डाक्टर भएर नि आत्महत्या!
82 पटक पढिएको
सञ्जालका भित्तामा आदर्श सन्देश लेख्नुपहिले आफू वरपरका आफन्त र साथीहरूलाई हेरौँ। कतै हामी नै कसैको मानसिक समस्याको कारक त भइरहेका छैनौँ?
‘धादिङ अस्पतालमा कार्यरत डाक्टर प्रतिभा धौभडेलले चैत १५ , २०८० मा छाउनीस्थित आफ्नै घरमा आत्महत्या गरिन्,’ झन्डै एक महिना अघि यो खबर आएसँगै विभिन्न कोणबाट मत उठे। एक–दुई दिन उठे अनि सकिए। अब फेरि बहस चल्नुपूर्व नै कुनै ननिको खबर हामीले सुन्नुपर्ला।
त्यो दुखद खबर आएको दिनयता मेरो मनमा भर्खर ३२ वर्ष टेकेकी एक काबिल सर्जन (शल्य चिकित्सक)को हँसिलो अनुहार पटक–पटक आइरहेछ। केही पहिले मात्र बिहे गरेको त्यो प्रेमील जोडीका तस्वीर पनि दिमागमा आइरहेछ।
‘आत्महत्या रोक्न सकिन्छ,’ दिनहुँजसो यही बेहोराको पोस्टर/पाम्फ्लेट देखिरहन्छु। तर, आत्महत्या किन यसरी बढिरहेको छ?
…
‘कोही साधारण मानिस बाँकी संसारका लागि कोही नहुन सक्छ, तर त्यही मानिस कसै कसैका निम्ति सारा संसार हुनसक्छ!’ यो तत्त्वबोध सबैलाई नहुन सक्छ, तर भइदिए जाती हुन्थ्यो। परिवारमा व्यक्तिको जति महत्त्व हुन्छ, परिवारलाई पनि व्यक्तिको उत्तिकै महत्त्व हुन्छ। यसको मतलब परिवार र परिवारका सबै सदस्य एकअर्काका आधार हुन्। अझ, नेपाली समाजमा पारिवारिक अन्तरसम्बन्धको महत्वबारे भनिरहन नपर्ला।
कोही किन यी सारा सम्बन्धलाई बिर्सेर आत्महत्याजस्तो अपूरणीय कदम उठाउन बाध्य हुन्छ होला? आफू मरेर परिवारका अन्य सदस्यलाई ‘जिउँदै मार्न’ तयार होला? अझ, डाक्टरजस्तो सर्वसाधारणको ज्यान बचाउने सेवा-पेसामा लागेको व्यक्तिले? आत्महत्या रोकथाममा सचेतना अपनाउने पेसाकर्मीले नै किन आत्महत्या गर्दा हुन्?
…
चर्चित मेडिकल जर्नल पबमेडमा प्रकाशित लेखअनुसार वर्षमा कम्तीमा १० लाख मानिसले आत्महत्या गर्ने गरेका छन् भने कम्तीमा २० लाख मानिसले आत्महत्याको प्रयास गर्ने देखिएको छ। अर्थात् हरेक ४० सेकेन्डमा कसै न कसैले आत्महत्याको कारण ज्यान गुमाइरहेका हुन्छन्। पुरुषभन्दा महिलामा आत्महत्या गर्ने प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या भने पुरुषकै बढी छ।
१५-३५ वर्षको उमेर समूहमा आत्महत्या मृत्युको चौथो कारण बन्न पुगेको छ। अध्ययनहरूले आत्महत्या गर्ने सोच आउने ८० प्रतिशत मानिस मनोचिकित्सकसम्म पुग्न नसकेको/नचाहेको देखाउँछ। कुनै बिरामीले आफूलाई आत्महत्याको सोच आएको कुरा नजिकका आफन्तलाई सुनाउँदा ७० प्रतिशतभन्दा बढीले हल्का रूपमा लिने गरेको अर्को एक अध्ययनले देखाएको छ। यसले विश्वभर मान्छेहरू मानसिक स्वास्थ्यबारे जानकार नभएको बुझिन्छ।
नेपालको सन्दर्भमा ‘राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७’ अनुसार नेपालमा सात प्रतिशत व्यक्तिमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सात हजारभन्दा बढी व्यक्तिले आत्महत्या गरेका थिए र बर्सेनि आत्महत्याको दर बढी नै रहेको छ। यसैले पनि आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्याको रूपमा रहेको बुझिन्छ।
कारणहरू
कोही आत्महत्यासम्मको निर्णयमा पुग्न बहुआयमिक कारण जिम्मेवार हुन्छन्। ९० प्रतिशतभन्दा बढी आत्महत्या मानसिक समस्याकै कारणले हुने अनुसन्धानबाट देखिएको छ। अन्य कारणमा आनुवंशिक, मनोवैज्ञानिक र सामाजिक-पारिवारिक पनि हुन्।
धेरैजसो आत्महत्या योजनाबद्ध हुन्छन्। त्यस्ता व्यक्तिमा भावनात्मक, शारीरिक, व्यावहारिक लक्षण र सूचकहरू पहिले नै देखिन्छन्। प्रायजसो व्यक्तिले दिन, हप्ता र महिनौँसम्म योजना बनाएका हुन्छन्। आत्महत्या गर्ने मनस्थितिमा पुगेका व्यक्तिको व्यवहार नियाल्ने हो भने केही फरक महसुस गर्न सकिन्छ।
‘अबचाहिँ जीवन नै त्याग्छु’ भन्ने अन्तिम निष्कर्षमा पुग्नुपहिले मान्छेले आफैसँग कति लडाइँ गर्नुपर्छ होला?
परिवार, समाजको महत्त्व, आफ्ना जिन्दगीका उपलब्धि अनि एकवारको जिन्दगी हो भन्ने बुझाइ हुँदाहुँदै पनि आफैलाई हानी पुर्याएर संसार त्याग्नु पक्कै सामान्य होइन। प्रस्ट हुनैपर्छ, आत्महत्या न बहादुरी हो, न कायरता!
यो एक गम्भीर मानसिक समस्या/रोग हो। अन्य रोगजस्तै यसका पनि पूर्व लक्षण र समाधानका उपाय दुवै हुन्छन्। फरक के छ भने अन्य रोगका लक्षण देखिनेबित्तिकै हामी डाक्टरसँग परामर्श लिन हतारिन्छौँ, तर ‘मानसिक समस्यामा छु कि’ भन्ने आभास भएपछि सो समस्याचाहिँ लुकाउन हामीमध्ये धेरै हतारिन्छौँ। एकदुई दिन लुकाएर के गर्नु? भित्रभित्रै उकुसमुकुस भएर निसास्सिएपछि सो समस्या कुनै न कुनै दिन विस्फोट त भइहाल्छ। कार्पेटमुनि फोहोर लुकाएर कोठा सधैँ सफा रहिरहन सक्छ र? आगो छोपेर कतिन्जेल?
सम्भावित लक्षण
मानसिक समस्याको गम्भीरता र लक्षण उमेर-समूह अनुसार पनि देखिन्छन्:
– आफ्नो कोही नभएको जस्तो, आफूलाई सहयता गर्ने कोही नभएजस्तो र जन्मको सार नभएकोजस्ता भावना मनमा आउँछन्।
– पहिले नै कसैले आत्महत्या-आत्महानिको प्रयास गरेका छन् भने तिनले फेरि आत्महत्या गर्ने सम्भावना रहन्छ।
– परिवार, इष्ट-मित्रलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने काम कसैले गर्छन् भने सचेत हुनुपर्छ ।
– मेरोबारेमा कसैले चिन्ता लिनु पर्दैन, म नभए पनि कसैलाई फरक पर्दैन, सुतेपछि कहिल्यै उठ्न नपरोस् जस्ता वाक्यहरू पटक–पटक व्यक्त गर्नेले आत्महत्या गर्ने सम्भावना रहन्छ।
– कसैले आफ्नो मृत्युबारे योजना सुनायो भने त्यो व्यक्तिले आफूमाथि घात गर्ने सम्भावना रहन्छ।
-आत्महत्या गर्ने माध्यम जस्तै: विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरूको खोजी गर्ने वा अनावश्यक भण्डारण गर्ने मान्छेले आत्महत्या गर्ने सम्भावना रहन्छ।
– बिनाकारण एक्कासि धेरै खुशी हुने वा एक्कासि धेरै दुखी हुने संकेत पनि आत्महत्याका लक्षण हुन सक्छन्।
– सामाजिक सञ्जालमा हीनताबोध र निराशाका पोस्ट लेख्ने या शेयर गर्नेबाट पनि आत्मघातको खतरा रहन्छ।
– सामान्यतया खुशी हुनुपर्ने कुरामा पनि कोही मौन रह्यो वा प्रतिक्रिया जनाएन भने तिनले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ।
कसरी सहयोग गर्न सकिन्छ?
कसैले आफू मानसिक रूपमा कमजोर बनेको, आत्महत्या गरौँजस्तो सोच आएको सुन्नेबित्तिकै हाम्रो पहिलो जवाफ हुने गरेको छ, ‘ह्या, किन जिस्केको? नजिस्क न। मनमा त्यस्तो सोच आएको छ भने हटाइदिने नि!’
यति भन्न धेरै सजिलो छ, तर अनेकन् त्यसो भन्ने व्यक्ति एकदमै असहज अवस्थामा रहेको बुझ्नुपर्छ। कसैले हामीलाई कोही मानसिक समस्यामा रहेको कुरा हामीले सम्झिहाल्नुपर्नेछ- त्यस व्यक्तिले हामीलाई धेरै विश्वास गर्ने भएकाले र आफ्नो नजिक सम्झेकै कारण हामीसित खुल्न खोजेको हो। यसकारण, हाम्रो पहिलो कर्तव्य ती व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नु हुनेछ। सो व्यक्ति स्वयंले हामीसँग सो कुरा भन्न कति पटकको प्रयासपछि बल्लतल्ल खुल्न सकेको होला।
“मेरो कुरा सुनिदिने र मेरो समस्या बुझिदिने कोही त रहेछ” भन्ने आभास दिलाउन सकियो भने आत्महत्या रोकथामको त्यो नै पहिलो सुन्दर कोशेढुंगा हुनेछ। मानवीयताको हिसाबले जो कोहीलाई यति त जोकसैले परिपक्व मान्छेले गर्नैपर्छ।
कसैको व्यवहारमा परिवर्तन आएको कुरा सबैभन्दा पहिले घरपरिवारलाई थाहा हुन्छ। खाने बेला, बोल्ने कुरा, बिहान उठ्ने कुरा, खानाका रुचि, हाँसोठट्टाका कुरा, सामाजिक अवसरमा घुलमिल हुनेजस्ता विषयबाटै व्यक्तिको व्यवहारमा आएको परिवर्तन थाहा पाउन सकिन्छ।
घरपरिवारपछि साथीभाइलाई कोही व्यक्तिको व्यवहार/भावना बदलिएको थाहा हुन्छ। लक्षण थाहा पाइसकेपछि/सुनिसकेपछि परिवार र साथीभाइले देखाउने व्यवहारले धेरै हदसम्म बिरामीको बाटो तय गर्नेछ। समस्या पहिचान गरेपछि सही सहयोग गर्न सक्ने-उचित परामर्श दिन सक्ने व्यक्ति, जस्तै: मनोचिकित्सक, चिकित्सामनोविद्, मनोविमर्शकर्ता, स्वास्थ्यमा तालिमप्राप्त व्यक्तिहरूको सहयोग लिन प्रोत्साहन गर्नुपर्छ।
सकारात्मक सोच विकास गर्ने, दैनिकजसो मर्निङ वाक गर्ने, आफूलाई मनोरञ्जनात्मक क्रियाकलापमा भुलाउने, घुमघाममा जाने तथा सांगीतिक र आध्यात्मिक क्रियाकलापमा सहभागी गराउन सकिन्छ। मानवताको आधारमा हाम्रो कारणले कसैको जीवन जोगिन्छ भने यति प्रयास किन नगर्ने? आत्महत्या रोकथामका लागि सरकारले चलाइरहेको ११६६ को हेल्पलाइन नम्बरमा सम्पर्क गर्न सकिन्छ।
विभिन्न अध्ययनहरूले साइकोथेरापी, जस्तै: कग्निटिभ विहेभियर थेरापी, डायलेक्टिभ विहेभियर थेरापी, सोलुसन फोकस्ड थेरापीको माध्यमबाट आत्महत्या-आत्महानिको जोखिम कम गर्न सकिन्छ। व्यक्तिहरूमा देखिने जीवनप्रतिको नकारात्मक सोच, हीनताबोध, निराशापनका सोच तथा भावनात्मक अस्थिरताबाट उत्पन्न हुने आत्महत्या-आत्महानिको जोखिम कम गर्न र रोकथाममा साइकोथेरापीले मद्दत पुग्छ। यसका लागि दक्ष जनशक्तिकोमै लैजानुपर्छ।
…
आजभोलि आत्महत्यासम्बन्धी चलिआएको तथ्य/तथ्यांकलाई माथ दिने गरी मोबाइल नपाएको निहुँमा १२ वर्षीय बालकदेखि एक्लै जीवन बिताइरहेका ८० वर्षीय वृद्ध समेतले आत्महत्या गरेका खबर पढिन्छन्/सुनिन्छन्। आत्महत्याविरुद्ध सचेतना जगाउँदै हिँड्ने अभियन्तादेखि मानसिक बिरामीको उपचार गर्ने डाक्टर स्वयंले आत्महत्या गर्न पुगेको देखिन्छ।
“डाक्टर भएर पनि आत्महत्या गर्ने, कस्तो होला?”, कहिलेकाहीँ यो भनाइ चर्को रूपमा सुनिन्छ। जवाफ सामान्य छ, डाक्टर पनि सबैभन्दा पहिले मान्छे नै हो। तिनले पनि अन्यले झैँ जिन्दगीका कठिनाइ झेल्नुपर्छ, तिनका जिन्दगीका आरोह-अवरोह पनि अन्यकै झैँ हुन्छन्। अझ, डाक्टरी पेसामा बढ्दो असुरक्षा, न्यून सुविधा, पारिवारिक जिम्मेवारी र करियरमा आउने अवरोधलगायत विषयले मानसिक समस्या बढ्दो छ।
….
‘म त राति पनि मेसिन कराएको मात्र सुन्छु। सपनामा पनि साहुले गाली गरेको देख्छु। झसंग बिउँझिन्छु। नेपाल फर्कौँ, आर्थिक अवस्था भद्रगोल बन्छ, नफर्किऊँ, मानसिक अवस्था भद्रगोल बनिरहेछ,’ जापानमा काम गरिरहेको एक साथीले यस्तो सुनाइरहँदा मैले मनोपरामर्शकलाई भेटिहाल्नेबाहेक अरू केही भन्नै सकिनँ। किनकि, आजको धेरैजसो नेपालीको यथार्थ यही हो। हाम्रा अपेक्षा नै धेरै हुन् या हाम्रो नियति नै यस्तै हो? यो प्रश्न त छ, तर मसँग उत्तर छैन।
मानसिक समस्या पर्दा सहयोग माग्नु कमजोर हुनु होइन, यो त अँध्यारोमा हिँडिरहेको बेला दियो खोज्नु हो! आजभोलि अरूलाई मात्र होइन, आफैलाई पनि कुनै मानसिक समस्या आइरहँदा म बेलाबेला आफैलाई समेत सम्झाइरहन्छु, ‘आत्महत्या गर्नुपर्ने निचोडमा पुर्याउने एउटा कारण होला, तर यो विचित्र र भव्य जगत्मा बाँच्नुपर्ने हजारौँ कारण छन्।’ ती कारणहरू खोजौँ र सबैलाई खोज्न सहयोग गरौँ।
(डा. अधिकारी तनहुँस्थित भीमाद नगरपालिकाको प्रस्तावित नगर अस्पतालमा कार्यरत छन्।)
- यो लेख हामीले उकालो डट कमबाट साभार गरेका हौं ।