राजमार्गका होटललाई दर्ता हुन निर्देशन

575 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवनस्थित राजमार्गका होटलहरुलाई ३ दिनभित्र दर्ता हुन निर्देशन दिएको छ। विभागले पछिल्लो पटक गरेको अनुगमनमा केही होटल दर्ता नभई सञ्चालन भइरहेको पाएको थियो।
दसैं तिहारजस्ता पर्वहरुमा व्यवसायीले कालोबजारी गर्ने र उपभोक्तालाई ठग्ने सम्भावना उच्च हुनाले बजार अनुगमन तीब्र पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए। विभागले दसैंअघि धादिङ र चितवनका होटलहरुमा अनुगमन गरेको थियो। विभागले देशभर एक सय १० स्थानमा गरेको अनुगमनमा गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरण गर्ने होटल तथा पसललाई ३७ ओटा मुद्दा दायर गरेको छ ।
अनुगमनपछि धेरै होटेलहरु सुधि्रएको दाबी कोइरालाले गरे। विभागले दसैंअघि गरेको अनुगमनमा धादिङ र चितवनका होटलहरुमा पाइएको म्याद नाघिसकेको हल्का पेयका १ सय २५ बोतल र आलु चिप्सका ४ कार्टुन नष्ट गरेको थियो।
विभागले गरेको अनुगमनमा अन्य जिल्लाको तुलनामा काठमाडौं, ललितपुर र भक्तपुरमा बिक्री हुने खाद्य सामाग्री १० प्रतिशत गुणस्तरहीन भएको निष्कर्ष निकालेको कोइरालाले बताए। तेल, चामल, दाल, नुन, दुध, पानी, सोयाबिन, औषधीजस्ता उपभोग्य वस्तु कतिपय स्थानमा गुणस्तरहीन भेटिएको उनले बताए। उनका अनुसार अनुगमनमा देशभर १ सय ४० जनाको टोली खटिएको छ।

विभागले उपत्यकाका किराना पसल डेरी, फार्मेसी गरी पसलमा गुणस्तरहीन समाग्री बेचबिखन गर्दै आएकाले पसल बन्द गराउनसम्मको निर्देशन दिएको छ। कोइरालाका अनुसार व्यवासयीविरुद्ध जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरिएको छ।
उक्त पसलहरुमा सरसफाइमा ध्यान नदिएको, म्याद नाघेका सामान बिक्री गरेको, व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल विभागको प्रमाण नभएको, म्याद नाघेका औषधि फेला परेको, म्याद नाघेका पेय पदार्थ भेटिएको, लेबल नखुलाई सामान बिक्री वितरण गरेको, व्यवसाय दर्ता प्यान दर्ता नभएको जस्ता कैफियत भेटिएको विभागले जनाएको छ।
चाडपर्वको अवसरमा उपभोक्तालाई उपभोग्य वस्तु खरिद गर्दा हुने ठगीबाट बचाउन उपत्यका लगायत पाँचै विकास क्षेत्रमा अनुगमन टोली खटाइएको वाणिज्य आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरी बेलबासेले बताएको  नागरिकन्युज डट कममा खबर छ । ।