पत्रकार महासंघको जिल्ला अधिवेशन फागुन १७ गतेदेखि

655 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

FNJ Nepal

काठमाडौं, माघ २३ – नेपाल पत्रकार महासंघले आगामी फागुन १७ गतेदेखि जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुको अधिवेशन आहृवान गरेको छ ।

महासंघ केन्द्रीय कार्यसमितिको नवौं बैठकले आगामी २४ औं महाधिवेशनका लागि जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुको अधिवेशन आहृवान गरेको हो ।

महासंघका अनुसार फागुन १७ गते पश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्ला शाखाहरु, फागुन १९ गते सबै प्रतिष्ठान शाखाहरु, फागुन २१ गते मध्यमाञ्चल (उपत्यकाबाहेक) का सबै जिल्ला शाखाहरु, फागनु २५ गते पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गतका सबै जिल्ला शाखाहरु, फागुन २८ गते मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्ला शाखाहरु, चैत्र ४ गते सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका जिल्ला शाखाहरु र चैत ८ गते उपत्यका भित्रका तीन जिल्लाका शाखा अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी जिल्ला तथा शाखा अधिवेशनका लागि निर्वाचन निर्देशिका निर्माण गरी जारी गर्ने निर्णय गरेको महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकले विवाद देखिएका जिल्ला तथा शाखाहरुको विवाद समाधान गर्न केन्द्रीय सदस्य मोहन चापागाईंको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजेश मिश्र, रुद्र भट्ट र प्रभात चलाउने सदस्य रहेको कार्यदल गठन गरेको छ ।

काठमाडौं, भक्तपुर र काभ्रे शाखामा देखिएको समस्या समाधानको पहल गर्ने जिम्मेवारी भने अध्यक्ष शिव गाउँले र महासचिव शर्मालाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकले आगामी शाखा अधिवेशन तथा २४ औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गर्ने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको छ ।

महासंघले वरिष्ठ पत्रकार सम्मान वृत्ति, प्रेस स्वतन्त्रता सेनानी, उमा सिंह पत्रकारिता पुरस्कार छनौट गर्न उपाध्यक्ष यशोदा तिम्सिनाको संयोजकत्वमा महासचिव र सचिव सदस्य रहेको समिति गठन गरेको छ ।

महासंघको सचिवालयमा विगत १७ वर्षदेखि सेवारत कार्यालय सहयोगी भोजराज घिमिरेलाई एक तोला सुनको मेडलसहित महासंघ स्थापना दिवसका अवसरमा दीर्घसेवा सम्मान गर्ने निर्णय बैठकले गरेको छ ।

महासंघले संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि सरकार गठन नहुँदा संविधान निर्माण प्रक्रियाको थालनी नभएको चिन्ता व्यक्त गर्दै एक वर्षभित्र संविधान निर्माण गर्न माग गरेको छ ।

ई कान्तिपुर डट कमबाट