड्काको नाम सिफारिस गरे पनि केन्द्रले अर्का केन्द्रीय सदस्य हरि कार्र्कीलाई टिकट दिने प्रयास गरेपछि विवाद भएको छ। मकवानपुर जिल्ला कमिटीले सिफारिस नगरे पनि २ नम्बरमा नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर ४ मा ताम्सालिङ राज्यसमिति इन्चार्ज विश्वभक्त दुलाललाई टिकट दिलाउने नेतृत्वको प्रयासविरुद्ध स्थानीय कमिटी उभिएको छ। ४ मा दुलाललाई टिकट दिइए स्थानीय नेता ज्योति रायमाझीले बागी उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनायो।
धादिङका तीनै क्षेत्रमा पुरानै उम्मेदवार दोहरिने सम्भावना देखिएकोमा पनि मोर्चा आक्रोशित छ। शालिकराम जमकट्टेल, कल्पना धमला र पुष्पविक्रम मल्ललाई पुनः दोहोर्याचउने केन्द्रको तयारीप्रति तामाङ मोर्चा विपक्षमा छ। सो क्षेत्रबाट कम्तीमा एकजना तामाङ समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन मोर्चाको दबाब छ।
काभ्रेका ४ क्षेत्रमध्ये दोङको मात्रै ग्यारेन्टी हुँदै गएपछि मोर्चा पेरिसडाँडामा आपत्ति जनाउन पुगेको थियो।
भोजपुरामा इन्चार्ज र संयोजकका बेग्ला–बेग्लै सूची
भोजपुरा राज्यसमितिका इन्चार्ज प्रभु साह र संयोजक क्षेत्रबहादुर श्रेष्ठले उम्मेदवार छनोट समितिलाई उम्मेदवारका बेग्लाबेग्लै सूची बुझाएका छन्।
संयोजक श्रेष्ठले मधेस ब्युरो इन्चार्ज रामचन्द्र झामार्फत भोजपुरा राज्यसमितिअन्तर्गतका बारा, पर्सा र रौतहटका १७ निर्वाचन क्षेत्रका लागि बेग्लै सूची बुझाएका छन्। श्रेष्ठको सूचीलाई झाले औपचारिक रुपमा शुक्रबार उम्मेदवार छनोट समितिको बैठकमा पेस गरेका छन्। त्यसअघि नै इन्चार्जको हैसियतले साहले छनोट समितिमा भोजपुराका उम्मेदवारको सूची पेस गरेका थिए।