केन्द्रीय कारागार नुवाकोट सार्ने तयारी

1162 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

केन्द्रीय कारागार नुवाकोट सार्ने तयारी

नवराज मैनाली
काठमाडौ राजधानीको सुन्धारास्थित केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने तयारी भएको छ । गृह मन्त्रालयले सबै प्रक्रिया पूरा गरी कारागार सार्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका–६ स्थित चण्डीपोखरीमा जग्गासमेत तय भइसकेको छ । भूमिसुधार मन्त्रालयले सहमति जनाएपछि केन्द्रीय कारागार सार्ने प्रस्ताव अघि बढेको हो । तर, केही महिनायता गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा अड्किएको गृहका अधिकारीहरूले बताएका छन् । सुन्धारास्थित केन्द्रीय कारागार जीर्ण हुँदै गएको र असुरक्षितसमेत रहेकाले सार्न कारागार व्यवस्था विभागले लामो समयदेखि प्रयास गर्दै आएको थियो । कारागार सुधारसम्बन्धी विभिन्न समितिले समेत सार्न सुझाब दिँदै आएका छन् । नुवाकोटको विदुरमा रहेको खाली जग्गा उपयुक्त भएकाले केन्द्रीय कारागार सार्ने प्रक्रिया अघि बढाइएको कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले बताए । उपत्यकाका आसपासका ठाउँमध्ये विदुरको चण्डीपोखरीमा कारागार बनाउन उपयुक्त हुने भन्दै दुई वर्षअघि नै कारागार व्यवस्था विभागले सार्ने प्रयत्न गर्दै आएको थियो । तर, सरकारले गृह मन्त्रालयको प्रस्तावलाई प्राथमिकता दिएको छैन । केन्द्रीय कारागारका सबै भवन जीर्ण बन्दै गएका छन् । कारागार सुरक्षाका लागि लगाइएका पर्खालसमेत भत्कने अवस्थामा रहेको र आसपासमा अग्ला भवन बनेकाले कारागार असुरक्षित बन्दै गएको प्रहरी अधिकारीले बताउँदै आएका छन् । केन्द्रीय कारागारको क्षमता करिब एक हजारको भए पनि हाल करिब दुई हजार चार सय कैदीरबन्दी छन् ।

नाकाका प्रहरी हेरेको हेरै
सिंह भागेको करिब ६ घन्टापछि महानगरीय प्रहरी आयुक्त कार्यालयले त्यसको जानकारी पाएको थियो । त्यसपछि सिंहको फोटोसहित सबै जिल्लाका प्रहरीलाई उनको खोजतलास गर्न सर्कुलर गरिएको थियो । नाकाहरूमा रहेकालाई अझ धेरै सचेत गराइएको थियो । तर, सिंहलाई प्रहरी नाका पार गर्न कुनै कठिन भएन । फर्पिङ नाका हँुदै उनी भोलिपल्ट सजिलै टाटा सुमो चढेर वीरगन्ज पुग्न सफल भएका थिए । यसले नाकामा प्रहरीको कमजोर चेकिङ प्रणालीलाई प्रस्ट पारेको छ । नाकामा कमजोरी देखिएको महानगरीय प्रहरीका प्रवक्ता एसएसपी पाल पनि स्विकार्छन् । जेल तथा नाकाका प्रहरीको कमजोरीका विषयमा पनि छानबिन हुने उनको भनाइ छ । जेलको सुरक्षा व्यवस्थामा पुनरावलोकन हुने उनी बताउँछन् । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान थालिसकेको छ । समितिले शनिबार केन्द्रीय कारागारमा गएर स्थलगत अनुसन्धान गरेको छ । ‘ढलका रडहरू एसिडले गर्दा कमजोर हुँदा त्यसलाई तोड्न सफल भएको देखिन्छ,’ संयोजक कोइरालाले भने ।

“आमाको हत्या गर्नेको बदला लिन भागेँ”

केन्द्रीय कारागारको ढलबाट भागेका कैदी सुरज सिंहले आमाको हत्या गर्ने व्यक्तिसँग बदला लिन भागेको बयान दिएका छन् । ‘आफ्नी आमाको हत्या गर्ने व्यक्तिसँग बदला लिन आफू भागेको उनले बताएका छन्,’ महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले भने । प्रहरीका अनुसार केही वर्षअघि सामान्य विवादमा उनकी आमाको हत्या भएको थियो । हत्यामा संलग्न व्यक्ति छुटिसकेकाले सिंह त्यसको बदला लिन चाहन्थे । आमाको हत्या भएकाले आफूले पढ्न नपाउँदा जिन्दगी लथालिंग भएको र हत्या गर्नेहरूको पनि जीवन आफूले त्यस्तै बनाउन चाहेको उनले प्रहरीसँग बताएका छन् । सर्लाहीको रहुवा घर भएका सिंहमाथि लागुऔषध ओसारपसारको अपराधमा अदालतले दुई वर्ष कैद र एक लाख सजाय तोकेको थियो । त्यसमध्ये सिंहले झन्डै २० महिना कैद भुक्तान गरिसकेका थिए । तर, एक लाखबराबर झन्डै थप चार वर्ष बस्नुपर्ने भएकाले पनि भाग्ने योजना बनाएको उनको भनाइ छ । कैदी सिंह सात घन्टा लगाएर भागेको पनि खुलेको छ । राति एक बजे नै भाग्ने प्रयास गरे पनि ढलको रड तोड्न नसक्दा उनी बिहान आठ बजे भाग्न सफल भएको प्रहरीले जनाएको छ । ढलबाट भाग्न केन्द्रीय कारागारका तीनजना कैदीले योजना बनाएकोसमेत अनुसन्धानमा खुलेको छ । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका बच्चा शाह, चोरी मुद्दामा जेल परेका रवि चौधरीले पनि सँगै भाग्ने योजना बनाएका थिए । चौधरीले योजना बनाए पनि ढलबाट भाग्ने सम्भाव्यता बुझ्न उनीहरूले सिंहलाई पठाएको एसएसपी पालले बताए । तर, सम्भावना बुझ्न गत बुधबार निस्किएका सिंह भाग्न सफल भएका थिए । सम्भावना बुझेपछि उनीहरू तीनैजना सँगै भाग्ने योजना बनाएका थिए । आठ घन्टा लगाएर करिब पाँच सय मिटर लामो ढल पार गरेका सिंह बिहान त्रिपुरेश्वरस्थित पशुसेवा निर्देशनालयको कार्यालयमा पर्खाल फुटाएर निस्किएका थिए । ढकन उप्काएर ढलबाट निस्कन खोजे पनि त्यसमा असफल भएपछि उनी पर्खाल फोरेर निस्किएको प्रहरीले जनाएको छ । पशुसेवा निर्देशनालयको ट्युबेलमा नुहाई त्यहीँका कर्मचारी सुष्मा मरासिनीसँग कपडा मागी लगाएका थिए । ‘पाइन्ट दिनुस् दिदी धर्म हुन्छ’ भन्दै उनले कपडा मागेका थिए । सोही पाइन्ट लगाएर उनी हिँड्दै टेकु पुगेका थिए । त्यहाँबाट ट्याक्सीमा बालाजु पुगेका थिए । जहाँ उनका दाइ पर्ने सुवास सिंह बस्थे । त्यहाँ पनि नुहाएर कपडा लगाई उनी निस्किएका थिए । त्यहाँबाट साथीहरू भेट्न गौशाला पुगेका थिए । तर, साथीहरू नभेटेपछि सुवासकै कोठामा फर्किएका थिए । फर्कंदा सुवासलाई नभेटेको उनले प्रहरीलाई बताएका छन् । साथमा पैसा पनि नभएको र प्रहरीले पक्राउ गर्ने डरका कारण उनले कलंकीनजिकै खोलाछेउमा बसेर रात कटाएका थिए । भोलिपल्ट ९बिहीबार० बिहान फर्पिङ नाका हँुदै टाटा सुमो चढेर वीरगन्ज पुगेका थिए । ‘त्यहाँ प्रहरीले पक्राउ गर्न सक्ने डरले उनी रक्सौल पुगेका रहेछन्,’ एसएसपी पालले भने, ‘भारतीय प्रहरीको सहयोगमा हामीले उनलाई पक्राउ गर्‍यौँ ।’

पैसा नहुँदा फन्दामा

ढलबाट चलाखीपूर्वक भाग्न सफल भएका कैदी सुरज सिंह दुई दिनपछि नै प्रहरी फन्दामा परे । भाग्नका लागि पैसा नहँुदा उनी प्रहरी फन्दामा परेका हुन् । वीरगन्जमा पुगेपछि खर्चका लागि उनले आफन्तलाई फोन गरेका थिए । सो कुरा पत्ता लगाई प्रहरीले उनलाई पिछा गरी पक्राउ गरेको थियो । सिंहका बाबु मुम्बैमा गाडी चलाउँदै आएका छन् । सिंह पनि मुम्बै जान खोजेका थिए । त्यसका लागि खर्चको जोहो गर्ने क्रममा उनी पक्राउ परेका हुन् । कारागार ऐनअनुसार सिंहको सजाय अब दोब्बर हुन्छ । साथै, सिंहसँगै भाग्ने योजना बनाउने बच्चा शाह र रवि चौधरीको कैद सजाय पनि बढ्ने एसएसपी पालले बताए ।

नयाँ पत्रिका