धादिङमा महंगो भाडा लिने दुई बस र सरसफाईमा ध्यान नदिने होटललाई कारवाही
557 पटक पढिएको
धादिङ,१६ असोज । सिट क्षमता भन्दा धेरै यात्रु बोक्नुका साथै महंगो भाडा लिएको,बसमा भाडा दरको सूची नटाँसेको र टिकट नकाटी यात्रु चढाएको आरोपमा जिल्ला अनुगमन समितिले धादिङमा दुई वटा बसलाई जरिवाना गराएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेत्तृत्वमा खटिएको वजार अनुगमन टोलीले ग्रामीण यातायात धादिङ प्रा.लि.द्धारा संचालित काठमाण्डौं धादिङ चल्ने बा ५ ख ५७ नम्बरको बसलाई १० हजार र काठमाण्डौं बाट चितवन चल्ने ग १ ख ५५९२ बसलाई २० हजार जरिवाना गराएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को उफदफा ३९ को १ को क अनुसार दुवै बसलाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले वताउनु भयो ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख पुरीका साथै उपभोक्ता मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको छ । टोलीेले मुल्य सूची ,चाडबाडको बेला पारेर वजारमा हुन सक्ने महंगी, खाद्यान्न सामानमा हुने मिसावट,गुणस्तर लगायतको अनुगमन गरेको जनाएको छ ।
यसै गरी टोलीले बुधबारनै वेनिघाटरोराङ वडा नम्बर ३ मा रहेको पिस हेभन रेष्टुरेन्टलाई पनि जरिवाना गराएको छ । अनुगमनका क्रममा होटल सरसफाईमा ध्यान नदिएको,खानेकुरा रेफ्रिजेटरमा नराखेको,खानेकुरा खुल्ला राखेको खाना खाने भाँडामा झिंगा भन्केको भेटिएपछि पिस हेभन रेष्टुरेन्टलाइ उपभोक्ता संरक्षण ऐन २०७५ को उफदफा ३९ को १ को क अनुसार २० हजार जरिवाना गरिएको उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख पुरीले जानकारी दिनु भयो ।
जिल्ला अनुगमन समितिको टोलीले केही दिन देखि वजार निरन्तर बजार अनुगमन गरिरहेको छ ।