खसीको भन्दै बाख्राको मासु खुवाउने होटल कारवाहीमा

500 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २१  असोज / उपभोक्तालाई ठगी गर्ने राजमार्ग क्षेत्रका होटलमा जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही थालेको छ ।

राजमार्गका होटलमा खसीको मासु भन्दै बाख्राको खुवाउने, बासी खानेकुरा बेच्ने, सरसफाईमा ध्यान नदिने र मनलाग्दी रकम असुल्नेमाथि कारबाही थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल नेतृत्वको टोलीले आइतबार राती काठमाडौं–चितवन रुटमा पर्ने रामनगर र मुग्लिन क्षेत्रका होटलमा  गरेको अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएको थियो ।

खसीको भनेर बाख्राको मासु बेच्ने चारजनालाई प्रशासनले पक्रेको छ भने ६० किलो मासु नष्ट गरिएको छ ।

होटल अनुगमनका क्रममा बासी खाना खुवाएको, सरसफाईमा ध्यान नदिएको र मूल्यसूचि नराखेको पाइएको गेलालले बताउनुभयो । बासी खुवाउनेलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न तथा मूल्यसूचि नराख्ने र सरसफाईमा ध्यान नदिनेलाई सचेत गराइएको छ ।

सोमबार पनि राजमार्ग क्षेत्रमा अनुगमन गर्ने प्रशासनको तयारी छ । प्रमुख जिल्ला अधिकारी शर्माले राजमार्ग क्षेत्रमा उपभोक्ता ठगिएको पाइए कारबाही गर्ने व्यवस्था मिलाइएकाले प्रशासनमा खबर गर्न उपभोक्तालाई आग्रह गर्नुभएको उज्यालो अनलाइनले जनाएको छ् ।  छ ।