कोपनहेगनमा नेपाली कक्षा

605 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कोपनहेगन, १३ बैशाख ( धादिङन्युज) –  डेनमार्क सरकारले निःशुल्क नेपाली मातृभाषा कक्षा सुरु गरेको छ । यहाँस्थित नेपाली संघसंस्थाको प्रयासमा कोपनहेगन कम्युन (नगरपालिका) ले इंगेभमा यो कक्षा सुरु गरेको हो ।

कक्षामा ६ वर्षदेखि १४ वर्षसम्मका ५४ नेपाली विद्यार्थी छन् । ६ वर्षदेखि ९ कक्षा पढिरहेका सम्मकाले मात्र यहाँ पढ्न पाउँछन् । नगरपालिकाले शिक्षकमार्फत हरेक विद्यार्थीलाई स्टेसनरीबापत प्रतिवर्ष २ सय क्रोनर उपलब्ध गराउँछ । शिक्षकले सामान किनेको बिल नगरपालिकालाई बुझाउनुपर्छ ।

हरेक शनिबार दुई ‘सिफ्ट’ गरी ६ घन्टा पढाइ हुन्छ । ‘बालबालिकाहरू बढिरहेका छन्,’ उक्त स्कुलका शिक्षक दीपक तिवारीले भने, ‘नेपाली मातृभाषा कक्षा सुरु गरिएको युरोपमै पहिलो हो ।’ प्राथमिक तहका पुस्तकहरूलाई आधार बनाई पाठ्यक्रम बनाइएको उनले बताए । नेपाल सरकारलाई पुस्तक उपलब्ध गराइदिन डेनमार्कस्थित नेपाली दूतावासमार्फत निवेदन गरिएको उनले सुनाए ।

अहिले एक जनामात्र शिक्षक छन् । नियमानुसार एउटा कक्षामा २४ जनाभन्दा बढी विद्यार्थी राख्न पाइन्न । विद्यार्थीको संख्या र निरन्तरता मध्यनजर गर्दै नगरपालिकाले कक्षा सञ्चालनको तीन महिनापछि शिक्षक थप्ने भएको छ ।

फाराम भरेकामध्ये १७ जनाले पढ्ने अनुमति पाएका छैनन् । केही ६ वर्षभन्दा मुनिका र केही अर्को नगरपालिकामा बसोबास गर्ने भएकाले अनुमति नपाएका हुन् । अन्यत्र बसोबास गर्नेको शुल्क सम्बन्धित नगरपालिकाले कोपनहेगनलाई बुझाउने सम्झौता गरेमात्रै उनीहरूले भर्ना पाउँछन् ।

शिक्षक तिवारीलाई प्रतिघन्टा २ सय ९१ क्रोनरका दरले महिनामा ३२ घन्टाको तलब दिने सम्झौता भएको छ । कमाइको ४६ प्रतिशत कर तिर्नुपर्छ ।

ई कान्तिपुर डट कमवाट