चेपाङ युवती बन्छन् १५ वर्षकै उमेरमा आमा

560 पटक पढिएको

प्रकाशित मिति: २०७०, १४ पुष आईतवार ०३:५२

सम्पादक: Dhadingnews.com

 

 

धादिङ, पुस १४ – धादिङको महादेवस्थान गाविस वडा नम्बर ३ ब्रुसबाङकी सिरमाया चेपाङ भर्खरै १३ वर्षको हुनुभयो ।

उहाँको विवाह भएको १ वर्ष भइसकेको छ । सिरमायाको विवाह ब्रुसबाङ गाउँकै १६ वर्षका भीमबहादुर चेपाङसँग भएको हो । यै गाउँकी सानी चेपाङको उमेर १६ वर्ष पुग्यो उहाँको काखमा अहिले ७ महिनाको छोरा छ । १४ वर्षमा विवाह गरेकी सानीले एक वर्ष नवित्दै छोरा जन्माउनुभयो ।

धादिङको दक्षिणी भेगमा पर्ने १० वटा गाविसमा चेपाङजातीको बसोबास छ । अधिकांश चेपाङ बस्तिमा उमेर नपुगी विवाह गर्ने चलन अहिले पनि कायमै छ । कानुनले विहे गर्ने उमेर स्पष्ट तोकेको भएपनि नेपालका कतिपय गाउँवस्तिमा चेतनाको अभावले अझैपनि सानै उमेरका बालबालिकाको विहे हुने गर्दछ । जोगिमारा गाविसको घुसराङका १० वर्षीया प्रमिला चेपाङको १२ वर्षीय सोमबहादुर चेपाङसँग विवाह भयो । सोमवहादुर र प्रमिलाको विहे भएकै दिन १५ वर्षीय बुद्धलाल र १४ वर्षीया मुना चेपाङको पनि विहे भयो ।

एक वर्ष अघिको यो घटना गाउँबाट प्रहरी कार्यालय हुँदै जिल्ला अदालतसम्म पुग्यो, गैर चेपाङहरुले घटनालाई बाहिर ल्याईदिँदा वालविवाह गराईदिएको अभियोगमा थुनामा परेका उनिहरुका अभिभावकलाई अदालतले जरिवाना गराएर थुनामुक्त गराइदियो ।पहिलो पटक चेपाङ वालविबाहको मुद्दा अदालतसम्म आएकाले आउँदो दिनमा धेरैले चेपाङबस्तिमा बालविवाहको प्रथा रोकिने अपेक्षा गरेको भएपनि वालविवाह अझै रोकिएन झनै गुपचुप हुन थालेको छ ।

गरिवी, अशिक्षा र  चेतनाको अभावका कारण चेपाङ किशोरीहरु १५ वर्ष नपुग्दै विवाह गर्न बाध्य हुने गरेका छन् । सरकारी तथा गैर सरकारी निकायले विहेबारी २० वर्ष पारी भन्ने अभियान गाउँ–गाउँमा सञ्चालन गरेको भएपनि चेपाङ जातिमा यो अभियानले प्रभाव पार्न सकेको छैन । छोराछोरीप्रति अभिभावकहरुले दायित्वबोध नगरेकै कारण सानै उमेरमा  बिहे गर्ने प्रचलन बढिरहेको छ । महादेवस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषेश्वर शर्माका अनुसार धेरैजसो चेपाङ युवती गर्भवती चेकजाँचको लागि स्वास्थ्य संस्था आउनै मान्दैनन्, स्वास्थ्य चौकी आएका अधिकांश चेपाङ महिलाहरुपनि उमेर नपुगी गर्भवती भएको पाइन्छ ।

यसरी उमेर नपुगी गर्भवती भएका महिलाहरुलाई सानै उमेरमा बच्चा जन्माउँदा आमा र बच्चालाई हुने खतराबारे पटक पटक सचेत गराएपनि सानै उमेरमा विहे गर्ने र बच्चा जन्माउने चलन नरोकिएको शर्मा वताउनुहुन्छ ।

जनचेतनाको अभावले अहिले पनि ५० प्रतिशतभन्दा बढी चेपाङ किशोरीहरु बालविवाहको सिकार बन्नु परेको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा ६८ हजार ६ सय ९९ चेपाङ रहेका छन । ती मध्ये धादिङ जिल्लामा भने १० वटा गाविसमा झण्डै १८ हजार चेपाङहरु रहेका छन् ।

-उज्यालो अनलाईन 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १४ पुष आईतवार ०३:५२ मा प्रकाशित