श्रमसीपमा बराबरी -अन्तर्राष्ट्रिय महिला दिवस

452 पटक पढिएको

प्रकाशित मिति: २०७१, २४ फाल्गुन आईतवार ०६:३३

सम्पादक: धादिङ न्यूज

march_20150307084516काठमाडौं, फाल्गुन २४ – कृष्णलक्ष्मी छेताला यतिबेला एक पक्का सिकर्मी हुन् । भक्तपुरको सूर्य विनायकनजिकै उनको काठ कारखाना छ । तीन वर्षअघिसम्म उनको परिचय एउटा गृहिणीका रूपमा सीमित थियो ।

कृष्णलक्ष्मीले दुई वर्षअघि विश्व बैंकद्वारा सञ्चालित वयष्क (१५-२४ वर्षका) महिला रोजगार पहल कार्यक्रमअन्तर्गतको २ महिने सिकर्मी तालिम लिएकी हुन् । जुन तालिमले उनको जीवनमा ठूलो फेरबदल ल्यायो । ‘काम सिकेपछि मैले आफ्नै काठ कारखाना खोलें,’ छेतालाले कान्तिपुरसँग भनिन्, ‘पहिले पति (सीताराम) को मात्र कमाइले घर चलाउनुपथ्र्यो । निकै गाह्रो हुन्थ्यो । तर अहिले दुवैले कमाउँदा पैसाको चिन्ता हुँदैन ।’

सीताराम पनि सिकर्मी हुन् । अहिले दुवै जनाका सँगसँगै छुट्टाछुट्टै कारखाना छन् । उनले आफूले जानेको सीप दुई वर्षको अन्तरालमा अरू ६० जनालाई बाँडिसकेकी छन् । ‘केही त मेरै कारखानामा काम गरिरहेका छन्,’ दुई सन्तानकी आमाले भनिन् ।

पुरुषले मात्र गर्ने ठानिने काममा अब्बल दरिने नेपाली चेलीहरूको संख्या बढदै छ । उनीहरू लगावबाटै समानताको व्यावहारिक दृष्टान्त बन्न सफल भएका हुन् । भक्तपुरमै मोबाइल मर्मत गर्ने सरिता मङ्ग्राती, पाँचथरकी ब्युटिसियन मुना राई, कैलालीकी सूचीकार सोझा टमाटा, दाङकी इलेक्टि्रसियन शोभा चौधरीलगायत ती नाममा गनिन्छन्, जो श्रम र सीपको दुनियाँमा कायम भेद मेट्न सफल भएका छन् ।

सोझा युद्धकालमा माओवादी बनिन् । शान्ति प्रक्रिया सुरु भएपछि उनले कैलालीका युवकसँग विवाह गरिन् । २४ वषर्ीया उनका २ छोरी छन् । ‘भर्खर छोरी जन्मिएकी थिई, घरमा मलाई कसैले पनि सहयोग गर्दैन थिए,’ उनले कान्तिपुरसँग टेलिफोन वार्तामा भनिन्, ‘त्यही बेलामा बजारमा तीन महिने सिलाइ कार्यक्रम हुन लागेको थाहा पाएँ र गएँ ।’ काखे छोरी छोडेर सिलाइ सिक्न जानु कम्ता गाह्रो थिएन ।

प्रशिक्षण सकिएपछि वयष्क महिला रोजगार पहल कार्यक्रमले नै १० हजार ऋण दिई उनलाई सिलाइ मेसिन किनिदियो । बजारमा उनको अहिले आफ्नै पसल छ । जेठी छोरीलाई बोर्डिङ पढाउने, सानी २ वषर्ीया छोरीसहित पूरै परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ । भन्छिन्, ‘अरूले नकमाएपछि मैले नै हेर्नुपर्‍यो नि ।’ परिवारले अहिले उनलाई सम्मानपूर्वक व्यवहार गर्छ ।

मुना आफ्ना तीन बहिनी र एक भाइलाई पढाउनुका साथै घरमा बा-आमालाई सहयोग गर्न समेत भ्याउँछिन् । उनको यासोक बजारमा ब्युटिपार्लर छ । दुई वर्षअघि उनले झापाको दमकमा आएर ३ महिने ब्युटिपार्लर टे्रनिङ लिएकी थिइन् । त्यसपछि उनले बा-आमालाई भनेर साहुबाट ९० हजार रुपैयाँ ऋण लिइन् । उनको ब्युटिपार्लरमा अहिले एक लाखभन्दा बढीका सामान छन् ।

भक्तपुरकी सरिता मङग्राती मोबाइल मर्मत गर्छिन् । उनले ७ महिनाअघि ३ महिने प्रशिक्षण लिएकी हुन् । सुरुमा उनले बागबजारको एक मोबाइल पसलमा काम गरिन् । अहिले उनको आफ्नै पसल छ र अन्य महिलालाई पनि मर्मत कला सिकाउँछिन् । ‘परिवारलाई सहयोग हुने जति कमाउँछु,’ ८ महिनाअघि विवाह गरेकी उनले भनिन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्या (२,६४,९४,५०४) को ५१.५० प्रतिशत (१,३६,४५,४६३) महिला छन् । पछिल्लो समय महिलाहरू शैक्षिक रूपमा समेत पुरुषभन्दा अघि  लागेका छन् । यसपटकको एसएसली परीक्षा दिनेमा छात्रा बढी छन् । ४ लाख २६ हजार २ सय १४ परीक्षार्थीमध्ये २ लाख १३ हजार ७ सय १० जना छात्रा छन् ई कान्तिपुर डट कमले खबर लेखेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, २४ फाल्गुन आईतवार ०६:३३ मा प्रकाशित