सस्तो र सुरक्षित घर ३ लाखमै बनाउन सकिने

1397 पटक पढिएको

सम्पादक: Dhading News

 

20171208063608_Clipboard04काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले औसत आयस्रोत भएका मध्यम वर्गीय नेपालीलाई आफू बस्ने घर बलियो र सुरक्षित दुवै हुनुपर्ने रहेछ भन्ने चेत खोल्यो । तर, त्यो चेतनाले बालुवा, गिट्टी, ढुङ्गा, फलामे डण्डी, सिमेण्ट र इँटाको प्रयोग गरेर आरसीसी ढलान गरेका घर मात्र बलियो हुन्छ भन्ने बुझायो । भूगोलका हिसाबले अतिविकट नेपालका ग्रामीण बस्तीमा आरसीसी घर बनाउन महँगो र असहज छ । घण्टौं हिँडेर पुग्नुपर्ने निर्माण स्थलमा भनेजति निर्माण सामग्री पुर्‍याउन सहज छैन । यस्तो अवस्थामा समय र पैसा धेरै खर्च हुन्छ । कृषि पेशामा निर्भर मध्यम तथा निम्न आयस्रोत भएका घरपरिवारको सम्पत्ति भूकम्पले नष्ट भएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भए । साथै, उक्त विपत्तिले उनीहरूलाई नयाँ सुरक्षित घर बनाउनै नसक्ने कमजोर अवस्थामा पनि पुर्‍याएको आर्थिक अभियान दैनिकमा खबर छ ।
पुनर्वासका लागि बनेका संरचना सुरक्षित र सस्तो होस् भन्ने चाहना उनीहरूको छ ।

 

भूकम्पपीडित परिवारलाई चाहिएको सुरक्षित घरको आवश्यकता सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास कार्यक्रमले साझेदारहरूसँग मिलेर सस्तो र सुरक्षित घरको अवधारणा ल्याएको छ । यो अवधारणाले राम्रै आर्थिक हैसियत भएकाहरूलाई भन्दा पनि घर बनाउन ठूलो लगानी गर्न नसक्नेहरूलाई विशेष फाइदा पुर्‍याउने ठानिएको छ ।

सस्तो र बलियो घर कसरी ?
भूकम्पले अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, गोरखा, धादिङ, नुवाकोट र काठमाडौं उत्पत्यकाभित्रै पनि परम्परागत रूपमा बनेका घरलाई सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । त्यसको कारण निर्माणको समयमा भएको असावधानी हो भन्ने विभिन्न अध्ययनले देखाएका छन् ।

भूकम्पले विश्वका अरू धेरै ठाउँमा भन्दा नेपालमा ठूलो मात्रामा क्षति हुनुमा मानिस आफै कारक भएको पाइएपछि कसरी सुरक्षित घर बनाउने भन्नेमा सरकार तथा सरोकारवाको ध्यान केन्द्रित भएको हो । सस्तोमा सुरक्षित घर बनाउन छड, सिमेण्ट र बालुवा नभए पनि हुन्छ भन्ने प्रयोग विश्वका अन्य ठाउँमा भइसकेको छ । सोही प्रयोगको नेपाली मौलिक अभ्यास नै सस्तो र सुदृढ घरको अवधारणा हो ।

बलियो घर बनाउने विधि
बलियो घर बनाउन धेरै नयाँ प्रविधि र शीप जानिरहनु पर्दैन । यो विधि अत्यन्त सहज र छरितो छ । परम्परागत घरमा तारका जालीलाई थपेर एउटा विधिबाट तयार गर्दा घर साविककै लागतमा तुलनात्मक रूपमा बलियो र सुरक्षित बन्छ ।

यसमा ग्रामीण भेगका विकट ठाउँमा घर निर्माण गर्दा पर्खालको बीचबीचमा तारको जाली हाल्न सिकाइन्छ । लामो समयसम्म खिया नलाग्ने जालीले भित्तालाई आपसमा अड्याउँछ र बलियो बनाउँछ । हरेक घरको भित्तामा एक÷एक हातको दूरीमा तारका जालीलाई बाहिरबाट आपसमा बलियोसँग बाँधिन्छ, जसले भूकम्पका बेला भित्तालाई एकैपटक लड्नबाट रोक्छ । यसो हुँदा घरमा बस्नेलाई सुरक्षित स्थानतिर निस्कन समय मिल्छ ।

घरमा तारजाली छानोदेखि तलासम्म बाँधिएको हुन्छ । त्यसैले, यस्ता घर परम्परागत घरभन्दा सुदृढ हुन्छन् । यसका निर्माण सामग्री पायक पर्ने नजीकको बजारबाट मानिसले सजिलैसँग बोकेर ल्याउन सक्छन् ।

लागत
घर बनाउन स्थानीय साधनस्रोतकै बढी प्रयोग हुन्छ । त्यसैले, यसले लागत बढाउँदैन । डेढ तलाको दुईकोठे बार्दली भएको घर र शौचालय बनाउन करीब रू. ३ लाख लाग्छ । सुरक्षित आवास निर्माणमा पीडितहरूलाई सघाउन दोलखाको शैलुङ गाउँपालिकामा कार्यरत इञ्जिनीयर मनि दास १ सय ७० जना कामदारले १ दिनभर काम गरे एउटा घरको निर्माण सम्पन्न हुने बताउँछन् । ‘सुदृढ घर बनाउँदा खासै लागत बढ्दैन,’ उनी भन्छन्, ‘केही केजी तारजाली र अन्य निर्माण सामग्रीको प्रयोगले सजिलै सुरक्षित घर बनाउन सकिन्छ ।’

बढ्दो आकर्षण
पहाडी जिल्लामा सस्तो घरप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका घरपरिवारलाई सरकारले निःशुल्क परामर्श दिने, इञ्जिनीयरको सेवा दिने र तीन किस्तामा रकम उपलब्ध गराउने भनेको छ । तर, सोहीअनुसार काम थाल्न पहिलो किस्ता बुझेकाहरूले दोस्रो र तेस्रो किस्ता बुझ्न समस्या पर्ने गरेको बताएका छन् । वैशाख २९ को भूकम्पले घर लडाएपछि गोठमा बस्दै आएका शैलुङ गाउँपालिका दोलखाका डकर्मी पेमा दोर्जेले प्रशासनिक झन्झटले दोस्रो किस्ता लिन नसकेको गुनासो गरे । ‘किस्ता बुझ्न असाध्यै अप्ठ्यारो छ,’ उनले भने, ‘त्यसैले यूएनडीपीले सिकाएको प्रविधिअनुसार घर बनाउन थालेको छु । यो सस्तो र बलियो हुन्छ भन्ने सुनेको छु ।’

सोही गाउँपालिका प्रमुख भरतमणि दुलालले दोलखामा हालसम्म २० प्रतिशत संरचना पुनर्निर्माण भएको बताए । ‘अधिकांश घर यही प्रविधिबाट बनेका छन्,’ उनले भने, ‘यो सस्तो र छरितो छ ।’