निर्वाचन आयोगलाई हेप्दा धादिङका २ हजार ८३ जना उम्मेदवार परे जरिवानामा

451 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, ५ असोज – तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि वेवास्था गरेर बिबरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो ।
धादिङको १३ स्थानीय तहमा निर्वाचित २६ जना मध्ये ६ जना प्रमुख र ४ जना उपप्रमुख जरिवानामा परेको निर्वाचन आयोगले जनाएको छ ।
रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ,खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ, त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेती, थांक्रेका अध्यक्ष रामकुमार आचार्य र वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर थपलिया ( बिबेक)लाई आयोगले जनही तीन लाख ५० हजार जरिवाना तोकेको छ ।
यसैगरी जिल्लाको चार गाउँपालिकाका निर्वाचित उपाध्यक्षहरु पनि जरीवानामा परेका छन् । आयोगका अनुसार थांक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा, वेनिघाटरोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठ,रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङ र गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले पनि जनही तीन लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।
जिल्लाको धुनिबेसी र नीलकण्ठ नगरपालिकाका प्रमुख, गल्छी,सिद्धलेक, नेत्रावती डवजोङ,गंगाजमुना र ज्वालामुखी गाउँपालिकाका अध्यक्षले निर्वाचन खर्च विवरण समयमै बुझाएको कारण जरिवानाबाट बचेका छन् ।
निर्वाचन खर्च नबुझाउनेमा अधिकांश पराजित उम्मेदवार रहेका छन भने निर्वाचित भएका धेरैजना वडा अध्यक्ष, महिला तथा दलित महिला सदस्य, सदस्य, कार्यपालिका सदस्य समेत जरिवानामा छन् । आयोगले नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख पचास हजार, वडाअध्यक्ष र सदस्यहरुलाई २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यहरुलाई १ लाख ५० हजार जरिवाना तोकेको छ ।
गत स्थानीय निर्वाचनमा उम्मेदवार भई विजयी भएका तथा पराजित भएका समेत गरी १४ सय ७७ जनाले जनही एक लाख ५० हजार, एक सय ५१ जनाले जनही ३ लाख ५० हजार, चार सय २६ जनाले जनही २ लाख र २९ जनाले जनही ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
चार लाख ५० हजार जरिवाना लागेकाहरुमा नीलकण्ठ नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका काजी श्रेष्ठ ( स्वतन्त्र),कलबहादुर बिक ( जनजागरण पार्टी नेपाल), गंगादेवी श्रेष्ठ( नेकपा एमाले), टिकाबहादुर भण्डारी ( स्वतन्त्र),ताराला धरेल (स्वतन्त्र), प्रेमबहादुर गुरुङ(स्वतन्त्र),बलराम लम्साल( स्वतन्त्र), बोदनाथ दुवाडी (स्वतन्त्र) उम्मेदवारहरु रहेका छन ।
त्यसै गरी नीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएका कल्पना अधिकारी ( स्वतन्त्र), कोपिला परियार ( जनजागरण पार्टी नेपाल), पार्वती कोइराला(राप्रपा),फन्द्रा तामाङ ( नेकपा एमाले),समिता तामाङ ( मंगोल नेशनल अर्गनाईजेशन) र हरिबहादुर लम्साल ( स्वतन्त्र)लाई पनि ४ लाख ५० हजार जरिवाना लगाईएको छ ।

नीलकण्ठ पछि जिल्लाको धुनिबेसी नगरपालिकामा प्रमसख पदमा उम्मेदवारी दिएका सुनिल तामाङ ( मंगोल नेशनल अर्गनाईजेशन),केशव धिताल(राप्रपा),गणेशप्रसाद पाठक ( स्वतन्त्र), गणेश बहादुर रेग्मी(स्वतन्त्र),रामराजा पाण्डे ( नेकपा एमाले),रामशरण उप्रेती (स्वतन्त्र) र सन्तोष राना (स्वतन्त्र)लाई जनही ४ लाख ५० हजारका दरले जरिवाना लगाईएको निर्वाचन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
यसै गरी धुनिबेशी नगरपालिकाकै उपप्रमुख पदमा उम्मेदवारी दिएका कोपिला तामाङ( मंगोल नेशनल अर्गनाईजेशन),दिपक ठकुरी ( स्वतन्त्र), दिलिप पाठक ( स्वतन्त्र), नवराज भारती(स्वतन्त्र), प्रमोद गिरी ( स्वतन्त्र), मन्दिरा श्रेष्ठ . नेकपा एमाले),राममाया लामा(स्वतन्त्र) र विना अधिकारी (राप्रपा)लाई पनि जनही ४ लाख ५० हजारका दरले जरिवाना तोकिएको छ ।
निर्वाचन आयोगले जरिवाना लगाएका गाउँपालिका तर्फको उम्मेदवारहरुको अभिलेख हेर्दा १ लाख ५० हजार तिर्नु पर्ने सुचीमा रहेकाहरुमा थांक्रेमा १ सय ९१,खनियाबासमा १ सय ९०,वेनिघाटरोराङमा १ सय ८९, गजुरीमा १ सय ६३,ज्वालामुखीमामा १ सय ५६, त्रिपुरासुन्दरीमा १ सय ३३, गंगाजमुनामा १ सय २५,गल्छीमा १ सय ४, नेत्रावतीडवजोङमा ८८, रुवीभ्यालीमा ८३,सिद्धलेकमा ५५ जना वडाअध्यक्ष, सदस्य पदका उम्मेदवारहरु रहेका छन । जरिवाना लागेकामा विजयी जनप्रतिनिधि समेत रहेका छन् ।
यसै गरी जिल्लाको गल्छी र थांक्रेका २२÷२२ जना, वेनिघाटरोराङ र गजुरीमा १६÷१६ जना, खनियावासमा १३ ,सिद्धलेकमा १२, रुवीभ्याली र नेत्रावती डवजोङमा १०÷१०, ज्वलामुखीमा ९ गंगाजमुनामा ८ जना गरी जिल्लाभरका १ सय ५१ जना अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारहरुले जनही ३ लाख ५० हजारका दरले जरिवाना तिर्नु पर्ने भएको छ ।
गाउँपालिकामा मात्रै होइन नगरपालिकाका जनप्रतिनिधि र उम्मेदवार पनि जरिवानामा परेका छन् । ४ लाख ५० हजार जरिवाना लगाईएकाहरुमा नीलकण्ठ नगरपालिकामा प्रमुख उपप्रमुख पदमा उम्मेदवारी दिएका २९ जनाले ४लाखका दरले र नीलकण्ठ नगरपालिकाकावडाअध्यक्ष र सदस्य समेत गरी २ सय ६६ र धुनिबेसीको १ सय ३० जनाले ४ लाखका दरले जरिवाना तिर्नु पर्ने आयोगलदे जनाएको छ ।
तोकिएको जरिवाना ६ महिना भित्रमा बुझाई सक्नु पर्नेछ । जरिवाना तिरेर पनि अब यि कुनै पनि व्यक्तिले अबको ६ बर्ष सम्म कुनै पनि पदमा उम्मेदवारी दिन, अर्कोलाई प्रस्तावक समर्थक बस्न समेत पाउने छैनन् ।