बाबुराम गुटका कार्यकर्ताले खुसियाली मनाएनन्
613 पटक पढिएको
धादिङ– संविधानको स्वागत र्याली र विजयसभामा एमाओवादी नेता बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा उनको विचार समूहका कार्यकर्ता सहभागी भएनन् ।
कांग्रेस, एमाले, एमाओवादी लगायतका दलहरुले गरेको संयुक्त कार्यक्रममा हजारौं सहभागी भए तर बाबुराम बिचार समूहका जिल्लास्थित नेता, कार्यकर्ताहरु गएनन् ।
एमाओबादी भट्टराई बिचार समूहका अध्यक्ष रहँदै आएका यानप्रसाद भट्ट देउरालीस्थित गाविसस्तरीय संयन्त्रको कार्यक्रममा ब्यस्त थिए ।
समानान्तर समितिका उपाध्यक्ष ज्ञानेन्द्र कुमाल र सचिव रमेश पोखरेललगायत नेता, कार्यकर्ता पनि ¥यालीमा सहभागी भएनन् ।
उपाध्यक्ष कुमालले आफू काठमाडौंमा रहेको जानकारी दिए । सचिव पोखरेलले फुर्सद नभएकाले आफू कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए ।
‘म एउटा सानो मिटिङ्गमा छु । संविधान आयो भन्दैमा तामझाम गर्नु आवश्यक होइन’, सचिव पोखरेलले भने, ‘तल्लो तलामा आगो दन्किरहँदा, उपल्लो तलामा बस्नेहरुले खुसी मनाउन सुहाउँदैन ।’
मधेसी समुदाय लगायतलाई पनि समेटेर संविधान ल्याउनुपर्ने भन्दै सचिव पोखरेलले भने, ‘सबैको भावना संबोधन गरेपछि मात्रै उत्सव मनाउँदा राम्रो हुन्थ्यो ।’ संविधान निर्माणमा डा.भट्टराईले खेलेको भूमिका र योगदानको उचित कदर नभएको उनले दावी गरे ।
कार्यक्रममा नजानू भन्ने केन्द्रिय निर्देशन नआएको उनले बताए । एकथान संविधान आउँदैमा खुसी हुने, रमाउने र तामधाम गर्नुको अर्थ नहुने उनको भनाइ छ ।
एमाओवादीको प्रचण्ड विचार समूह र बाबुराम भट्टराई बिचार समूहको गोरखामा छुट्टाछुट्टै समानान्तर समिति छ ।
जिल्ला कमिटी, तीन क्षेत्रमा क्षेत्रीय कमिटीका साथै गाउँ–गाउँमा पनि समानान्तरक गाउँ कमिटी गठन भैसकेको छ ।
भट्टराई विचार समूह सभागी नभए पनि कांग्रेस सभापति हरि घलेको संयोजकत्वमा सम्पन्न विजय र्याली तथा सभामा एमाले अध्यक्ष विश्वेश्वर कट्टेल र एमाओवादीका अध्यक्ष लेखबहादुर थापा लगायत सहभागी थिए ।
-अन्नपूर्णबाट