गोरखा पहिरोको घाइतेलाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगियो

112 पटक पढिएको

सम्पादक: Dhading News

गोरखा-उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो।

स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए। बेपत्ता हुनेहरुमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन्। शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।