रूविभ्यालीमा पहिरोमा पुरिएका एकको भेटियो शव

775 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ (१ माघ, २०७८) । धादिङको रूविभ्यालीमा पहिरोमा परेर डोजरसँगै पुरिएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल धादिङका प्रहरी नायव उपरीक्षक यमुना सिम्खडाका अनुसार रूविभ्याली गाउँपालिका–१ पुरुमा बिहीबार बिहान सडक निर्माणका क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जनामध्ये एक जनाको शव भेटिएको हो । भेटिएको शवको सनाखत हुन भने सकेको छैन ।

पहिरोले पुरिएर बेपत्ता हुनेहरुमा स्थानीय २५ वर्षीय अनिश तामाङ, काभ्रे घर भएका स्काभेटर चालक २७ वर्षीय आकाश तामाङ र सहचालक २० वर्षीय राजु तामाङ रहेका छन् ।

बेपत्ताको खोजीका लागि  नेपाली सेना र सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयबासी खटिरहेका छन् ।

घटनास्थल जिल्लाकै उच्चभूभाग भएकाले अति चिसो र हिउँसमेत परिरहेको स्थानीयले बताएका छन् । सदरमुकाम धादिङबेँसीबाट दुईदिनको पैदल यात्रापछि पुग्न सकिने रूविभ्याली गाउँपालिका वडा नम्बर १ पुरुबाट लिङ्जो जोड्ने ग्रामीण सडकको नयाँ ट्रयाक खन्ने क्रममा पहिरो खसेर दुर्घटना भएको हो ।

  • तस्बिर –  मुग्लानी खबरबाट