जेब्राक्रसमै यात्रु असुरक्षित, नियम मिच्नेलाई छैन कारबाही

395 पटक पढिएको

सम्पादक: Dhadingnews.com

– केशव अधिकारी
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी वजारका ८ बर्षिय रविन परियारको बिहीवार बसको ठक्करबाट ज्यान गयो । आदर्श मावि गजुरीको कक्षा १ मा पढ्दै गरेका परियारको मृत्यु जेब्राक्रस बाट सडक पार गर्न लाग्दा भएपछि सडकमा राखिने जेब्राक्रसको प्रयोग केका लागि भन्ने प्रश्न उठेको छ । सामाजिक सञ्जाल देखि चिया पसल र सार्वजनिक स्थलमा गजुरी घटना र जेव्राक्रसका बिषयले स्थान पाईरहेको छ । जेव्राक्रसबाट सडक पार गर्न लाग्दा पटक पटक दुर्घटना हुने गरेको भएपनि सवारी चलाउँदा लापरवाही गर्नेलाई नाम मात्रैको कारवाही हुने गरेकाले सडक भित्र पनि जेव्राक्रस झनै असुरक्षित बन्न थालेको हो ।

व्यस्त सडकको बीचमा यात्रुलाई सडक पार गर्न सहज होस भनेर जेब्राक्रस निर्माण गरिन्छ । दुर्घटनालाई कम गर्न यसले मद्दत गर्छ । जेब्राक्रस निर्माण गरिएको स्थानबाट पैदलयात्रुले सडक पार गर्नुपर्ने हुन्छ । सवारी चालकहरूले समेत जेब्राक्रसबाट यात्रुले सडक पार गर्दै गरेको अवस्थामा सवारी साधन रोक्नुपर्छ । आवश्यकता अनुसार सडकमा जेब्राक्रस राखिएको हुन्छ । विभिन्न जक्सनहरू, विद्यालयको नजिक जेब्राक्रस राखिएको हुन्छ ।

यात्रुको सहजताका लागि वनाईएको जेब्राक्रसबाट सडक पार गर्दै गरेका एक वालकको विहीवार बसले ठक्कर दिएर मृत्यु हुन पुग्यो । काठमाडौ देखि गोरखाको बारपाक जाँदैगरेको ग १ ख ४५६५ नम्बरको यात्रु बसले घरबाट बिद्यालय जाँदै गरेका गजुरीका ८ बर्षिय विजय परियारलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु हुन पुग्यो । कक्षा १ मा पढ्दै गरेका कलिलो बालकको मतिष्कमा सडक पार गर्दा जेब्रा क्रस प्रयोग गर्नुपर्छ भन्ने चेतना देखियो । उनको यो चेतनाले धेरैको अटेरी मतिष्कलाई छोयो कि छोएन थाहा भएन । तर विजयले अकालमा ज्यान गुमाउनु परेकोमा धेरै जना स्तव्ध भएका छन्। ट्राफिक प्रहरी, स्थानीय सरकार र बिद्यालय प्रशासनले बिद्यालय समयमा ट्राफिक व्यवस्थापन सम्वन्धि कुनै ठोस निती र कार्यक्रम ल्याउन नसक्दा देशले एक होनहार व्यक्ति गुमाएको छ ।

जेब्राक्रस पार गर्दै गरेका साना बालकलाई अत्याधिक गतिमा हुईकिंदै आएको बसले ठक्कर दिएर घटनास्थलमनै मृत्यु भएपछि धादिङको गजुरी बजार पाँच घण्टा तनावग्रस्त बन्न पुग्यो । राजमार्ग ठप्प पार्दै स्थानीयवासी, बिद्यार्थी र मृतकका आफन्तले सडकमा प्रदर्शन गरे । राष्ट्रिय राजमार्गमा पाँच घण्टा सम्म सवारी आवागमन अबरुद्ध हुंदा राजधानी बाट देशका विभिन्न ठाउँमा जाँदै गरेका र राजधानी आउँदै गरेका सयौं यात्रु समस्यामा परे । दिनभर वन्द रहेको राजमार्ग खुलाउन स्थानीय प्रशासनले खासै चासो देखाएन । माथिल्लो निकायमा रहेका प्रहरी प्रशासकहरु घटनान्यूनिकरण गराउने तर्फ लाग्नु भन्दा पनि मातहतका इकाईलाई जतिसक्दो छिटो बाटो खोल्न निर्देशन दिएर बसिरहे । आक्रोशित भिड प्रहरी कार्यालय परिसर र राजमार्गमा जम्मा भएर विरोध जनाउन वाध्य भए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ मा आवागमन नियन्त्रण सम्बन्धी व्यवस्था रहेको छ । जसको दफा १३२ मा रहेको सवारी रोक्नुपर्ने व्यवस्था अनुसार चालकले चलाइरहेको सवारी देहायको अवस्थामा रोकी आवश्यकता अनुसार उचित समयसम्म अड्याई राख्नु भन्ने व्यवस्था रहेको छ । प्रहरी वा यातायात निरीक्षकले सवारी रोक्न संकेत गरेमा, कुनै जनावर तर्सी बेकाबु हुने सम्भावना भइ सो जनावर तत्काल जिम्मा रहेको व्यक्तिले सवारी रोक्न अनुरोध गरेमा, सवारी दुर्घटनाग्रस्त भइ कुनै मानिस, जनावर वा सम्पत्तिको हानीनोक्सानी भएमा र जेब्रा क्रसिङ्गमा मानिस ओहार दोहोर गरिरहेको अवस्थामा वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेमा सवारी साधन रोक्नुपर्ने व्यवस्था ऐनमा रहेको छ । यातायात व्यवस्थामा जे जे भनिएको भएपनि विहिबार वस चालकको लापरवाहीले एक वालकको अकालमा ज्यान गयो, आमाको काख रित्तियो, बुबाको सपना हरायो, दाजुभाईको मायाको लरो छिन्यो,साथीभाईले मित्र गुमाए,शिक्षकले बिद्यार्थी गुमाए । यति मात्रै होइन । एउटा चालकको क्षणभरको लापरवाहीले समाजलाई ठूलो क्षती हुन पुग्यो ।
त्यसो त सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३७ मा निर्धारित ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था समेत रहेको छ । जसमा जेब्राक्रस, सब–वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएका ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था रहेको छ । ट्राफिक संकेतको उल्लंघन गरेको खण्डमा ऐनको दफा १६४ बमोजिम यातायात निरीक्षक वा प्रहरी सहायक निरीक्षकले तत्काल सजाय गर्न सक्ने व्यवस्था छ । जसमा पहिलो पटक भए पाँच सय, दोस्रो पटक भए एकहजार र तेस्रो पटक वा सो भन्दा बढी भए एकहजार पाँच सयसम्म जरिवाना गर्न सकिने व्यवस्था ऐनमा रहेको छ ।
कानूनले जेब्राक्रसको आवश्यकता, यस्को प्रयोग, दुरुपयोगका अवस्था हेरेर जे जस्तो व्यवस्था गरेको भएपनि सवारी साधनहरुले राष्ट्रिय राजमार्गमा मात्रै होइन सदरमुकाम र जनचाप धेरै हुने वजार क्षेत्रमा जेव्राक्रसको अवज्ञा गर्ने गरेका छन् ।
जेब्राक्रस सम्बन्धी ज्ञान नहुँदा हो या जे गरे पनि हुन्छ भन्ने मनसायले हो ठुला देखि साना सम्म सवारीका साधनले पटक पटक जेव्राक्रसका दुर्घट्ना निम्त्याउने गरेका छन ।
धेरै जसो सार्बजनिक सवारीका साधनले जेब्राक्रसको ठाडो उल्लंघन गर्ने गरेका छन । जेब्राक्रस बनाएको ठाउँमा सवारी बिस्तारै हाँक्ने तथा पैदल यात्रीलाई सहजै बाटो ओहोरदोहोर गर्न दिनुपर्ने नियम भएपनि उनीहरुले त्यसको ठाडो उल्लंघन गर्ने गरेका छन । जस्को बलियो प्रमाण बिहीवार विहान ९.४५ वजे गजुरी वजारमा भएको दुर्घटनाले पुष्टि गरेको छ । बिद्यालय पोशाक लगाएर जेव्राक्रसबाट सडक पार गर्दै गरेका ६ बर्षिय विजय परियार बिच सडकमै बसको ठक्करबाट ज्रेब्राक्रसमै संधैका लागि अस्ताए, उनले मृत्युबरण गरेपनि दुर्घटनालाई नजिकबाट देखेका प्रत्यक्षदर्शीका आँखा ओभाएका छैनन् । दुर्घटनाको दृष्य अहिले पनि उनिहरुका आँखा वरिपरी घुमिरहेका छन् ।
‘जेब्राक्रस बनेपछि पैदलयात्री र बिद्यालय आवतजावत गर्ने बिद्यार्थीका लागी बाटो काट्न सहज हुने तथा बढ्दै गएको सवारी दुर्घटना कम हुने बिश्वास लिएका थियौं तर त्यस्तो हुन सकेन, जेव्राक्रसलाई सवारी चालकहरुले ख्याल ख्याल ठानीदिंदा बिहीवार विहानको घटना हुन पुगेको गजुरी गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्दबिक्रम बस्नेत बनाउनुहुन्छ ।
जेब्राक्रसको ठाडो उल्लंघन गर्नेलाई कारबाही नहुने गरेका कारण समस्या बढ्दै गएको, ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सवारीका साधन दैनिक चेकजाँच गरेपनि जेब्राक्रसको नियम पालना नगर्नेलाई भने कारबाही गर्न नसकेको सर्वसाधरणको बुझाई छ ।
कारबाही गर्ने नियम भएपनि ट्राफिक प्रहरीले भने चेतना मुलक कार्यक्रम मात्रै गर्दै झारा टार्ने गरेको छ । गजुरी मात्रै होइन राजमार्ग, व्यस्त वजार क्षेत्र र सदरमुकाममा बिद्यालय समयमा ट्राफिक व्यबस्थापन सम्वन्धि केही सोच्ने र कार्यान्वयन गर्ने होकी ?अरु देशमा जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर पैदलयात्रुको ज्यान गयो भने त्यसलाई हत्याका रुपमा लिइन्छ र दुर्घटना गराउने चालकमाथि ज्यानमारा मुद्दा चलाइन्छ। बेलायतमा सडक पार गर्न जेब्राक्रसमा यात्रु पुगेपछि सवारीसाधन रोकिनुपर्छ, यात्रुले सडक पार नगरेसम्म अघि बढ्न पाइँदैन। ड्युटीमा नभएका दमकल, प्रहरी र एम्बुलेन्सलाई समेत यो नियम लागू छ। त्यहाँ ‘द हाइवे कोर्ट’ अन्तर्गत कारबाही हुन्छ। जेब्राक्रसमा ठक्कर दिएर यात्रुको मृत्यु भएमा आजीवन जेल सजाय, एक सय पाउन्ड जरिवाना र लाइसेन्समा एकैपटक तीनवटा प्वाल पारेर सजाय दिइन्छ। सामान्य सडक नियम पालना नगरेका चालकको नाम दुर्घटनासम्बन्धी अपराध रजिस्टरमा दर्ता हुन्छ। दुर्घटना गराएका चालकले त्यसपछि कुनै जागिर वा सरकारी सहयोग लिन पाउँदैनन्।
त्यस्तै छिमेकी मुलुक भुटानमा पनि पैदलयात्रुले जेब्राक्रसबाट सडक पार गरेपछि मात्रै सवारीचालक अघि बढ्न पाउने व्यवस्था छ। जबर्जस्ती पेलेर हिँडेको छ भने तुरुन्तै पाँच हजार भुटानी रुपैयाँ जरिवाना र अन्य कारबाही हुन्छ। जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर यात्रुको ज्यान गए हत्या भएको मानिन्छ। तर नेपालको कानुनले जेब्राक्रस र अन्य ठाउँमा भएको दुर्घटनामा अन्तर गर्न सकेको छैन। दुवै घटनाको कारबाही सवारी ऐनअन्तर्गत हुन्छ। जेब्राक्रस र अन्य ठाउँमा सवारीसाधनले ठक्कर दिएर बटुवाको ज्यान गएको छ भने त्यसलाई फरक मानिँदैन। त्यसकारण पनि जेब्राक्रस भनेर चालकले खासै वास्ता गर्दैनन्, अन्य ठाउँमा जस्तै जेब्राक्रसमा पनि गाडी हुइँक्याउँछन्। यातायातविद् पुष्पराज पन्तले नेपालमा एकै खालको कानुन भएकाले जेब्राक्रस र अन्य ठाउँमा ठक्कर दिने चालकलाई एकै किसिमको कारबाही हुने गरेको बताए। ‘अन्य मुलुकमा जेब्राक्रसमा ठक्कर दिनुलाई हत्याजस्तै मानिन्छ, नियतले नै मारेको हो भन्ने हुन्छ,’ उनले भने, ‘तर हाम्रोमा जेब्राक्रस र अन्य ठाउँमा सवारीसाधनले ठक्कर दिँदा एकै किसिमको कारबाही हुन्छ। वास्तवमा जेब्राक्रसमा ठक्कर दिएर व्यक्तिको ज्यान लिनु हत्या नै हो, यसमा कडा कानुन चाहिन्छ।’ नेपालमा सवारीसाधनले ठक्कर दिएर व्यक्तिको ज्यान गएमा चालकलाई पाँचदेखि १५ वर्षसम्मको जेल सजाय र ५ लाख रुपैयाँ जरिवानाको व्यवस्था छ। जेब्राक्रसमा ठक्कर दिएर ज्यान गए पनि यति नै सजाय हुन्छ।

(सडक सुरक्षा र ट्राफिक नियमन सम्वन्धि विभिन्न समाचार सामाग्रीको सहयोगमा)