पहिरोले जोखिम बनाएका त्रिभुवन राजपथ र पृथ्वीराजमार्गमा यात्रा सहज हुँदै

227 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ १८ असाेज, २०८१। राजधानी काठमाडौँ भित्रने र बाहिरिने मुख्य सडक त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग अन्तर्गत पहिरोले जोखिम बनाएका ठाउँहरुमा अत्यावश्यक सामग्रीसहित सुरक्षा निकाय तैनाथ गरिएका छन् ।

धादिङ जिल्ला भित्र पर्ने पृथ्वीराजमार्ग र त्रिभुवनराजपथमा  १५/१६ वटा जोखिम स्थलमा सामग्रीसहित सुरक्षाकर्मीले मर्मतसंभार र पहिरो पन्छाउने कार्य गरिरहेकाले सवारी आवागमन र यात्रा सहज बन्दै गइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले वताउनु भयो ।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण यातायात सञ्चालनमा कठिनाई देखिए पछि पहिरोले संकट ल्याएका धादिङका विभिन्न स्थलहरूमा जोखिम घटाउँदै यातायात सुचारु गरिएको प्रजिअ घिमिरेले जानकारी दिनु भयो ।

धादिङ र काठमाण्डौं जिल्लाको सिमानामा पर्ने झ्याप्ले खोलामा लेदोसहितको पहिरोले ३५ जना यात्रुको ज्यान गएपछि सो राजमार्गमा असुरक्षित महसुस गरिएको यात्रा अब भने बिस्तारै सहज बन्दै जान थालेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले राजमार्ग खण्डलाई सुचारु राख्न मर्मत सम्भार र पहिरो पन्छाउने कार्य जारी रहेकाले सवारी आवागमन सहज हुँदैछ । पहिरो खसिरहेको ठाउँमा धैर्यता, सावधानीपूर्वक यात्रा गर्न र प्रहरीसँग समन्वय गरेर मात्र यात्रा गर्न सुझाव दिनु भएको छ ।

छिटपुट रुपमा पहिरो झर्ने वा जोखिम भएका ठाउँमा तत्काल सम्बोधन गर्न धुनिवेसी झयाप्ले खोला, सुरुङमार्गको प्रवेश स्थल, खत्री पौवा पुल, गणेश मन्दिर इलाका, थाक्रे दुई कमेरे, गजुरी लगायतका बढी जोखिम भएका ठाउँमा सुरक्षाकर्मीहरू उपकरणसहित खटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

। उहाँका अनुसार उक्त सडकखण्डमा ठुला मालवाहक ट्रक सञ्चालनमा रोक लगाइएको छ भने रात्रिकालीन बसहरू सञ्चालन गर्न दिइएको छ ।

धादिङको गल्छी हुँदै नुवाकोटबाट काठमाडौँ आउन जान सकिने, धार्केबाट रामकोट सितापाइला हुँदै काठमाडौँ आउन जान सकिने, त्रिभुवन राजपथको बाटोमा साना सवारीलाई मात्र अनुमति दिने र पालुङ हुँदै हेटौडा निस्कने सहायक रुटहरू तोकिएका छन् ।

विपद्का समयमा राजमार्गका होटलहरुमा दैनिक अनुगमन भइरहेको भन्दै यात्रुहरूलाई पनि आफूलाई ठगिएको महसुस भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।