केटी बेचेको आरोपमा जेल परेका श्रीमानलाई छुटाउन आफैं बेचिइन् युवती

584 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bechiyako mahilaमाघ  – संविधानसभाको दोश्रोपल्टको चुनाव आउन ठ्याक्कै एक महिना बाँकी थियो । सिन्धुपाल्चोकका घ्याङ्गफेदीका रेशम तामाङ्ग (परिवर्तित नाम) लाई प्रहरीले पक्रियो । प्रहरीले घ्याङफेदीकै अर्को गाउँकी युवती बेचेको उजुरीका आधारमा रेशमलाई पक्रेको थियो ।

सिन्धुपाल्चोकबाट काठमाडौंसम्म पुगेपनि त्योभन्दा बाहिर कहिँकतै नगएका रेशमले कुनै केटीलाई बेचेको विश्वास धेरैलाई थिएन । उनको परिवारले त झन पत्याउने कुरै थिएन । र मानव बेचविखन जस्तो गम्भीर र संवेदनशिल मुद्दा भएकाले यो सजिलै ढिसमिस हुने कुरा भएन ।

श्रीमान पक्राउ परेपछि रेशमकी श्रीमती सञ्जु (परिवर्तित नाम) को भोकतिर्खा हरायो । श्रीमानलाई भेट्न पाइन्छ कि भनेर उनी काठमाडौं आइन् तर उनले श्रीमानलाई भेट्न सकिनन् । सञ्जु रेशमले बेचेको भनिएकी युवतीलाई भेट्न उनी बसेको ललितपुरको एउटा उद्धार केन्द्र र आश्रयस्थलमा पनि पुगिन तर त्यो संस्थाले पनि ती युवतीसँग भेट्न नमिल्ने बतायो ।

आफ्नो श्रीमानको कुनै कसुर नभएको विश्वास सञ्जुलाई थियो । तर परिबन्दले उनका पति रेशमलाई दोषी देखाइरहेको थियो । सञ्जुका अनुसार बेचिएकी भनिएकी युवतीले आफूलाई नाकको डिलमा कोठी भएको ब्यक्तिले बेचेको भनेकी थिइन् । रेशमको पनि नाकको डिलमा कोठी थियो । त्यही कोठीको हुलियाका आधारमा रेशमलाई प्रहरीले पक्रेको थियो । सञ्जु भन्छिन् ‘कतिसम्म भने मेरो श्रीमान र त्यो बेचिएको भनिएकी केटीलाई फेस टु फेससमेत पारिएन हचुवाका भरमा केटी बेचुवा भनेर खोरमा हालियो ।’

सोझो तरिकाले श्रीमानलाई छुटाउन त के भेट्न पनि नसक्ने भएपछि आजित भएकी सञ्जुको मनमा नयाँ उपाय आयो । सोझो औंलाले घिउ नआएपछि औला बँग्याउने सञ्जुको यो उपाय सिधै अपराध थियो । उनी पनि त्यो जान्दथिन् । तर बेकसुर श्रीमानलाई छुटाउन उनी जे गर्न पनि तयार थिइन् ।

काठमाडौंको गौशालामा रहेको माइती नेपालको कार्यालयमा घटना सुनाउँदै गर्दा भक्कानो फुटाएकी सञ्जुले भनिन् ‘मेरो दिमागमा कसरि मेरो लोग्नेलाई छुटाउन सक्छु भन्ने मात्र आइरहन्थ्यो । उनीहरुले मेरो लोग्नेलाई फसाउन सके भने म किन नसकौला ? यहि सोचेर मैले आफैं बेचिने निर्णय गरें ।’

काठमाडौंको बौद्धमा किराना पसल चलाएर बस्ने उनले १० हजार रुपैयाँको जोहो गर्दै गर्दा अदालतमा पुगेर आफ्नो लोग्नेविरुद्धको जाहेरीदेखि वादी प्रतिवादीका बयानको शुक्ष्म अध्ययन गरिन् । र त्यसै अनुसार उनी अघि बढिन् ।

त्यसदिन स्वयम्भुमा काठमाडौं दिल्लीको रुटमा चल्ने गाढी चढ्दा उनीसँग २ बर्षकी छोरी पनि थिइन् । गाडी सिधै दिल्ली पुग्ने भएकाले खास्सै गाह्रो भएन । दिल्ली पुगेको रात उनलाई निकै सकस भयो । कहाँ जाने कहाँ बस्ने निक्कै गाह्रो थियो । तरपनि उनले छोरीसहित सिंगो रात रेलको प्लेटफर्ममा विताइन् ।

जब भोलीपल्ट भयो फेरि टिकट काटिन् नेपाल फर्किने । नेपाल भारतको सिमा सुनौलीमा पुगेपछि उनी झरिन गाडीबाट र सिधै गइन माइती नेपाल । आफूलाई गाउँकै कान्छा तामाङ्ग (परिवर्तित नाम) भन्ने मान्छेले बेचेको र भागेर आएको बताएपछि आवश्यक प्रक्रिया पुरा गरि माइती नेपालले उनलाई काठमाडौं पठायो ।

माइती नेपालको केन्द्रिय कार्यालयमा आइपुगेपछि पनि उनले घटना यसरि बताइन् कि कसैले कुनै शंका गर्नै सकेन । ‘मलाई मात्र थाहा थियो म ढाँट्दै छु भन्ने’ उनले रुदै सुनाइन् ‘म जसरि पनि उनीहरुलाई सजाय दिन चाहन्थे मेरो मनमा मेरो लोग्नेलाई त उनीहरुले फसाए म किन उनीहरुलाई फसाउन सक्दिन भन्ने मात्र लागिरहन्थ्यो ।’

तर उनको यो तिकडम धेरै दिन टिकेन । सञ्जुले भनेको दिन उनले आरोप लगाएको ब्यक्ति गाउँमै भएको पुष्टि भएपछि उनले सत्य बोल्नै पर्‍यो । उनले आरोप लगाएका मान्छे उनका पति रेशमले बेचेको भनिएकी युवतीका आफन्त थिए । सञ्जु ती युवतीकै कारणले आफ्ना श्रीमान जेल परेको भन्दै उनका आफन्तसँग बदला लिन चाहन्थिईन् ।

२२ बर्षको इतिहासमा माइती नेपालमा पहिलोपल्ट आएको यस्तो घटनाले माइती नेपालको कानुनी शाखाका अधिवक्ताहरु सजनी जोशी र उमा तामाङलाई पनि अचम्ममा पारेको छ । ‘उनले घटनाबारे जानकारी गराउँदा हामीले अलिकति पनि शंका गर्न सकेनौं, प्रहरीले पनि कुनै अविश्वास गर्ने ठाउँ नै पाएन ।’ जोशी भन्नुहुन्छ ‘उनले आरोपित गरेको ब्यक्ति त्यो दिन गाउँमै रहेको प्रमाण भेटिएपछि मात्र उनले आफूले ढाँटेको स्विकारिन् ।’

कुनै फिल्मको कथा जस्तो लाग्ने यो सत्यघटना थाहा पाएपछि धेरैले यसलाई अन्यायले जन्माएको अपराधका रुपमा लिएको जोशीले बताउनुभयो । घटनालाई पुष्टि गर्न उनी आफैं दिल्ली नै गएको र त्यहाँबाट फर्किएको टिकट ल्याएको पाइएको र पुरै आत्मविश्वासका साथ सबै कुरा बताएको उहाँको भनाई छ ।

सञ्जुका श्रीमान रेशम अहिले पनि जेलमै छन् । उनीविरुद्धको मुद्दाको फैसला भइसकेको छैन । आफ्नो उपाय फेल भएपनि सञ्जु भन्छिन् ‘मैले कसैलाई चिनेको जानेको छैन । हामीलाई फसाउनेहरुको राजनीतिक पहुँच माथिसम्म छ । तर न्यायाधीसले हचुवाका भरमा त फैसला नगर्लान् नि । मेरो लोग्ने निर्दोष छ भन्ने कुरा पक्कै अदालतले थाहा पाउला । यहि आशा मात्र बाँकी छ ।’