कार्यस्थलमा दुव्र्यवहार गरे तीन महिना कैद
706 पटक पढिएको
कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी कुनै कर्मचारीलाई कार्यस्थलमा यौन आसक्तिको व्यवहार प्रदर्शन गरे दुव्र्यवहार भएको मानिनेछ
- यौनजन्य आसयले शरीरमा छोए, अश्लील तथा यौनजन्य चित्र प्रदर्शन गरे, यौनजन्य क्रियाकलापको कुराकानी गरे दुव्र्यवहार भएको मानिनेछ
- यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरे, जिस्क्याए वा हैरानी पारे, लेखेर, बोलेर वा इसाराले अश्लील यौनजन्य आसय प्रकट गरे दुव्र्यवहार भएको मानिनेछ
काठमाडौं, ७ मंसिर
कार्यस्थलमा यौनजन्य दुव्र्यवहार गर्नेलाई तीन महिना कैद हुने भएको छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कुनै यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारलाई तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने भएको हो ।
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्नेसम्बन्धी विधेयक राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक २३ कात्तिकमा व्यवस्थापिका–संसद्बाट पारित भई राष्ट्रपतिसमक्ष पेस भएको थियो । अन्तरिम संविधानको धारा ८७ बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउँछ ।
२० असारमा दर्ता भएको विधेयक संसद्को बजेट अधिवेशनले पारित गरेको थियो । बजेट अधिवेशनमा आर्थिक विधेयकबाहेक पारित भएको यो एक मात्र विधेयक हो । बजेट अधिवेशनको अन्त्यसम्म संसदमा सरकारका तर्फबाट २० विधेयक दर्ता भएका छन् ।
ऐनको दफा १२ मा कसुरदारलाई घटनाको प्रकृति र कसुरका आधारमा दुवै सजायसमेत हुने व्यवस्था गरिएको छ । ऐनको परिभाषाअनुसार कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी कुनै कर्मचारीलाई कार्यस्थलमा यौन आसक्तिको व्यवहार प्रदर्शन गरे दुव्र्यवहार भएको मानिनेछ । यस्तै यौनजन्य आसयले शरीरमा छोए, अश्लील तथा यौनजन्य चित्र प्रदर्शन गरे, यौनजन्य क्रियाकलापको कुराकानी गरे दुव्र्यवहार भएको मानिनेछ ।
यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरे, जिस्क्याए वा हैरानी पारे, लेखेर, बोलेर वा इसाराले अश्लील यौनजन्य आसय प्रकट गरे पनि दुव्र्यवहार भएको मानिनेछ । ऐनको परिभाषाको व्यहोरा कुनै पनि कार्यालयमा आउने सेवाग्राहीको हकमा पनि लागू हुनेछ ।
दुव्र्यवहार कम गर्न कार्यालय व्यवस्थापकले कर्मचारी तथा सेवाग्राहीलाई सजग गराउने तथा दुव्र्यवहार दोहोरिन नदिन आवश्यक सुधारात्मक उपाय अवलम्बन गर्नुपर्नेछ । यस्तै, व्यवस्थापकले दुव्र्यवहारविरुद्ध उजुर गर्ने अवधि, कार्यविधि तथा उजुरी सुन्ने अधिकारीका सम्बन्धमा पीडितलाई स्पष्ट जानकारी गराउनुपर्नेछ ।
गुनासोको सुनुवाइपछि पीडित र पीडक भनिएका दुई पक्ष मिलापत्रका लागि तयार भए घटना मिलापत्र हुन सक्नेछ । उजुरी सुन्ने अधिकारीले आरोपित व्यक्तिबाट पीडितलाई आवश्यक क्षतिपूर्ति भराउनसमेत सक्नेछ ।
उजुरी गर्दा कारबाही नहुने
कुनै घटनामा उजुर गरेबापत व्यवस्थापकले कर्मचारीलाई कारबाही गर्न, सेवाबाट हटाउन, सरुवा गर्न, बढुवालगायतका वृत्ति विकासका कुनै पनि काममा अवरोध पुर्याउन मिल्दैन ।
उजुरी गरेको आरोपमा व्यवस्थापकले उजुरकर्तालाई कुनै कारबाही गरे कारबाहीको व्यहोरासहित उजुरी सुन्ने अधिकारीसमक्ष उजुरी दिन पाउनेछ । उजुरी दिएकै कारण कर्मचारी वा सेवाग्राही असुरक्षित भएको महसुस गरेमा व्यवस्थापकले सुरक्षाको समेत व्यवस्था मिलाउनुपर्नेछ । कुनै कर्मचारीले दुव्र्यवहार गरेको प्रमाणित भएमा व्यवस्थापकले कर्मचारीलाई सरुवा गर्न पाउनेछ । आफ्नो मातहतबाहेकको कर्मचारी भए सरुवाका लागि आवश्यक पत्राचार गर्न सक्ने व्यवस्था ऐनमा छ ।
यस्तो हुनेछ सजाय
कुनै कर्मचारी वा सेवाग्राहीलाई दुव्र्यवहार गरेको प्रमाणित भएमा कसुर हेरी तीन महिनासम्म कैद हुनेछ भने २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । घटनाको प्रकृति र कसुर हेरी कसुरदारलाई दुवै सजाय पनि हुनेछ । यस्तै व्यवस्थापकले ऐनबमोजिम दायित्व पालना नगरे १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । उजुरी सुन्ने अधिकारी वा निरीक्षण वा अनुगमन गर्ने निकायले दिएको निर्देशन व्यवस्थापकले कार्यान्वयन नगरे थप १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
उजुरी सुन्ने अधिकार र क्षतिपूर्ति
कार्यालयस्थलमा हुने यौनजन्य दुव्र्यवहारको घटनाको उजुरी सुन्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ । प्रमुख जिल्ला अधिकारीले गरेको आदेशउपर परेको पुनरावेदन क्षेत्रीय प्रशासकको क्षेत्राधिकार हुनेछ । व्यवस्थापकबाट मिल्न नसकेका घटनाको उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनेछ । उजुरीको सुनुवाइ बन्द इजलासमा हुनेछ भने उजुरी सुन्ने माथिल्लो निकायले गरेको निर्णय चित्त नबुझेमा निर्णय भएका मितिले ३५ दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न मिल्नेछ ।
-नयाँ पत्रिका