धादिङ महोत्सवमा अर्थमन्त्रीको मोबाइल संवोधन

536 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, फागुन १७ – धादिङमा शनिवारदेखि सुरु भएको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवमा अर्थमन्त्री डा. रामशरण महतले मोबाइलबाटै शुभकामना मन्तव्य राख्नु भएको छ ।

महोत्सवको उदघाटन गर्न धादिङ आउने तयारीमा रहेका अर्थमन्त्री रामशरण महतले प्रतिकुल मौसमका कारण महोत्सव स्थलमा हेलिकप्टर उडान कठिनाई भएपछि काठमाडौंवाटै मोवाइलमा फोन गरेर शुभकामना दिनु भएको हो ।

मोवाईलवाट महोत्सव उदघाटनको शुभकामना मन्तव्य राख्दै अर्थमन्त्री महतले धादिङ जिल्लामा कृषि, जलश्रोत,उद्योग र पर्यटनको प्रशस्त सम्भावना रहेकाले त्यस्को सदुपयोग गरी जिल्लाको बिकासमा योगदान पुर्‍याउन महोत्सव सफल हुनुपर्ने वताउनुभयो । महोत्सवको उदघाटनका लागि प्रमुख अतिथीमा आमन्त्रित अर्थमन्त्री महतलाई हेलिकोप्टरवाट महोत्सवस्थल धादिङको गलौदीस्थित त्रिशूली नदी किनारमा अवतरण गराउने योजना शनिवार विहानैदेखि सुरु भएको बेमौसमी झरीले सफल हुन दिएको थिएन । बेमौसमी झरीले महोत्सवको पहिलो दिनमा आयोजना गर्ने भनिएको प्रतियोगितात्मक र्‍याफ्टिङ समेत प्रभावित हुन पुगेको छ ।

धादिङको पिडा गाविसमा पर्ने गलौंदी स्थित त्रिशूली नदी किनारमा आयोजना गरिएको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले पानसमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभयो । धादिङ उद्योग वाणिज्य संघ आयोजक रहेको महोत्सव फागुन २५ गते सम्म जारी रहनेछ । महोत्सवको उदघाटनका क्रममा विभिन्न जातजाती र समुदायको संस्कृति झल्काउने झाँकी तथा पहिरन प्रदर्शनी, कृषिजन्य उत्पादन तथा,दुग्धजन्य उत्पादनहरुको प्रदर्शनी तथा बिक्री बितरण गरिएको छ ।

महोत्सवको अवधिमा स्थानीय तथा राष्ट्रिय र अन्र्तराष्ट्रिय कलाकारहरुको उपस्थितीमा सांस्कृतिक कार्यक्रम ,विभिन्न रमाइलो मेला तथा धादिङ जिल्लाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने विभिन्न कार्यक्रम,प्रतियोगितात्मक जलयात्रा आयोजना मुल आयोजक समितिका संयोजक एवम धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले वताउनुभयो । महोत्सव स्थल भित्र १८० वटा व्यापारिक स्टल रहेको भएपनि पहिलो दिन प्रतिकुल मौसमका कारण एक सय भन्दा बढी स्टल खाली हुन पुगेको थियो ।

उज्यालो अनलाईनबाट