मतपत्रमा चुनाव चिन्ह यसरी राखिने भो

663 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, असोज २० – निर्वाचन आयोगले संविधानसभा चुनावका लागि मतपत्रमा छापिने चुनाव चिन्हको टुंगो लगाएको छ ।

कुन दलको चुनाव चिन्ह अगाडि राख्ने भन्ने विवाद सुल्झाउँदै आयोगले मतपत्रको टुंगो लगाएको हो ।

चुनाव चिन्ह सम्बन्धी विवाद टुंगो लगाएर मतपत्र छाप्ने काम समेत सुरु भैसकेको आयोगका प्रवक्ता वीरबहादुर राईले भन्नुभयो ।

आयोगको निर्णय अनुसार मत्रपत्रको पहिलो नम्बरमा एमालेको सूर्य चिन्ह रहनेछ । यस्तै दोस्रो नम्बरमा एकीकृत नेकपा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा, तेस्रोमा राप्रपा नेपालको गाई र चौथोमा नेपाली कांग्रेसको रुख चिन्ह रहनेछ ।

दल दर्ताको निवेदन क्रम अनुसार पाँचौं नम्बरमा नेकपा मालेको चुनाव चिन्ह हँसिया र तारा, छैटौंमा तराई मधेस लोकतान्त्रिक पार्टीका जोडा गोरु, सातौंमा सद्भावनाको तीर, आठौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो, नवौंमा फोरम लोकतान्त्रिकको नमस्कार गरेको हात, दशौंमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटको गाग्री चिन्ह रहने आयोगले जनाएको छ ।

आयोगका अनुसार ११ औं नम्बरमा नेपाल परिवार दलको साँचो, १२ औंमा राष्ट्रिय जनमुक्तिको घर, १३ औंमा समाजवादी जनता पार्टीको चन्द्रमा, १४ औंमा फोरम नेपालको मसाल, १५ औंमा राष्ट्रिय जनमोर्चाको गिलास, १६ औंमा नेकपा संयुक्तको हँसिया, १७ औं मा नेपाली जनता दलको पाँग्रो राखिने छ ।

यसैगरी १८ औंमा नेपाल मजदूर किसान पार्टीको मादल, १९ औं मा नेपाल लोकतान्त्रिक समावादी दलको कलम र चुरे भावर राष्ट्रिय एकता पार्टीको सुदर्शन चक्र चुनाव चिन्ह रहनेछन् । यही क्रम अनुसार अरु दलको पनि दर्ता अनुसार मतपत्रमा चुनाव चिन्ह रहने आयोगले जनाएको छ । आयोगले चुनावमा एकसय ३० दललाई मान्यता दिएको छ । यसअघि एमाले र एकीकृत नेकपा माओवादीबीच को पहिला दर्ताको लागि पुगेको भन्ने विवादका कारण चिन्हको रोलक्रम निर्धारणमा ढिलाई भएको हो ।

मतपत्र छपाई धमाधम

संविधानसभाका चुनावका लागि मतपत्र छाप्ने काम शनिबारदेखि शुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सानो ठिमीमा नेपाली सेना सहित प्रहरीको घेराभित्र मतपत्र छाप्ने काम थालिएको केन्द्रका प्रबन्ध संचालक अनिलकुमार झाले जानकारी दिनुभयो । उहाँले मतपत्र छपाई अवधिभर बाहिरका कसैलाई पनि केन्द्रमा प्रवेश गर्न नदिने बताउनुभयो ।

शनिबारदेखि समानुपातिक तर्फको मतपत्र छप्ने काम थालिएको र त्यो सकिएपछि प्रत्यक्ष तर्फको मतपत्र छाप्न थालिने उहाँले बताउनुभयो । मतपत्र छपाईको काम कात्तिक २२ गते सक्ने लक्ष्य रहेको झाले बताउनुभयो । केन्द्रले जम्मा ३ करोड मतपत्र छपाई गर्ने बताएको उज्यालो अनलाइनमा खबर रहेको छ् ।