भाइटीकाको उत्तम साइत ११:२७ बजे

736 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ललितपुर/यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार उत्तम साइतमा टीका लगाउन नपाउनेले दिनभर टीका लगाउँदा पनि शुभ हुनेछ । ‘भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेट जाँदा हो,’ समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘उत्तम साइतमा नभ्याउनले दिनभर लगाउँदा पनि शुभ हुन्छ ।’ उनले साइत खोज्नेहरूका लागि मात्र यो साइत भएको बताए । ‘यो साइत खोज्नेका लागि मात्र हो, दिनभर नै टीका लगाउन सकिन्छ,’ उनले भने ।

कात्तिक कृष्ण पक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड तिहार शुक्रबारबाट सुरु हुँदै छ । पहिलो दिन कागको पूजा गर्दै काग तिहार मनाइँदै छ । कागलाई सन्देशको वाहक मानिन्छ । शुक्रबार नै आयुर्वेदका प्रणेता धन्वन्तरी जयन्ती पनि मनाइँदै छ । शनिबार घरको रक्षक एवं द्वारपाल कुकुरको पूजा गरिँदै छ । त्यही दिन पितृ उद्धारका लागि नर्के पनि बगाइँदै छ । टपरी वा दुनामा बत्ती राखेर पानीमा बगाउँदा पितृको मोक्ष हुने विश्वास छ । यसैगरी, आइतबार घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । यसै दिन भैलो पनि खेल्ने चलन छ । सोमबार कात्तिक १८ गते गोवद्र्धन पहाडको पूजा गरिँदै छ । यसै दिन अमृत दूधपान गराउने गाई र खेतबारीमा प्रयोग हुने गोरुको सम्मान गरी पूजा पनि गरिन्छ ।

यसै दिनदेखि नेपाल संवत् पनि फेरिँदै छ । त्यस दिनदेखि ११३३ सकिएर ११३४ सुरु हुनेछ । त्यही दिन नेवार समुदायमा आफ्नो शरीरको पूजा म्हपूजा गरिन्छ । १९ गते भाइटीकाका दिन आफ्ना दिदीबहिनीले दाजुभाइलाई दीघार्युको कामना गर्दै पूजा गर्नेछन् । पूजाका क्रममा उनीहरूले मीठामीठा खानेकुरा र मसला दिने गर्छन् । यसैगरी, दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र वस्त्र दिने चलन छ ।