किराञ्चोक कार्किडाँडा माविको शताव्दी महोत्सव शनिवारबाट सुरू
428 पटक पढिएको
कार्किडाँडा (धादिङ), २० माघ २०८१ । धादिङ जिल्लाकै पुराना बिद्यालयमा पर्ने धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्किडाँडामा रहेको किराञ्चोक कार्किडाँडा माध्यमिक बिद्यालय स्थापना भएको १०० बर्ष पुगेको छ । विद्यालय स्थापनाको १०० बर्ष पुगेकोको अवसरमा माघ १९ देखि २१ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताव्दी महोत्सव आयोजना गरिएको छ ।माघ १९ गते शनिवार नेपाल सरकारका कृषि तथा पशुपंक्षि मन्त्री रामनाथ अधिकारी र सोही बिद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका वागमती प्रदेश सरकारका पूर्व मुख्य मन्त्री शालिकराम जमकट्टेलले महोत्सवको उद्घाटन गर्नु भएको हो । महोत्सव ३ दिन सम्म विभिन्न कार्यक्रमका साथ सञ्चालन हुनेछ ।
शताव्दि महोत्सव उद्घाटन कार्यक्रमलाई गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा,पूव अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष भाईकाजी तिवारी, नेपाली काँग्रेस गल्छीका अध्यक्ष गोपिप्रसाद रिमाल, नेकपा एमाले गल्छीका अध्यक्ष राजकुमार रिमाल, नेकपा माओवादी केन्द्र गल्छीका अध्यक्ष मोदनाथ खतिवडाका साथै विभिन्न वडाका वडाध्यक्षहरु, छिमेकी बिद्यालयका प्रधानाध्यापक, विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षापे्रमीहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
स्थापनाको एक सय बर्ष पुगेको अवसरमा विविध कार्यक्रम सहित शताव्दी महोत्सव मनाउन लागेको विद्यालयले जानकारी दिएको छ । सो अवसर पारेर गल्छी गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, शिक्षक बिद्यार्थीहरुबाट नृत्यका साथै पूर्व शिक्षक, बिद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान कार्यक्रम राखिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले जानकारी दिनु भयो ।
बिक्रम सम्वत १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रुपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा मावि गल्छी गाउँपालिकाको मात्रै होइन जिल्लाकै पुरानो बिद्यालयको रुपमा चिनिन्छ । धेरै बर्ष सम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुंगा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेकोमा अहिले सुविधा सम्पन्न भवन सहितको विद्यालयमा पठन पाठन हुने गरेको छ ।
धादिङ जिल्लाभर चार वटा भाषा पाठशाला स्थापना हुँदा सात सय किराञ्चोक क्षेत्रलाई समेटेर १९८२ सालमा यस बिद्यालयको स्थापना भएको थियो । भाषा पाठशाला स्थापनाको केही बर्ष सम्म चौतारामा राखेर रुदी, चण्डी,कौमदी,अमरकोष लगायतका पढाई सञ्चालन गरिएको भाषा पाठशालामा २००४ सालबाट संस्कृतका साथै गणितिय तथा व्यवहारिक ज्ञानको पढाई शुरु शुरु भएको नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिका पूर्व अध्यक्ष समेत रहनु भएका सोही बिद्यालयका पूर्व बिद्याथी प्रा.डा.रामचन्द्र गौतम बताउनुहुन्छ ।
यस बिद्यालयमा अध्ययन गर्ने पूर्व बिद्यार्थी मध्ये बिशिष्ठ तहमा पुग्नेमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकाल, पूर्व न्यायाधिश दामोदर पुरुष ढकाल, प्रा.डा.रामचन्द्र गौतम ,प्रा.डा.डिल्ली प्रसाद गौतम( हाल स्वर्गिय) पूर्व एसएसपी एवं साहित्यकार श्री पुरुष ढकाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्व प्रजिअ शिवेन्द्र पुरुष ढकाल,प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्र पुरुष ढकाल लगायत हुनुहुन्छ ।
भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक बिद्यालय,२०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक बिद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको यस बिद्यलायबाट अहिले सम्म ७९४ जनाले एसएलसी एसइई र २०० जनाले १२ कक्षा उतिर्ण गरेको बिद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।
सिरुवानीका भवनाथ अधिकारी यस बिद्यालयका संस्थापक एवम् पहिलो हेडमास्टर हुनुहुन्छ । अधिकारी पछि नुवाकोट दुईपिपल झिल्टुङका महानन्द नेपालले पनि भाषा पाठशालामा पढाउनु भएको अभिलेख भेटिएको बिद्यालयका पूर्व प्रधानाध्यापक ज्ञान बहादुर भण्डारीले जानकारी दिनु भयो ।
भाषा पाठशाला स्थापना भई सञ्चालनमा आएपछि २०३२ साल सम्ममा भवनाथ अधिकारी, लोकनाथ अधिकारी, महानन्द नेपाल,ज्ञानेश्वर गौतमले शिक्षक, हेडमास्टर भएर जिम्मेवारी बहन गरेको र २०३२ सालदेखि २०४८ सम्म गजेन्द्रपुरुष ढकाल, ०४८ देखि ०५७ सम्म रामजी प्रसाद गौतम, ०५७ देखि ०६० सम्म कपिल अधिकारी,०६० देखि ६५ सम्म सूर्यप्रसाद रिमाल,०६५ देखि ७० सम्म ज्ञानबहादुर भण्डारी, ०७० देखि ७२ सम्म पुरुषोत्तम लामिछाने,२०७२ पछि बाशुदेव अधिकारी,पुरुषोत्तम अधिकारी,भजुराम केसीले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । भजुराम केसीले सेवाबाट अवकाश लिएपछि अहिले प्रधानाध्यापकको जिम्मेवारीमा पुरुषोत्तम अधिकारी रहेका छन् ।








ht3a5x
BusinessIraq.com maintains thorough coverage of Iraq’s construction and infrastructure sectors, monitoring major development projects, government tenders, and private sector initiatives. Our platform tracks urban development, transportation projects, and real estate trends, offering valuable intelligence for industry stakeholders.