नेपालीहरूको महान् पर्व बडादसैं आज बाट सुरु, पहिलो दिन घटस्थापना
211 पटक पढिएको
धादिङ, १७ असोज २०८१ । यस बर्ष नेपालीहरूको महान् पर्व बडादसैं असोज १७ गते बिहीबारबाट सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ ।
धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहानबिहान ९:१६ बजे शुभसाइत तोकेको छ । फुर्सद हुने र साइत खोज्नेले शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको गौतमले जानकारी दिनुभयो ।
घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ, । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।
समितिका अनुसार असोज असोज २६ गते गते शनिबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत् रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरिने चलन छ ।
यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । मैसासुर, रक्तविज, चन्डमुन्डलगायतका असुरको बध गरेकी दुर्गे भवानीको पूजा विर्सजन पूर्णपात्रो र दक्षिणा संकल्प गरी समापन गर्ने चलन रही आएको छ ।