नागढुंगा–नौबिसे सडक बन्न दुई महिना लाग्ने

587 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, २७ माघ । काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगा–नौबिसे सडक विस्तार कार्य अझै दुई महिना चल्ने भएको छ । सो सडक विस्तार मर्मतका कारण हाल उपत्यका आवतजावत गर्ने सवारी साधनले जामको समस्या भोगिरहेका छन् ।
डिभिजन सडक कार्यालय चितवनका डिभिजनल इन्जिनियर हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा ठूला चट्टान फोड्न नपरे दुई साताभित्रै ग्राभेल सडक तयार हुने बताए । ‘आगामी चैत मसान्तभित्र सम्पूर्ण काम सक्ने योजना छ,’ डिभिजन सडक कार्यालय चितवनका डिभिजनल इन्जिनियर पोखरेलले आइतबार साँझ राजधानीसँग भने, ‘सडक विस्तार गर्दा माटैमाटो भेट्टाइए दुई साताभित्रै ग्राभेल सडक तयार हुन्छ ।’ हाल सात मिटर चौडा भएको सो सडकलाई सरकारले साढे १० मिटर चौडा बनाउँदै छ । सरकारले सो सडक खण्डको १ हजार ७५ मिटर मात्र विस्तार गरिरहेको छ । सो क्षेत्रमा साँघुरो सडक भएकाले सवारी जाम बढेपछि सरकारले पहिलो चरणमा नागढुंगा–नौबिसे सडक विस्तार थालेको हो । सोही क्रममा सो सडक आइतबार राति ८ देखि सोमबार बिहान ५ बजेसम्म पूरै बन्द गरेको छ । ‘सार्वजनिक सूचना जारी गरी नौ घन्टा सडक बन्द हुने जानकारी गराएका छौं,’ पोखरेलले भने, ‘त्यसबीचमा धेरैजसो सवारी वारपार भइसकेको हुन्छ । केही ट्रिपरहरू मात्र बन्दको मारमा पर्छन् ।’
यसबाहेक अरू बेला दैनिक सवारी आवागमनमा बाधा नपुग्ने गरी सडक निर्माणको काम अघि बढाइएको उनले जानकारी दिए । सडकको घुम्ती र अप्ठ्यारो ठाउँमा अस्थायी ट्र्याक खोलेर सवारी पास गराउने काम भइरहेको उनले बताए । त्यस्तै, ठाउँ–ठाउँमा बेलिब्रिज लगाएर पनि खोला पार गरिँदै आएको छ । सो सडक समयमै निर्माण गर्न प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा नेतृत्वको उच्चस्तरीय सरकारी अधिकारीको टोलीले नियमित रूपमा निरीक्षण गर्दै आएको छ । बाँस्कोटाले सो सडक उपत्यका प्रवेशको प्रमुख नाका रहेकाले जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताए । उनले आगामी चैत मसान्तभित्रै सडक निर्माण कार्य सम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन पनि दिएका छन् । ‘तोकिएकै समयमा काम सक्नु प¥यो भनेर मैले निर्देशन दिइसकेको छु,’ बाँस्कोटाले भने, ‘मैले सो सडक निर्माणमा भइरहेको प्रगति र समस्याबारे पनि नियमित अनुगमन गरिरहेको छु ।’ उनले हालसम्मको कार्य प्रगतिका आधारमा तोकिएकै समयमा सडक निर्माण हुने विश्वास व्यक्त गरे ।

राजधानी