तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा प्रशासन कार्यालय धादिङका नासु पक्राउ
308 पटक पढिएको
काठमाडौँ १० असोज २०८१ । तिब्बतीयन नागरिक सोनाम वाङ्गेलको साथमा फेला परेको नेपाली नागरिकताको अनुसन्धानका लागि धादिङबाट थप एक जना पक्राउ परेका छन् ।
गैर कानूनी ढंगबाट नागरिकता दिलाउन सहयोग गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयको नयाँ नागरिकता शाखामा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद थपलियालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
नागरिकता बनाउन सहयोग गर्ने गिरोहले थपलियालाई ५० हजार दिएको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
तिब्बतीयन नागरिक २४ वर्षीय सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट सोनाम तामाङको नाममा नागरिकता लिएका हुन् ।असोज ४ मा काठमाडौँ–६ बौद्ध तिनचुलीमा सोनामसहित ७ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरू मेशिन मार्फत ‘फिस सुट गेम’ खेल्दै थिए । पक्राउ पछि अनुसन्धानका क्रममा नागरिकताबारे सोधपुछ गर्दा सोनामले ४ लाख तिरेर किनेको बयान दिएपछि केन्द्रिय अनुसन्धान व्युरोले नागरिकताको बिषयमा छानविन शुरु गरेको हो ।
तिब्बतको आम्दो घर भएका सोनामले धादिङको नेत्रावती वडा नम्बर–१ स्थायी ठेगाना र बुवा हर्कमान तामाङ उल्लेख गरेर नागरिकता लिएका हुन् । नागरिकतामा उल्लेखित बुबालाई सोनामले नचिनेको प्रहरीलाई बताएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङबाट २०८१ असार ६ गते सोनाम तामाङ नाममा जारी भएको २६–०१–८१–०३२१७ नम्बरको नागरिकतामा प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले दस्तखत गरेका छन् ।
सोनामलाई नागरिकता बनाउन सहयोग गर्ने चारजना बिचौलियालाई काठमाण्डौंमा पक्राउ गरि अनुन्धानका लागि धादिङ पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले धादिङ न्यूजलाई बताउनुभयो ।
यस अघि पक्राउ पर्नेमा भारत घर भएर काठमाडौँको महांकाल बस्ने छिरिङ डुण्डुप, सिन्धुपाल्चोकको हेलम्बु घर भएका छिरिङ वाङ्दी शेर्पा, धादिङ खनियाबास घर भएका रामेश्वर रिजाल र नेत्रावती घर भएर मनमैजु बस्ने मदन तामाङ छन् । उनीहरुविरुद्ध धादिङ प्रहरीले नागरिकता सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । सोनामले छिरिङ डण्डुपलाई नागरिकता लिनका लागि एकमुष्ट चार लाख दिएको प्रहरीसँग बताएका छन् ।सोनामको नागरिकता नम्बर हो ‘२६–०१–८१–०३२१७’ । सो नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय धादिङ आउनु नपरेको समेत खुलेको छ ।
बिचौलियाले उनलाई ठमेलस्थित कफिशपमा औँठाछाप लिएका हुन । ४ लाख नगद दिएको दुई महिनापछि छिरिङ डुण्डुपको समूहले काठमाडौँमा नै नागरिकता ल्याएर दिएको उनले प्रहरीलाई बताएका छन् ।२४ वर्षीय सोनाम अहिले जुवा मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । जुवा खालबाट प्रहरीले १२ लाख नेपाली रुपैयाँ, २ हजार डलर र ३ हजार चिनियाँ युआन बरामद गरेको थियो । जुवा मुद्दामा छुटेपछि सोनामलाई नागरिकता सम्बन्धी अनुसन्धान गर्न धादिङमा ल्याईने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी भट्टराईले जानकारी दिनु भयो ।
बिचौलियाले कर्मचारीहरुसँगकै मिलेमतोमा नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर हर्कमान तामाङलाई नक्कली बुवा खडा गरी नागरिकता बनाएको खुलेको छ ।
ती व्यक्तिलाई नागरिकता बनाउन वडा कार्यालयबाट कुनै किसिमको सिफारिस नगरिएको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ठाकुर गुरुङले बताउनुभयो । नागरिकता लिएका सोनाम तामाङको बाबू भनिएका हर्कबहादुर २० वर्ष अघि नै मरिसकेका व्यक्ति भएकोले किर्ते गर्ने सबैलाई कारबाहि गर्नुपर्ने वडाअध्यक्ष गुरुङ बताउनुहुन्छ ।