‘माछा बजार ’ बन्दै मलेखु

1040 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, – २० वर्षअघि आएको भीषण बाढीका कारण स्थानीय खोला माछाका लागि प्रतिकूल बने । तर, जिल्लाकै पहिचान दिलाउन सफल धादिङको मलेखु माछाका लागि अनुकूल बन्दै गयो ।
अझ उकुसमुकुस वातावरणबाट केही क्षण भए पनि स्वच्छ वातावरणमा रमाउन चाहने व्यापारी, युवायुवती र पर्यटकहरूको गन्तव्य बनेपछि मलेखुबजार ‘माछाबजार’का रूपमा विकसित हुँदै गएको छ । मलेखु बजारमा औसत दैनिक १ टन माछा बिक्री हुने गरेको तथ्यांक छ ।
सोही तथ्यांकलाई आधार बनाई ध्रुव बिकले काठमाडौं मोडल कृषि फार्म एन्ड रिसर्च सेन्टर प्रालि दर्ता गरी ३ वर्षदेखि कुम्पुरको मलेखु दोभानमा माछापालन गर्दै आएका छन् । “सुरुमै २५ रोपनीमा ७ वटा पोखरी बनाई रघु, नैनी, कमन कार्प, ग्रास कार्प, बिग हेडलगायत जातका २१ लाख भुरा हाल्यौं,” उनले भने, “यो वर्ष १० टन माछा बिक्रीबाट ३० लाख आम्दानी भएको छ ।”
माछाको लागि दानामा ८ लाख, कर्मचारी तलब डेढ लाख, भुरा खरिदमा ७ लाख, जग्गा भाडामा साढे २ लाख खर्च गरी ११ लाख कमाइ भएको अध्यक्ष बिकले जानकारी दिए । “अहिलेकै जस्तो अवस्था रहे ५ वर्षमा लगानी उठ्छ,” उनले भने ।
सेन्टरमा माछालगायत बंगुर, स्थानीय कुखुरा, पाडापाडी, हाँससमेत व्यावसायिक  रूपमा पालिएको छ । ७५ लाख लगानी रहेको रिर्सच सेन्टरले वार्षिक १५ टन माछा बिक्री गर्ने लक्ष्य राखेको छ । जिल्ला कृषि विकास कार्यालयले पनि १० वर्षभित्र माछामा आत्मनिर्भर बन्ने लक्ष्य राखेको कारोवार डेलि डट कमले खवर लेखेको छ ।