चेपाङ मार्गको ट्रयाक खुल्यो

725 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कोराक (चितवन), माघ २४ – यहाँ मलेखु-भण्डारा चेपाङ मार्गको ट्रयाक खुलेपछि पहाडी गाविसका बासिन्दाको यातायात पहुँच बढेको छ । उक्त मार्गको कात्तिक २२ बाट ट्रयाक खोल्ने काम पूरा भएको हो । अहिले उक्त सडक खण्डमा दैनिक साना सवारी सञ्चालनमा छन् । स्थानीय निकायबाट सुरुमा १९ किमि ट्रयाक खोलिएको थियो । पछि सडक डिभिजन कार्यालय भरतपुरले निर्माणलाई तीव्रता दिएको थियो । सडक निर्माणमा अहिलेसम्म निर्माणमा १९ करोड खर्च भइसकेको छ ।

सडक निर्माण सुरु भएको ५ वर्ष भयो । ‘पहिलो चरणमा ट्रयाक खोल्ने काम भयो,’ सडक डिभिजन प्रमुख हरिकुमार पोखरेलले भने, ‘यस वर्ष डीपीआरको काम पनि पूरा हुनेछ ।’ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूरा भएपछि सडक सम्पन्न हुने समय थाहा हुने उनले बताए । सडक ६२ दशमलव ८ किलोमिटर लामो छ । अहिले सडकमा घुम्तीलाई चौडा पार्ने, ग्राभेल गर्ने, नाली बनाउने काम जारी छ ।

उक्त सडक २८ किलोमिटर चितवन र ३४ दशमलव ८ किमि धादिङ खण्डमा पर्छ । मार्ग आसपासमा चेपाङ समुदायको बसोबास बाक्लो छ । सडक सञ्चालनमा आएसँगै उक्त समुदायलाई आवतजावतमा सहज भएको छ । यस क्षेत्रमा बसोबास गर्दै आएका गाउँलेले उत्पादन गरेका तरकारी, मह र फलफूललाई सहज रूपमा बजारमा लगेर बिक्री गर्न पाएका छन् । ट्रयाक खुलेसँगै राजमार्ग क्षेत्रका जग्गाको मूल्यसमेत बढेको स्थानीयले बताए ।

मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नारायणगढ-मुग्लिन सडक खण्डभन्दा छिटो हुनेछ । काठमाडौं जान उक्त राजमार्ग सहज बन्नेछ । दैनिक सवारी साधन आगमन हुने सडकमा जस्तो जाम हुने समस्यासमेत कम हुनेछ । ‘सडकको ट्रयाक खुल्दा सबैभन्दा धेरै खुसी हामी गाउँले भएका छौं,’ कोराक हात्तीढापका मानबहादुर थिङले भने, ‘अब गाउँमा उत्पादन भएका प्रत्येक वस्तुले बजार पाउनेछ ।’ उनले सडक सञ्चालनमा आएसँगै व्यावसायिक तरकारी खेती थालेको बताए ।

अहिले चितवन र धादिङको सिमाना गैरीभन्ज्याङसम्म यातायात सञ्चालनमा छ । मलेखुबाट आएका र चितवनबाट मलेखु हुँदै काठमाडौं जाने यात्रु गैरीभन्ज्याङमा झरी गन्तव्यतिर लाग्छन् । ‘सडक नहुँदा सहरबजार टाढा लाग्थ्यो,’ लोथरका अगुवा झ्यापुराम चेपाङले भने, ‘अहिले सडक खुलेपछि सहर नजिकै जस्तो लाग्न थालेको छ ।’ उनले मोटरबाटोले गर्दा धादिङ र चितवनका बजारमा गई खाद्यान्न खरिद गर्न सहज हुने बताए ।

ई कान्तिपुर डट कमबाट