एमालेबाट निर्वाचन आयोगमा उजुरी, कार्यकर्तामाथिको आक्रमण रोक्न माग

484 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एमालेबाट निर्वाचन आयोगमा उजुरी, कार्यकर्तामाथिको आक्रमण रोक्न माग (उजुरीसहित)

काठमाडौं / देशभर आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण भएको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

नेकपा एमालेका तर्फबाट नेतृ अष्टलक्ष्मी शाक्यले विभिन्न जिल्लामा आक्रमण र निर्वाचन विथोल्ने गरी भएका आचारसंहिताविरुद्धका गतिविधिबारे निर्वाचन आयोगमा उजुरी दिनुभएको हो ।

बिहीबार एकैदिन एमाओवादीका कार्यकर्ताले बैतडी, सिन्धुली, ओखलढुंगा, रुकुमलगायतका जिल्लामा आक्रमण गरी आफ्ना उम्मेदवारसहित दर्जनौं कार्यकर्तालाई घाइते बनाएको एमालेले जनाएको छ । ‘आचारसंहिता विपरित निर्वाचन कसुर र सजाय ऐन विपरित कार्य भएकोले त्यस्तो कार्यमा संलग्न व्यक्ति, वा उम्मेदवारलाई प्रचलित कानून बमोजिम कारवाही गर्न गराउन हुन अनुरोध गरिन्छ ।’– उजुरीमा भनिएको छ ।
पैसाले भोट किन्ने प्रयासलाई समेत जनताले तिरस्कार गरेपछि एमाओवादी देशव्यापी भौतिक आक्रमणमा उत्रिएको एमालेको आरोप छ । एमालेले यसलाई एमाओवादी अध्यक्ष प्रचण्डबाट घोषित ‘दुइ तिहाइ मत ल्याउने अभ्यास’को संज्ञा समेत दिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा विभिन्न जिल्लामा एमाले कार्यकर्तामाथिको आक्रमण बढ्दो छ ।

ओखलढुङ्गाको नर्वदेश्वरमा आयोजना गरिएको सभामा जाने क्रममा एमाओवादीका हतियारधारी कार्यकर्ताले बिहीबार साँझ एमाले कार्यकर्तामाथि आक्रमण गरेका थिए । एमाओवादी कार्यकर्ता रामकृष्ण ढुङ्गेल नेतृत्वको हतियारधारी समूहले योजनाबद्ध ढंगबाट घेराहाली ग्राम ज्योति निमाविमा बन्दी बनाइ एमाले कार्यकर्तालाई आक्रमण गरेको एमालेले बताएको छ । ढङ्गेल सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाइएका एमाओवाद केन्द्रीय सदस्य बालकृष्ण ढुङ्गेलका भतिजा हुन् । आक्रमणमा एमालेका दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । बन्दी बनाइएको कार्यकर्तालाई स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्दार गरिएको थियो ।

एमाओवादीकै कार्यकर्ताले बिहीबार साँझ रुकुममा एमालेको चुनावी सभामा आक्रमण गरेका थिए । जिल्लाको वीरकोट गाविस वडा नं. ८ मा भइरहेको सभामा एमाओवादी कार्यकर्ताको समूहले आक्रमण गरेको एमालेले जनाएको छ । आक्रमणमा ३० जना एमाले कार्यकर्ता घाइते भएका छन् । वीरबहादुर शाही र जुद्धबहादुर सार्कीको अवस्था गम्भीर रहेको एमाले रुकुमले जनाएको छ ।

उता, नुवाकोटमा आफैले बोकेको बम पड्किएर एमाओवादी कार्यकर्ता घाइते भएपछि एमाओवादीको षडयन्त्र भण्डाफोर भएको एमालेले जनाएको छ ।
बम बनाइरहेका शिवराम गिरी अकस्मात आफैले बनाएको बम पड्किएर सख्त घाइते भएका छन् । बमको झड्काले देब्रे हातमा गम्भीर चोट लागेका गिरीको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ । २२ वर्षीय घाइते गिरी एमाओवादीका सक्रिय कार्यकर्ता भएको एमाओवादी नेवा राज्य इन्चार्ज दिनेश शर्माले पुष्टि गरेका छन् ।यसैबीच प्रहरीले नुवाकोटको हल्लेकालिका गाविसमा बम बनाउने कारखानानै फेला पारेको एमालेको दाबी रहेको दैनिक नेपाल  अनलाईनले खबर लेखेको छ ।