२ सय ५० मतदाता भएको मतदान केन्द्रमा नौ जना कर्मचारी खटाइनेछ । २ सय ५१ देखि ५ सयसम्म मतदाता भए १० जना र ५ सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा १२ जना कर्मचारी खटाइने आयोगले जनाएको छ ।
हरेक मतदान केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत रहनेछन् । २ सय ५० मतदाता भएको मतदान केन्द्रमा तीन जना सहायक कर्मचारी, दुई जना सहयोगी कर्मचारी र दुई जना स्वयंसेवक रहनेछन् ।सहायक कर्मचारीको काम मतदान नामावली रुजु गर्ने र मतदातालाई मतपत्र दिने रहेको छ । स्वयंसेवकले भने
मतदान गरेको मतदाताको तथ्यांक राख्ने र नङमा मसी लगाउने काम गर्ने ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७४’ को दफा ९ मा उल्लेख छ । ५ सय मतदाता रहेको मतदान केन्द्रमा चार जना सहायक कर्मचारी, दुई जना सहयोगी कर्मचारी र तीन जना स्वयंसेवक राखिनेछ ।
५ सयभन्दा बढी भएको मतदान केन्द्रमा चार जना सहायक कर्मचारी, दुई जना सहयोगी कर्मचारी र चार जना स्वयंसेवक राखिने निर्देशिकामा उल्लेख छ । तर उल्लिखित संख्याका कर्मचारी नपुग भएमा नपुग बराबरका कर्मचारी सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतले बढीमा तीन दिनका लागि स्वयंसेवक नियुक्ति गर्न सक्नेछन् ।
दुवै चरणको निर्वाचन गरी कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाताले मतदान प्रक्रियामा भाग लिँदै छन् । दुवै चरण गरी देशभरि जम्मा १९ हजार ८ सय ९ मतदान केन्द्र तोकिएको छ ।
पहिलो चरणमा ३२ जिल्लाका ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले निर्वाचनमा भाग लिँदै छन् । पहिलो चरणमा ४ हजार ४ सय ६५ वटा मतदान केन्द्रबाट मतदान गरिनेछ ।
सबैभन्दा बढी मतदान केन्द्र प्रदेश–३ मा रहेका छन् । जहाँ १ हजार २ सय ४६ वटा मतदान केन्द्र तोकिएको छ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा कम मदतान केन्द्र प्रदेश–५ मा छ । जहाँ २ सय २ वटा मात्रै मतदान केन्द्र रहेका आयोगले जनाएको छ ।
तर देशभरि मतदानस्थल भने १० हजार ६ सय ७१ वटा मात्रै राखिएको छ । एउटै मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र राखिएको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको मतदान केन्द्रमा मात्रै ४० हजारभन्दा बढी कर्मचारी परिचलान गरिँदै छ ।
आयोगले निर्वाचन व्यवस्थापनका लागि हालसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खडा गरी सञ्चालनमा ल्याइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १८ र निर्वाचन अधिकृतको कार्यालयमा १६ जना कर्मचारी खटाइसकिएको छ ।
निर्वाचन अधिकृतले नै आप्mनो क्षेत्रका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउँदै छ । तर मतदान केन्द्रमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतको सूची भने गोलाप्रथाबाट छनोट गरिनेछ ।
निर्देशिकाको दफा १०‘क’ मतदान केन्द्रमा खटाइने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको छनोट गोलाप्रथाबाट गरिने उल्लेख छ । ‘निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाउनुपूर्व त्यसरी खटाउने कर्मचारीको स्थायी ठेगानासमेत भएको सूची तयार गरी सो सूचीमा रहेका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अधिकारीको रोहबरमा गोला हानी विभिन्न मतदान केन्द्रमा खटाउनुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा गोलाप्रथा गर्ने तरिकासमेत विस्तृत रूपमा उल्लेख गरिएको छ ।
आयोगले सरकार, प्रदेश वा स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाका कर्मचारीलाई निर्वाचनमा खटाउँदै छ । कर्मचारी नपुग भए विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीहरूलाई पनि निर्वाचन प्रयोजनमा खटाउने अधिकार आयोगलाई दिइएको छ ।
धादिङमा १ हजार ९ सय २१ कर्मचारी खटाइने
पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुनगईरहेको २ सय ७५ वटा मतदानकेन्द्र रहेको धादिङ जिल्लाको प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी खटाइने कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका १३ वटै स्थानिय निकायमा रहेका मतदान केन्द्रहरुका लागि २ सय ७५ जना मतदान अधिकृत, २ सय ७५ जना सहायक मतदान अधिकृत, ११ सय जना सहायक कर्मचारी र २ सय ७१ जना सहयोगी कर्मचारी खटाइने निर्वाचन अधिकृत ईश्वर सिंम्खडाले जानकारी दिनुभयो ।
मंगलबार कर्मचारीलाई कार्यस्थलमा खटाइने निर्वाचन आयोगले जनाएको छ ।