बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन

437 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, -व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चाडपर्वका समयमा कालोबजारी बढ्ने भएकाले अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रभावकारी अनुगमन हुन नसक्दा उपभोक्ताले बढी मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गर्नुपरेको, कालोबजारी नियन्त्रण हुन नसकेको, दसैँ, तिहार र छठजस्ता महत्वपूर्ण पर्वमा समेत सहुलियत प्राप्त हुन नसकेको भन्दै प्रभावकारी संयन्त्र निर्माणमा समितिले जोड दिएको छ ।

यस्तै वाणिज्य मन्त्रालयअन्तर्गतका निकायबाट सञ्चालित सहुलियत बजारमा खाद्य पदार्थमा बढीभन्दा बढी छुट दिन मन्त्रालयको ध्यानाकर्षण गराइएको समितिका सभापति भीष्मराज आङ्दम्बेले जानकारी दिनुभयो ।

यस्तै व्यवस्थापिका–संसद्ले गठन गरेको नेपाल आयल निगमको सुधारका सम्बन्धमा दिएको प्रतिवेदन कार्यान्वयन गर्न पनि समितिले सुझाव दिएको छ । निगममा देखिएको चरम बेथिति अन्त्य गर्नुपर्ने, भ्रष्टाचारमा सङ्लग्न भएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, नीतिगत र भौतिक व्यवधान हटाउनुपर्ने, खाना पकाउने ग्यासमा सामान्य उपभोक्तालाई छुट दिनुपर्ने, औद्योगिक प्रयोजनका लागि छुट्टै मूल्य निर्धारण गर्नुपर्ने, रातो र निलो सिलिन्डरको व्यवस्था गर्नुपर्नेमा हालसम्म हुन नसकेको भन्दै पुनः मन्त्रालयलाई सचेत गराइएको सभापति आङ्दम्बेले बताउनुभयो ।

यस्तै दक्ष जनशक्तिको अभावमा खाद्यान्नको गुणस्तर कायम हुन नसकेको र बजार अनुगमन प्रभावकारी हुन नसकेको भन्ने मन्त्रालय र वाणिज्य विभागको आग्रहअनुसार दक्ष जनशक्तिको नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनसमेत समितिले सुझाएको छ ।