दृष्टिविहीन धादिङकी सावित्री जस्ले प्राथमिक शिक्षकमा पहिलो नम्बरमा नाम निकालिन पहिलो नम्बरमा नाम निकालेपनि रोजाईको बिद्यालय पढाउन जान बञ्चित

346 पटक पढिएको

सम्पादक: Dhading News

जेष्ठ २१, २०८१
काठमाडौँ — प्रस्ट बोली । खरो स्वभाव । पढाइमा तीक्ष्ण । धादिङ थाक्रे गाउँपालिका–१० पौडेलथोककी सावित्री पौडेल जन्मजात दृष्टिविहीन हुन् । तर केही समययता भने उनी अध्यापनमा खटिरहेकी छन् । ३२ वर्षीया पौडेलले शिक्षक बन्नका लागि भने जीवनमा निकै संघर्ष गर्नुपर्यो, निकै कष्ट व्यहोर्नुपर्यो ।
गाउँघरमा उनलाई ‘आँखा नदेख्ने मान्छे पढ्न सक्दिनँ के गरेर खान्छे’ भन्ने धेरै थिए । तर परिश्रमी र लगनशील उनी शिक्षक सेवा आयोगबाट प्राथमिक तह खुल्लातर्फ नाम निकाल्न सफल भइन् । हाल उनी रसुवाको कालिका गाउँपालिका–३ स्थित कटुन्जेको मनकामना प्राथमिक विद्यालयमा पढाउँछिन् ।
पहिलो नम्बरमा नाम निकाले पनि आफूलाई गाउँपालिकाले विद्यालय रोज्न नदिएको बताउँछिन् पौडेल । ‘नियमले मेरिटमा अगाडि पर्नेले रोजेको विद्यालयमा पढाउन पाउनुपर्ने हो,’ उनी भन्छिन्, ‘तर मैले त्यो पाइनँ ।’ उनी शिक्षक बन्ने बाटोमा त्यसै पुगेकी भने होइनन् । गाउँमा ‘ब्रेल लिपि’ बाट पढ्ने विद्यालय थिएन । ‘एक/दुई दिन विद्यालय गएँ, कहिले हिँड्दाहिँड्दै बाटोमै लड्थें, कहिले आहालमा पर्थें,’ उनी बाल्यकालमा पढ्नका लागि भोगेको पीडा सुनाउँछिन्, ‘त्यो बेला गाउँको विद्यालयमा ब्रेल लिपि थिएन, सरले पढाएका कुरा सुन्थें, दिमागमा राखेर घर फर्कन्थें ।’
यही बीचमा गाउँकै मथुरा पौडेल भेटिइन् । उनले दृष्टिविहीनले पनि पढ्न सक्छन् भनेर सावित्रीलाई हौसला दिइन् । उनको परिवारलाई पनि यो कुरा सुनाइन् । ‘दृष्टिविहीनहरू सेतो छडीको सहारामा स्वावलम्बी भएर आफैं हिँड्डुल गरेको देखेको छु, तिम्ले पढेऊ भने केही गर्न सक्छौ भन्नुहुन्थ्यो,’ पौडेल मथुराले भनेका कुरा सम्झिन्छिन्, ‘बुवाआमालाई पनि भन्नुभयो, त्यसपछि गाउँमै एक जना अंकलले ललितपुरको लगनखेलमा दृष्टिविहीन अध्ययन गर्ने विद्यालय छ भन्ने थाहा दिनुभयो ।’ पछि विद्यालय फेला पारेर २०५५ साल वैशाख १३ गतेबाट ब्रेल लिपिमार्फत पढाइ हुने विद्यालयमा उनले पाइला टेकिन् । जुन विद्यालयको नाम हो, नमुना मछिन्द्र आवासीय माध्यमिक ।
‘पहिला स्रोत कक्षामा भर्ना भएँ, त्यहाँ भर्ना भएपछि ब्रेल सिक्न थालें,’ उनी भन्छिन्, ‘एक वर्षसम्म स्रोत कक्षा पढें, त्यसपछि दुई कक्षाबाट विषयगत रूपमा पढ्न थालें ।’ १० कक्षासम्म उनी यही विद्यालयमा पढिन् । २०६४ सालमा ७५ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण भइन् । प्लस टु पढ्न क्यास्पियन भ्याली कलेज कुमारीपाटीमा भर्ना भइन् । २०६७ सालमा ६७ प्रतिशत अंक ल्याउँदै प्लस टु सकिन् । प्लस टुमा उनले अनिवार्य अंग्रेजी, समाजशास्त्र र पत्रकारिता लिएर पढेकी थिइन् ।
‘शिक्षकले पढाएको सुनेर ब्रेल लिपिको सहारामा नोट बनाउँथें, ब्रेलमै सबै पढें,’ उनले भनिन्, ‘स्नातक पढ्न स्वप्न बाटिका एकेडेमीमा भर्ना भएँ ।’ त्यसपछि अनिवार्य अंग्रेजी र समाजशास्त्र लिएर पढ्न थालिन् । स्नातक तहमा सरले पढाएको सुनेको भरमा उनी आफू पढ्थिन् । ‘युट्युबमा सुनेर पनि पढ्न मिल्थ्यो, तर त्यो मेरा लागि पहुँचमा थिएन,’ उनी भन्छिन्, ‘त्यो बेलासम्म म प्रविधिमा पोख्त भइसकेको थिइनँ, त्यसैले ब्रेल लिपि नै प्रयोग गरें । सरले पढाउँदा रेकर्डर बोकेर जान्थें, रेकर्ड गरेको सुनेर थप अध्ययन गर्थें ।’
०७१ मा स्नातक सकेपछि उनी स्नातकोत्तर पढ्न रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस भर्ना भइन्, तर पढाइ नियमित गर्न सकिनन् । ‘०७२ सालबाट स्नातक तहमा लेखा, कम्प्युटर, बाली विज्ञान, अंग्रेजी, गणितलगायत विषय लिएर पढेकालाई माध्यमिक तहको शिक्षण लाइसेन्स दिने भन्ने भयो, त्यसपछि लाइसेन्स लिएँ,’ उनले भनिन् । त्यसका लागि उनले ०७६ मा एकवर्षे बीएड गरिन् । ०७४ सालमा रसुवामा उनले चिनेका विद्यालय निरीक्षक दीपक माझीले सेती भूमे विद्यालय राम्चेमा राहत दरबन्दीमा शिक्षकका लागि आवेदन खुला गरिएको सूचना दिए । प्रतिस्पर्धामा उत्तीर्ण उनले ०७४ माघ १५ बाट राहत शिक्षकका रूपमा पढाउन सुरु गरिन् । ०८० चैत २५ गतेसम्म त्यहाँ पढाइन् ।
‘म विद्यालय भनेपछि मरिमेट्ने मान्छे हो,’ उनले भनिन्, ‘त्यसैले अन्य शिक्षकले भन्दा धेरै कक्षा लिन्थें । बाध्यताले नभई रहरले हो ।’ राहत शिक्षकका रूपमा पढाउने क्रममै उनी शिक्षक सेवा आयोगको परीक्षामा जुट्न थालिनँ । अनलाइन कक्षाहरू लिइन् । शिक्षाबारे पढाउने युट्युब च्यानलमा आएका कुरा पनि सुन्न थालिन् । ‘आँखा देख्नेहरूले सहजै मिहिनेत गर्न सक्नुहुन्थ्यो । उहाँहरूको तुलनामा मैले दोब्बर बढी मिहिनेत गर्नु पर्थ्यो । त्यसैले नसुती नसुती पनि पढें,’ उनी भन्छिन्, ‘०८० जेठ १९ मा भएको पहिलो पत्रको नतिजा असार १ मा आयो, त्यसमा पास भएँ ।’
त्यसपछि दोस्रो परीक्षा हेटौंडामा हुने भयो । उनले रसुवाकै लागि भनेर आयोगको फर्म भरेकी थिइन् । ‘प्रतिस्पर्धाको परीक्षा हो, प्राविमै पनि नाम निस्कन्छ/निस्कँदैन भन्ने थियो,’ उनी भन्छिन्, ‘जसले गर्दा यहीबीचमा मावि तहको शिक्षकका लागि आह्वान गरिएको फारम भरिन् ।’ तर उनका लागि आफ्नै समस्या पनि थियो । परीक्षामा कसले लेख्देला भन्ने । ‘कसरी लेखिदेला, लेख्दिन्छु भन्ने मान्छे आउला/नआउला भन्ने पनि चिन्ता थियो,’ उनी भन्छिन्, ‘अन्ततः हेटौंडाकै आयुस्मा भण्डारीको सहयोगमा प्रावि तहमा नाम निकाल्न सफल भएँ ।’ ०८० असोज १३ गते परीक्षा दिएकी थिइन् उनले । परीक्षामा सोधिएका प्रश्नको उत्तर उनले भन्दै गइन्, आयुस्माले कपीमा लेख्दै ।
‘धेरै साथीहरूले माध्यमिक तहको परीक्षा देऊ, तिमी सक्छौ भन्थे, तर म प्राविबाटै सुरु गर्छु भन्नेमा थिएँ,’ उनले भनिन्, ‘रसुवाबाट दिन्छु, पास भएँ भने विद्यालय रोज्न सजिलो हुन्छ भनेर यहींबाट फारम भरें ।’ उनलाई फारम भर्न भने धादिङकी सीता राउतले सहयोग गरेकी थिइन् । शिक्षा सेवा आयोगका लागि ०७९ देखि उनले तयारी थालेकी थिइन् । ‘मैले आटर््स पढें, फेरि एकवर्षे बीएड मात्र गरें,’ उनले भनिन्, ‘फागुन २१ मा अन्तर्वार्ता भयो, जिल्लाभरबाट प्रावि तहमा पहिलो पेपरमा ५५ जनाले नाम निकालेका थिए । पछि दोस्रो परीक्षामा २५ जनाको मात्र नाम निस्कियो ।’ अन्तर्वार्ताका क्रममा उनलाई सोधिएको थियो– नेपाल सरकारलाई तपाईंको सुझाव के छ ? उनले जवाफ दिएकी थिइन्, ‘दलित र मुस्लिम महिलालाई क्रमशः ३ र २ प्रतिशत कोटा भएझैं दृष्टिविहीनका लागि पनि कोटा छुट्टै हुनुपर्छ ।’
पौडेल परीक्षामा पास भएको खबर भने फारम भर्न सहयोग गर्ने सीताले सुनाएकी थिइन् । उनले फोन गरेर एक नम्बरमा नाम निस्किएको छ भन्दा सुरुमा पत्याइनन् उनले । ‘एक नम्बरमा नाम निस्कयो, अब छानेको विद्यालयमा पढाउने हो,’ उनी सीतासँगको कुराकानी सम्झिन्छिन् । कुराकानीकै क्रममा सीताले भनेकी थिइन्, ‘एक त तपाईं अपांग अनि महिला । जहाँ रोज्यो त्यहीं पाउनुहुन्छ ।’ उनले कालिका हिमालय माध्यमिक विद्यालय रोजिन् । तर कोटा नभएको भन्दै रोजेको ठाउँ पाइनन् ।
शिक्षा विकास तथा समन्वय इकाईले कालिका गाउँपालिका पठायो । कालिका गाउँपालिकाले पहिलेकै विद्यालयमा पढाउन भन्यो । वडाध्यक्ष, अभिभावक, विद्यार्थीले रुचाएका छन् भन्दै कालिका गाउँपालिकाले आफ्नो मान्छे राख्ने गरी उतै बस्न भनेको उनको आरोप छ । ‘आफ्ना–आफ्ना मान्छे राख्न कोटा राखिन्छ, म उनीहरूको मान्छे परिनँ । म अपांगलाई वडा २ र ५ ले राख्न नमानेको कुरा सुनें,’ उनी भन्छिन्, ‘गाउँपालिकाले राम्चेमै बस्न भनेपछि म शिक्षा मन्त्रालय धाएँ, शिक्षामन्त्री सुमना श्रेष्ठले तपाईंको पक्षमा कार्यविधि बन्छ । भोलि फेरि तपाईंको जागिरमाथि प्रश्नचिह्न आउन सक्छ, त्यसैले यस्तो नगर्नू, गएर नियुक्ति बुझेर काम गर्नू भनेपछि फर्किएँ ।’
०८१ वैशाख ८ गते निम्न माध्यमिक विद्यालय तहको परीक्षा थियो । तर उनले तयारी गर्न पाइनन् । ‘मेरो हकअधिकार पाउनुपर्छ भनेर लागें । आँखा नदेख्ने भएकै कारण मलाई विद्यालयहरूले राख्दैनन् भने छोड्नेवाला छैन,’ उनी भन्छिन्, ‘कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेश न्यौपानेलाई पीडा सुनाउँदै डाकै छाडेर रोएँ । मैले एक नम्बरमा नाम निकालेको हो, ममाथि किन अन्याय गरियो भन्दा पनि मेरो आवाज सुनिएन ।’
गत वर्षको एसईई परीक्षाको नतिजाअनुसार आफूले पढाएका विद्यार्थीले सबैभन्दा बढी ‘ए’ ल्याएका उनको दाबी छ । ‘मेरिट लिस्टका आधारमा विद्यालय छान्न नपाउने यो कस्तो अन्याय हो ?’ उनी भन्छिन्, ‘पालिका अध्यक्षले उल्टै तपाईंको पालिका होइन, मेरो पालिका हो भन्दै मैले जे भन्छु, त्यो हुनुपर्छ भन्नुभयो ।’ शिक्षामन्त्री श्रेष्ठको भनाइपछि उनी मनकामना प्रावि जाने निधो गरिन् । विद्यालय पुगिन् । प्रधानाध्यापक शिशिर न्यौपानेबाट भने निकै सहयोग पाएको उनको भनाइ छ । दृष्टिविहीनलाई दया देखाउनेभन्दा पनि अवसर दिए जस्तोसुकै काम गर्न सक्ने उनको भनाइ छ ।
राम्चेमा कक्षा १० सम्म गणित र विज्ञानबाहेक सबै विषय पढाउँथिन् उनले । अहिले भने कक्षा ३ सम्म पढाउँछिन् । ७ वर्षसम्म काम गरिसकेकाले पनि उनी अर्को विद्यालयमा जान चाहन्थिन् । ‘ममा के खोट छ, मलाई भन्नुपर्यो, म सुधार्छु,’ उनी भन्छिन्, ‘होइन भने मेरो आँखा नदेख्ने कुरालाई कमजोरी ठानिन्छ भने त्यो सरासर गलत छ ।’ अहिले पढाइरहेको विद्यालय कालिका गाउँपालिकाभित्रै पर्ने भएकाले त्यहाँको दरबन्दी कालिका हिमालयमा सारिदिन उनको माग छ । पछिल्लो समय शिक्षामा पनि राजनीति भएको देख्दा भने मन साह्रै दुख्ने बताउँछिन् पौडेल ।
हाल भने उनी निमावि तहको परीक्षामा पनि व्यस्त छिन् । ‘पहिलो पेपरको परीक्षा पास गरिसकें, दोस्रो पेपरको परीक्षा भदौ ८ गते छ,’ उनले भनिन् । सेतो छडीको सहारामा हिँड्डुल गर्ने उनले अध्यापनका क्रममा ७ वर्षसम्म एक्लै संघर्ष गरिन् । पछिल्लो समय भने विनिता तामाङ साथमा छिन् । ०७२ सालको भूकम्पमा आमा गुमाएकी विनिताले उनलाई सघाउँछिन् पनि । विनिता कालिका हिमालयमा कक्षा १० मा पढ्छिन् ।’ पौडेलको घरमा बुवाआमा, दाइ, भाइ, दिदी र बैनी छन् । बैनी लक्ष्मी नुवाकोटमा एचए छिन् । बुवाआमा कृषी पेसामा आबद्ध छन् । तर उनको शिक्षकमा नाम निस्किएपछि भने परिवारका सबै दंग छन् ।
– विमल खतिवडा/कान्तिपुर