तामाङ जातिमा प्रचलित विवाह संस्कार
4162 पटक पढिएको
ङ्याङ तामाङला ग्योतरिमी,
ब्रेल्साङ स्याङ्बा बेलारी,
गोम्बोला लामा त डेन्दोबा,
साङ् तेन सेरग्याम लातोबा,
टासी मोलम फुल्तोबा, डम्फु रप्सी स्यतोबा ।
(तामाङ, सिङमान ः तामाङ जाति, वि.२०६८)
नेपाल बहु जाति, बहु धार्मिक र बहु सांस्कृतिक देश हो । जनगणना वि.सं २०६८ को प्रतिवेदन अनुसार १२५ जात जाति र १२३ भाषा रहेको पाइन्छ । विविधतामा एकता भएको सुन्दर फुलवारी नेपाल हो । तामाङ जाति आदिवासी जनजाति उत्थान प्रतिष्ठानमा सुचिकृत एक महत्वपूर्ण आदिवासी जनजाति हो । तामाङ जातिसँग आफ्नै संस्कार, संस्कृति, रहनसहन, वेशभूषा, कला, लोक साहित्य लगायतका मौलिकताहरू मौजुत छन् । यसैमा तामाङ लगायतका आदिवासीहरू गर्व महसुस गर्दछन् । तामाङ जातिमा आफ्नै प्रकारको विवाह प्रचलन रहेको छ । यिनीहरूको समाजमा मामाचेली–फुपूचेला, मामाचेला–फुपुचेलीबिच बैवाहिक सम्बन्ध प्रचलित छ । जहाँ एक पति र एक पत्नी विवाह प्रथाले प्राथमिकता पाएको छ ।
विवाह यौन सम्बन्ध र सन्तान उत्पादन गर्ने एक बैधानिक संस्था हो । विवाहबाट नाता सम्बन्धको विकास गराउँदछ । त्यसैले सामाजिक र वंशावली चलाउने हिसावले पनि विवाह अनिवार्य कार्य हो । तामाङ जातिमा मागी विवाह, भागी विवाह र जारी विवाहको प्रचलन पाइन्छ । जुन किसिमबाट विवाह गरेता पनि निश्चित संस्कारमा सामेल नभएसम्म समुदायले मान्यता दिइदैन । भागी र जारी विवाह महिला पुरूष जात्रा मेला वा अन्यत्रबाट भाग्दछ । तर मागी विवाहमा भने केटा पक्ष केटीको माइतीमा गई सगुन बिसाउनु पर्दछ । सगुन लग्दा एक पोङ रक्सि, एक माना चामल अनिवार्य रुपमा लानु पर्दछ । अन्य लत्ताकपडा, गरगहना भने ऐच्छिक हुन्छ । केटा पक्षकाले नाङ्लो माथी चरेसको थालमा सगुन राखेर सल्लाह गर्दछन् । राजी भएमा केटीले सगुन पोङ छुनु पर्दछ र पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्दछ । पोङमा रहेको घिउ केटा केटीले ग्रहण गर्नु पर्दछ । यस विधि पश्चात केटीलाई सोही दिन वा साइत हेरेर अनुकुलतामा केटाको घरमा लान सकिन्छ । यसलाई विवाहको पहिलो विधि मानिन्छ । बले स्योन नगरेसम्म माइतीले भेट्न नहुने चलन छ ।
केटाको घरमा लगेको तिन वा अन्य विजोर दिनमा बले स्योन विधि गर्नु पर्दछ । यस दिनमा दुलहीको मावाली, बुबाका अच्योन र आमाको अनेनच्योनहरू सामेल हुन्छन् । मावाली भन्नाले दुलहीको आमाको दाज्युभाइ हुन्, अच्योन भन्नाले केटीको बुबाको आफ्नै दाज्यु भाइ हुन् भने अनेनच्योन भन्नाले आमाका दिदीवहिनी हुन् । त्यस दिनमा “मैले छोरी यो ज्वाइँको जिम्मा लगाए अस्ति जानकारी दिन पाइन लौ दाजु भाइ हो अब यो मेरो मात्रै हैन हाम्रो ज्वाइँ भयो मर्दा पर्दा गाह्रो अफ्टेरोमा काम लगाउनु” भनेर केटी बुबाले आफ्ना दाइ भाइलाई सुनाउँछन् । एक एक गरेर चिनाउदै दुलहा दुलही दुबैले त्यहाँ उपस्थित निम्तालुहरूलाई ढोग गर्न लगाउँछन् । निम्तालुहरूले आशिर्वाद र गक्ष अनुसारको दक्षिणा दिन्छन् । सोही दिनमा स्युमे (सासु) हरू चिनाउँदछन् । स्युमे भन्नाले श्रीमतिका दिदीहरू हुन्, जसलाई ज्वाँइले छोइ बार्नु पर्दछ । यस दिनमा दुलाहाको घरबाट एउटा कुखुरा लगेर माइतीमा छाड्नु पर्दछ । अर्को दिन प्रत्येक निम्तालुले घर बाट एक एक थुन्से अन्न ल्याएर घरसम्म गीत गाउदै पुर्याउँदछन् ।
विवाहको तेस्रो विधिलाई न्हाङ डोन (भित्री भोज) भनिन्छ । समयको किटानी नभए पनि न्वारनभन्दा अगाडि भए वेस भन्नाले एक वर्षको आसपासमा बुझिन्छ । यसमा दुलहीको मावाली, बाजेका सन्तानहरू तथा एक डलाका माइतीका व्यक्तिहरू र आमा तर्फका आफन्तहरू बोलाउँछन् । एक माना रक्सि, तिन माना चामल समेत दिनु पर्दछ । अन्य सगुन तरकारी मासु पनि दिनु पर्दछ । भोलिपल्ट अन्न समेत ल्याई घरमा पुर्याउँदछन् । यसलाई अलि ठुलो वा सानो गर्ने भन्नेबारे विमर्श हुने गर्दछ ।
विवाहको चौथो विधिलाई बोल भनिन्छ । बोलमा आफन्त भनेर चिनिएका सबैलाई निम्ता दिइन्छ । यसको समय किटान नगरिए पनि छोराको छेवरभन्दा अगाडि हुनु पर्दछ । बोल वास्तवमा तामाङ जातिको विवाहको अन्तिम विधि हो । बोलको दिनमा पाँच वटा पोङ राख्नु पर्दछ । यस दिनको विवाहको लागि भने ज्योतिष वा लामाले साइत जुराउनु पर्दछ । साइत अनुसार दुलहा दुलहीसँगै बसी साइत हेर्नेले सङ्केत गरे अनुसार दुलहा र दुलही कै बुबाहरूले मासु र आमाहरूले दुध खुवाइन्छ । पालोपालो दुलहालाई सेतो क्र्याकी र दुलहीलाई रातो क्रकु लगाइ आशिर्वाद दिन्छन् । टिका स्वरूप नोट लगाइ दिन्छन् । पञ्चले आफ्नो भागमा राखेको पोङ समाएर “आजदेखि फलनाको नाति फलनाको छोराले फलनाकी नातिनी फलनाकी छोरी विवाह गरेको हो । अबदेखि मैले यिनीहरूको रित खाए । नेपाल सरकारको कानुन बमोजिम केटाले हेला गरेमा म साक्षी बसिदिएर कुरा मिलाउला, केटी भागी गएमा खोजी ल्याउला भनी यो सबैको सामु वचन राखे” भन्दछन् । त्यस पछि लगातार आमन्त्रितहरूको पालो आउँदछ । दुलहा दुलहीले आशिर्वाद ग्रहण पश्चात न्हङ डोनमा आमन्त्रितहरूलाई क्र्याकी र क्र्कुुद्वारा सम्मान व्यक्त गरिनु पर्दछ ।
त्यहाँ राखिएका पोङहरूमध्ये एक वटा मावालीको, एक वटा आमाको, एक वटा बुबाको, एक वटा पञ्च भलाद्मीको र अर्को सामूहिक हुन्छ । पोङ लिए वापत मावलीले भैंसी, बुबाआमाले बाख्रा दिनु पर्दछ । सामूहिक पोङको लागि प्रत्येक निम्तालुले केही न केही दिने गर्दछन् । न्हङ डोनमा सामेल भएकाहरूले भाँडा दिनु पर्ने प्रचलन छ । भोलीपल्ट सबै निम्तालुले एक थुन्से अन्न समेत लगेर घरमा पुर्याउने गर्दछन् ।
तामाङ जातिमा विवाहको यो अन्तिम विधि नगर्दै श्रीमान वा श्रीमतीमध्येमा कोही मृत्यु भएमा थङ्सिङ पासमसँग विवाह गरेर मात्र जुठो बार्न वा फुकाउन पाउने चलन छ । त्यसैले यो अन्तिम विवाह विधिलाई सम्पन्न गर्नु अनिवार्य छ ।
तामाङ समाजमा विवाह पश्चात् पनि चेलीको थर परिवर्तन हुँदैन । विवाहको अवसरमा तामाङ रीतिरिवाजको चाँजो मिलाइ सकेपछि विवाहको लगनमा लामा वा ताम्बा भन्नु हुन्छ डिन्छेन् आपाला का, डिन्छेन आमाला स्या, म्हाला स्यापरी प्रात्ची, रूइवाला चरि फम्युङला छ्यारिन मुला अर्थात् बाबुको रगत, आमाको मासु ज्वाइँलाई सुम्पियौँ तर चेलीको अस्थि माइतीको अधीनमा नै छ भनी लेखक अमृत योञ्जनले उल्लेख गरेका छन् । तामाङ समाजमा अस्थिलाई थरको प्रतीक मानिन्छ । यस प्रकारका व्यवस्थाले माइती चेलीको सम्बन्धलाई निकै बलियो बनाएको छ ।
विवाहपछि पति पत्नीको मन नमिलेमा हुने सम्बन्ध विच्छेदको घटना पारिवारिक हिसावले दुःखदायी भए पनि सामाजिक रूपमा यसलाई सामान्य मानिन्छ । यस्तो घटना अति न्यून देखिन्छ । केटा र केटी दुबैको उमेर दुई लेकोर अर्थात् २४ वर्ष पुगेमा उनीहरु विवाह गर्न योग्य मानिन्छन् । वैज्ञानिक हिसावले पनि यो उमेर शारीरिक र मानसिक रूपमा विकसित अवस्था हो ।
अहिले तामाङ जातिको विवाह संस्कारबारे गहन विश्लेषण, चर्चा र वहस भइरहेको छ । मामाचेला फुपुचेली, मामाचेली फुपुचेलाबिचमा विवाह गर्न नहुने चर्चा आएको छ । वैज्ञानिक तथ्यको हवाला दिएको यस विचारसँग असहमतहरूले अहिलेसम्म तामाङ जातिले लगातार विकास गरिरहेकोले वंश असभ्य, अशिक्षित र अज्ञानी हुने तर्कको खण्डन गरेका छन् । विवाहमा प्रयोग गरिने सगुनको विषयमा पनि विवाद हुने गरेको छ । नेपाल तामाङ घेदुङले प्रकाशित गरेको सांस्कृतिक निर्देशिकामा मादक पदार्थ प्रयोग गर्न नमिल्ने उल्लेख गरिएता पनि गाउँघरमा यो परम्परा अझै प्रचलित छ ।
तामाङ विवाह बढी खर्चिलो छ । यसमा प्रयोग गरिने कथन, प्रचलन र तरिका ठिक भए पनि भोज भतेरमा रम्ने यो चलन आधुनिक व्यस्त समाजको लागि बोझ हुन सक्छ । एकै पटकमा विवाह सिध्याउन सकिन्छ भन्ने आवाज उठेको छ । तामाङ विवाह तामाङ पहिचानको एक महत्त्वपूर्ण प्रचलन भएकोले यसको संरक्षण गर्नुपर्ने जरूरी पनि छ । त्यसैले यसको मूल मर्म र सन्देशमा फरक नपर्ने गरी समायोजन गर्न पहल गर्नु पर्दछ ।
लेखक ल्हप्साङकर्पो क्षेत्रका तामाङ लोक साहित्यबारे अनुसन्धानरत अध्यता हुनुहुन्छ ।,