जाडो महिनामा खानैपर्ने आहार

602 पटक पढिएको

सम्पादक: Dhading News

जाडो महिना सुरु भइसकेको छ । विशेषगरी आज राजधानी लगायतका विभिन्न स्थानहरुमा वर्षा भएसँगै चिसो अत्यधिक बढेको छ । यस्तो अवस्थामा हामीले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु आवश्यक छ । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरुले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ ।

newsDetailvtx26-immunityboostingfoodsजाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले यस्तो आहार खानु आवश्यक छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ । प्रतिरक्षा प्रणाली हरेक जीवको शरिर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरुलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने गर्दछ ।

चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहाराको सेवनले तपाईंको शरिरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।

१. च्याउः च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

२. लसुनः चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

३. चिकन सुपः चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

४. पालुङ्गोः पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

५. गाजरः चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरिरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

६. कोकोः काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन ।

७. मरिचः चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

८. अदुवाः चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।

९. दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।

१०. चियाः चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन । (एजेन्सी)