विदेशमा बिकेको सीप-र्याफ्टिङ
603 पटक पढिएको
नेपाली 'रिभर गाइड'हरू साहसिक जलयात्राका सौखिनहरूलाई रोमाञ्चक अनुभूति दिलाउन एशियादेखि युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगिरहेका छन्।
गत तीन साताभित्र भारत र जापान पुग्ने नेपाली र्याफ्टिङ गाइडको संख्या साढे पाँच दर्जन पुगेको छ ।
उनीहरूले ती देशका नदीमा पाँच महीनासम्म साहसिक जलयात्रा चलाउने छन् ।
नेपाली ‘रिभर गाइड’हरू साहसिक जलयात्राका सौखिनहरूलाई रोमाञ्चक अनुभूति दिलाउन एशियादेखि युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगिरहेका छन् ।
मेघ आले (५१) नेपाली साहसिक जलयात्राका अगुवामा पर्छन् ।
उनीसँग जर्मनी, नर्वे, स्वीट्जरल्याण्ड, अष्ट्रिया, बेलायत, टर्की, क्यानडा र भारतका नदीमा र्याफ्टिङ गाइड गरेको आठवर्षे अनुभव छ । १९९० को दशकको शुरूतिरै विदेशमा आधिकारिक ‘रिभर गाइड’ बनेका आलेको पथमा अहिले ३०० भन्दा बढी नेपाली छन् ।
पहिले आले जस्ता अगुवाले आफ्नै प्रयासमा विदेशमा अवसर पाएका थिए । हिजोआज नेपालीहरू आफ्नै देशमा दक्षता हासिल गर्छन् र विदेशी कम्पनीहरू उनीहरूलाई खोज्न यहीं आइपुग्छन् ।
हिम्मतिला र बलियाको छवि बनाएकाले नेपाली र्याफ्टिङ गाइडको माग बढेको बताउँदै आले भन्छन्, “नेपाली गाइडहरूका लागि स्वदेशका अप्ठ्यारा नदीहरूमा जोखिम लिंदालिंदै विदेशी ढोका खुलिसकेको हुन्छ ।”
दामसँगै नाम पनि
आलेका अनुसार, अहिले वर्षेनि ३५० भन्दा बढी नेपाली ‘रिभर गाइड’ विदेशका नदीमा र्याफ्टिङ ‘प्याडल’ खियाइरहेका हुन्छन् । नेपाली ‘रिभर गाइड’ को धेरै माग चाहिं भारत र जापानमा छ, जहाँ हरेक वर्ष २०० भन्दा बढीलाई बोलाइन्छ ।
अब त टर्की, आइसल्याण्ड, अष्ट्रेलिया, दुबई, अमेरिका, क्यानडा, भुटान, नर्वे, स्पेन, बेलायत, श्रीलंका, अष्ट्रिया र जर्मनीका पर्यटक कम्पनीहरू पनि ‘रिभर गाइड’ खोज्दै काठमाडौं आउन थालेका छन् ।
पानीको उत्ताउलो छालमा हेलिनुपर्ने ‘र्याफ्टिङ’ मा सीप जति नै चाहिन्छ साहस पनि । त्यस्तो सीप र साहस भएकाले नेपाली गाइडहरूले विदेशी कम्पनीबाट राम्रो मानमनितो पाएका छन् । अनुभव र काम गर्ने देश अनुसार उनीहरूले मासिक रु.४ लाखसम्म कमाउन थालेका छन् ।
भारतमै पनि मासिक भारु १ लाखसम्म कमाइ हुने ‘रिभर गाइड’ सुकमान घिसिङले बताए । अर्का ‘रिभर गाइड’ रवीन्द्र श्रेष्ठ जापानमा मासिक औसतमा रु.२ लाख ७५ हजार पाइने बताउँछन् । १२ वर्षअघि भारतमा ‘रिभर गाइड’ बनेका श्रेष्ठ भन्छन्, “म आफैं वर्षको पाँच महीना मासिक रु.२ लाख ९० हजार तलबमा जापानमा खट्छु ।”
बिग स्माइल नामक कम्पनीले केही हप्ताभित्रै श्रेष्ठसहित ४८ जना नेपाली ‘रिभर गाइड’लाई जापान लैजाँदैछ ।
वर्षेनि टर्की र आइसल्याण्डमा डेढ दर्जन, दुबईमा दुई दर्जन, नर्वेमा एक दर्जन, अमेरिकामा आधा दर्जन ‘रिभर गाइड’ आवधिक कामका लागि जाने–आउने गरिरहेका छन् । कमाइको हिसाबले युरोपेली मुलुक र अमेरिका राम्रो हुने ‘रिभर गाइड’ दीपेन्द्र कँडेल बताउँछन् ।
र्याफ्टिङ को निश्चित मौसम हुन्छ– ६ महीनासम्मको। नेपालमा ‘अफ सिजन’ हुँदा जापान, युरोप र अमेरिकामा ‘सिजन’ शुरू हुन्छ । ती देशमा ‘अफ सिजन’ सँगै नेपालमा ‘सिजन’ शुरू हुन्छ ।
विदेशमै पूर्णकालीन भएर काम गरिरहेका नेपाली ‘गाइड’ पनि दर्जनौं भएको नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष नानीकाजी थापा बताउँछन् । थापा भन्छन्, “कामप्रतिको लगाव, दक्षता र इमान्दारीका कारण उनीहरूले विदेशमा ससम्मान दाम कमाइरहेका छन्।”
नेपाली ‘रिभर गाइड’हरूलाई अमेरिकाको रेस्क्यु ३ इन्टरनेशनल, ह्वाइट वाटर रेस्क्यु टेक्निसियन (डब्लुआरटी) र स्विफ्ट वाटर रेस्क्यु टेक्निसियन (एसआरटी) का प्रतिनिधिहरूले जाँचीबुझी अन्तर्राष्ट्रिय प्रमाणपत्र दिने गरेका छन् । पछिल्लो समयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन एकेडेमी (नाथम)ले पनि छोटो अवधिको ‘र्याफ्टिङ गाइड’ तालीम दिन थालेको छ ।
नेपाली ‘र्याफ्टिङ गाइड’हरूले विदेशमा कमाएको धनको राम्रो सदुपयोग पनि हुन थालेको छ । तीन वर्षदेखि जापान जान थालेका गोर्खाका दीपेन्द्र कँडेलले ‘द वाइल्ड वेभ्स’ कम्पनी शुरू गरेका छन् भने रवीन्द्र श्रेष्ठले ‘एक्ट्रिम रिभर वेभ नेपाल’ । ‘र्याफ्टिङ गाइड’बाट पर्यटन व्यवसायी बन्नेहरूको सूची लामै हुने बताइन्छ। यो सूचीको अग्रणी भने मेघ आले नै हुन् ।
बढ्दो चाख
नेपालमा अमेरिकी र युरोपेली नागरिकको रूचिमा र्याफ्टिङ खेल भित्रिएको हो । एडमण्ड हिलारीले पहिलो पटक सन् १९६८ मा सुनकोशी नदीमा र्याफ्टिङ गरेकोमा चितवनमा टाइगर टप्स होटल खोलेका विदेशीहरूले हिमालयन रिभर एक्सप्लोरेसन कम्पनीको नामबाट १९७५ पछि त्रिशूली नदीमा र्याफ्टिङको व्यावसायिक विस्तार गरे ।
अहिले र्याफ्टिङका सात दर्जन कम्पनीमा आवद्ध ८०० नेपाली छन् । १९९० को दशकपछि आन्तरिक पर्यटकहरू पनि र्याफ्टिङतिर आकर्षित हुन थालेका छन् ।
नाराको तथ्याङ्कमा नेपाल भ्रमणमा आउनेमध्ये औसत २० प्रतिशतले र्याफ्टिङ गर्छन् । हरेक साता त्रिशूली र भोटेकोशी नदीमा रोमाञ्चक जलयात्रा हुन्छ । कम्पनीहरूले एकदेखि १२ दिनसम्मको र्याफ्टिङ चलाउँछन् ।
सरकारले अरुण, तमोर, दूधकोशी, तामाकोशी, सुनकोशी, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, भेरी, कर्णाली र सेतीकर्णालीलाई पनि र्याफ्टिङको लागि खुल्ला गरेको छ ।
‘र्यापिड’ भनिने तीव्र गतिका छालका कारण नेपाली नदीहरू संसारमै उत्कृष्ट र्याफ्टिङ गन्तव्य बनेका छन् । पर्यटन व्यवसायी आलेका अनुसार, अन्तर्राष्ट्रिय र्याफ्टिङ एसोसिएसनले भोटेकोशीलाई संसारकै सातौं उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।
पर्यटन व्यवसायमा र्याफ्टिङको कति महत्व छ भने, दुबई र बेलायतले अर्बौंको लगानीमा मानवनिर्मित नदी बनाइएको आले बताउँछन् । अमेरिकामा त र्याफ्टिङका लागि विद्युत् गृह नै भत्काएर पानीको बहाव बढाइएको छ ।