मलेसियाको भीसा शुल्क छ गुणा बढ्यो,कामदारलाई थप ३५ सयको भार

574 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मलेसियाको भीसा शुल्क छ गुणा बृद्धि भएको छ । यस अघि सात सय रुपैयाँ लिइदै आएको भीसा शुल्क यही सातादेखि चार हजार दुई सय रुपैयाँ पुर्याइएको हो । मलेसियाको नेपालस्थित दूतावासले नोभेम्बर एक तारिखदेखि लागु हुने गरी शुल्क बृद्धि गरेको हो ।
भीसा शुल्क बृद्धिको प्रत्यक्ष भार कामदारमा पर्छ । रोजगारीको खोजिमा मलेसिया जाने अधिकांस कामदारको आर्थिक अवस्था कमजोर हुने र तिनै कामदारले बढेको शुल्क तिर्नुपर्छ । दूतावासले भीसा शुल्क तीन हजार नौ सय र दुई सय रुपैयाँ कमिशन तोकिदिएको छ । निजी कम्पनी मार्फत भीसाको काम गराउने र त्यसको लागि दुई सय रुपैयाँ बढी लिने जानकारी दूतावासले नेपालका म्यानपावर कम्पनीहरुलाई दिइसकेको छ । मलेसिया जान चाहने कामदारले चार हजार दुई रुपैयाँ शुल्क बुझाउनु पर्छ ।
‘कामदारले भीसा शुल्कमा पहिलेको भन्दा तीन हजार पाँच सय रुपैयाँ बढी तिर्नुपर्ने भएको छ’, वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले भने, ‘शुल्क बृद्धिले कामदारलाई नै भार पर्छ ।’ बैंक कमिशनको नाममा पनि दुई सय तिर्नुपर्ने व्यवस्थाले कामदारलाई थप भार बढाउँछ । सात सय रुपैयाँबाट एकै पटक तीन हजार नौ सय रुपैयाँ पुर्याउनु अस्वभाविक भएको व्यवसायीहरु बताउँछन् ।
मलेशिया नेपाली कामदारको प्रमुख गन्तव्य हो । करिव पाँच लाख नेपाली मलेसियामा काम गर्छन् । गत वर्ष एक लाख ५६ हजार सात सय नेपाली मलेशिया गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । गएको असोज महिनामा मात्रै १२ हजार सात सय कामदार मलेसिया गएका छन् । दोस्रो गन्तव्य कतारमा गत आर्थिक वर्षमा ९० हजार नौ सय नेपाली कामदार गएका थिए ।
मलेसिया कामदार पठाउँदा व्यवसायीले अधिकतम ८० हजार रुपैयाँसम्म लिन पाउनेगरी सरकारले सीमा तोकिदिएको छ । मलेशियामा पनि कमिशन तिर्नुपर्ने भएकोले यो सीमा व्यवहारिक नभएको व्यवसायीहरुले बताउँदै आएका छन् । व्यवसायीले अहिले पनि सरकारले तोकेको भन्दा बढी शुल्क लिदै आएका छन् । भीसा शुल्क बढेपछि यो सीमा झन् काम नलाग्ने भएको छ ।

बिजमाण्डु डट कमबाट