जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आठ वर्षभित्र निर्माण सम्पन्न हुने

748 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं / जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आठ वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ। बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका कार्यकारी अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आठ वर्षभित्र पूरा गर्नेगरी तयारी भइरहेको जानकारी दिए।

६ सय मेगावाटको यो आयोजनाका लागि झन्डै एक खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजनाको परामर्शदाता फ्रान्सेली कम्पनी ट्र्याक्टबेल इन्जिनियरिङ एस एले गरेको अध्ययनसम्बन्धी जानकारी र आयोजनाको लागत जुटाउन बुधबार राजधानीमा आयोजना गरिएको छलफलमा अध्यक्ष देवकोटाले वित्तीय व्यवस्थापन र निर्माण कार्य सँगसँगै अघि बढाइने बताए।

वार्षिक दुई अर्ब २५ करोड युनिट बिजुली उत्पादन गर्ने यो आयोजना सकेसम्म सकेसम्म नेपाली स्रोतबाट निर्माण गरिने देवकोटाले बताए। उनले ‘हामीले नगरे कसले गर्छ र अहिले नगरे कहिले गर्ने’ भन्ने अवस्था रहेकाले राज्यका सबै निकाय र सरोकारवालाले बूढीगण्डकी निर्माणमा साथ दिनुपर्नेमा जोड दिए।

सो अवसरमा ऊर्जासचिव विश्वप्रकाश पण्डितले लामो समयदेखि पहिचान भएर पनि निर्माण हुन नसकेको बूढीगण्डकीलाई छिटो बनाउन सरकारले समिति गठन गरेको बताए। उनले यो आयोजना निर्माणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारले बूढीगण्डकीलाई राष्ट्रिय गौरवप्राप्त आयोजनाको रूपमा परिभाषित गरेको छ। नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन निर्माण नभएसम्म अझै कयौं वर्ष मुलुक लोडसेडिङको चपेटामा पर्ने सम्भावना छ। हाल ९२ मेगावाटमात्र जलाशययुक्त बिजुली रहेको अवस्था छ। विज्ञहरूले बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना निर्माण नभएसम्म लोडसेडिङ कम नहुने बताउँदै आएका छन्।

अन्‍नपूर्ण पोस्ट दैनिकबाट